Thursday, 21 March 2019

प्रचण्ड दम्पत्तिको अमेरिका भ्रमण र अमेरिकामा पैदा भएको कम्पन

Author:
Shantiman Shrestha:
समाचारमा जनाईए अनुसार सिता दाहालको उपचारको क्रममा रेखदेख र कुरुवा वस्न डोनाल्ड ट्रम्पनै खटिएका छन ।
अग्रगामी कम्रेड प्रचण्डको अमेरिका भ्रमणको दौर छ , थोरै आलोचना गरौं महान कम्रेडका बाँदर सेनाहरुको कसैको नभएको चित्त फाट्ने  , रविले प्रचन्डको आचिलाई "यो आची हो" के भनेका थिए यि बाँदर सेनाहरुले "हलुवा लाई आची भन्ने?" भन्दै वेवारिसे लास बनाईदिने धम्कि दिन भ्याएछन ,प्रचण्डको एक भक्त संगठनले रविको कार्यक्रम बन्द गर्ने उर्दि जारी गरेछन , सरकारले कार्यवाही नगरे आफै कार्यवाही गर्ने फर्मान गरेछन।एकजना भक्तले त प्रचण्डले गर्दा ३ करोड नेपालीले बोल्न पाएको हो भन्न भ्याएछन - कुन दिन अब प्रचण्डले गर्दा घाम उदाएको हो ! प्रचण्डले गर्दा ३ करोड नेपालीले श्वास फेर्न पाएको हो भन्ने हुन यि हनुमानहरु । यिनका नेताले जस्तो कुकर्म पनि गर्न हुने , जति लूट मच्याए पनि हुने तर सो विषयमा छुसुक्क केहि भन्न नहुने अग्रगामी फड्को को नाम रहेछ यिनले बुझेको गणतन्त्र , २०६२ को आन्दोलनमा होमिदै गर्दा कमसेकम हामिले यो कल्पना गरेका थिएनौं।यि सँग नसकिने भो त्यसैले प्रचण्डको आलोचना गरेर झन्झट मोल्न भन्दा म पनि प्रचण्डको चाकडी गर्ने ध्याउन्नमा लागें है त !!! यि चैते बाँदरहरुलाई खुशी राख्न मैले प्रचण्डको चाकडीगाथाको एउटा समाचार तयार पारेको छु। 

न्यूयोर्क चैत्र ३,
     पत्नि सिता दाहालको सघन उपचारको लागी नेपालका अग्रगामी महान कम्रेड पुष्पकमल दाहाल उर्फ प्रचण्डको अमेरिका आगमनको समाचारले पुरै अमेरिका तरंगित भएको छ , अमेरिकाको सबैजसो टेलिभिजन च्यानल तथा अखबारहरु प्रचण्डको भ्रमणको खबरले भरिएको छ तथा प्रचण्डको भ्रमणको अवसरमा अमेरिकि सरकारले देशको पुरै स्कुल , कलेज , विश्वविद्यालय , सरकारी कार्यालय तथा व्यवसायिक संघ-संस्थामा एकदिने छुट्टी दिने निर्णय गरेको छ । सम्पुर्ण अमेरिकी आम नागरिकहरुका बिच प्रचण्डको एतिहासिक अमेरिका भ्रमणको चर्चा चुलिएको छ।
    प्रचण्डको सुरक्षाको प्रश्नलाइ लिएर अमेरिका सरकार निकै संवेदनशील रहेको देखिएको छ , सबै एन्टि ब्यालेष्टिक मिसाइलहरु तयारी अवस्थामा राखिएको छ , अमेरिकि सरकारका रक्षामन्त्रीले आज प्रेस कन्फ्रेस आयोजना गर्दै प्रचण्डको उच्च स्तरको सुरक्षाको लागी सेनाका तिनै अंगहरु थल , जल र वायुसेना का लाखौं सेनाहरु परिचालित गरिने घोषणा गरेका छन ।
     न्युयोर्कका सडक , पार्क र सार्वजनिक स्थानहरु प्रचण्डको तस्विरले झकिझकाउ छन , ठाउँठाउँमा पानीको फोहोराहरु निर्माण गरिएको छ , उनको भव्य स्वागतको लागी अमेरिकि सरकार रातदिन लागिपरेको छ , भत्किएका खाल्टाखुल्टी नेपाली शैली पछाउँदै रातारात टालिएको छ। विमानस्थल देखी उनि वस्ने होटल र सिता दाहालको उपचार गराइने अस्पताल सम्मको पुरै सडकमा रातो कार्पेट बिछाइएको छ , सडक किनारामा कृतृम रुखहरु रातारात ठड्याइएको छ ... बगैंचाहरु निर्माण गरिएको छ ... कतिपय स्थानमा प्रचण्डले मुठ्ठी कसेर क्रान्तिकारी अभिवादन गरेको मुद्रा सहितको शालिक ठड्याइएको छ जसले उनको भ्रमणलाइ थप आकर्षक बनाएको छ।
     थाहा भए अनुसार प्रचण्डको भ्रमणको व्यग्र प्रतिक्षामा रहेका अमेरिकि राष्ट्रपती डोनाल्ड ट्र्म्प आफ्ना मुख्य सहयोगिहरुको डफ्फा लिएर एकाविहानै विमानस्थल पुगेका थिए , प्रचण्डको सुरक्षाको लागी उनि आफैंले सुरक्षाकर्मीहरुलाई निर्देशन दिइरहेको दृष्य अत्यन्तै रोचक थियो ।
     प्रचण्डको स्वागतको लागी पुर्व राष्ट्रपतिहरु बिल क्लिन्टन , जिम्मी कार्टर , जर्ज जुनिएर बुश , बाराक ओबामा , पुरै मन्त्रीमन्डल , संसदको तल्लो र माथिल्लो सदनका सयौं सदस्यहरु , हलिउडका चर्चित कलाकारहरु , उधोगपतिहरु , नासाका विख्यात बैज्ञानिकहरु , साहित्यकार तथा प्रवुद्ध वर्गहरु लावालस्कर सहित उभिएका थिए।
     नेपाली विरासत धान्दै प्रचण्ड २ घन्टा ढिलो अमेरिकि भुमिमा पाइला टेकेका थिए । उनि जहाज बाट ओर्लने बित्तिकै राष्ट्र्पती डोनाल्ड ट्र्म्प हातमा बुके लिएर उनलाई स्वागत गर्न पुगेका थिए तर प्रचण्डले ट्रम्पलाइ नचिने पछि ट्रम्प आफैंले "म राष्ट्रपती डोनाल्ड ट्रम्प हुँ" भन्न परेको थियो। ट्रम्पले स्वागत गरेपछी पुर्व राष्ट्रपती हरु , उच्च निकायका पदाधिकारीहरु स्वागत गर्न पुगेका थिए। त्यसपछि प्रचण्ड रातो कार्पेटको र्याम्पमा ठाँटका साथ सवारी हुँदै उनको भव्य स्वागतार्थ निर्माण गरिएको डिजिटल मंच मा सवारी हुनुभएको थियो ।
     अमेरिकाको ईतिहासमै पहिलोपटक कुनै देशको अतिथीलाइ विमानस्थलमै ६०१ तोपको सलामी अर्पण गरिएको थियो। सलामी अर्पण परेडमा अमेरिकाका १७ हजार सेनाहरु सहभागी थिए। पुर्व राष्ट्रपतीहरु बिल क्लिन्टन , बाराक ओबामा , जर्ज बुस ले प्रचण्डसंग one to one बार्ता गर्न राखेको प्रस्ताव प्रचण्डले समय नभएको भन्दै अस्विकार गरेपछी पुर्व राष्ट्रपतिहरु निराश देखिन्थे।
     स्वागतको कार्यक्रम सम्पन्न भएपछी अन्तर्राष्ट्रिय संचार माध्यमहरु BBC, CNN,CNBC, AL JAJIRA लगाएतका सयौं संवाददाताहरु प्रचण्डको अन्तरबार्ता लिन तँछाडमछाड गरेका थिए र यस क्रममा दर्जनौ पत्रकारहरु घाइते भएको खबर छ।
     प्रचण्डको सवारिलाइ विमानस्थल देखी उनको लागी व्यवस्था गरिएको होटल सम्म पुग्ने सडक पुरै खाली गरिएको थियो , एककिसिमले नेपाल बन्दकै जस्तो माहौल थियो .... आफ्नो अगुवाईमा भएको जनयुद्ध हो कि धनयुद्ध हो ...ताका गरेको बन्द हडतालको जस्तै आतंकित माहौल देखेर प्रचण्ड ज्यू गदगद देखिन्थे (हुन सक्छ उनलाइ मनमनै लागेको होस, सरासर गएर नजिकै रहेको टावरमा बम झोसिदिउँ !)
     समाचारमा जनाईए अनुसार सिता दाहालको उपचारको क्रममा रेखदेख र कुरुवा वस्न डोनाल्ड ट्रम्पनै खटिएका छन । प्रचण्डका समानान्तर अर्का अध्यक्ष केपि ओलि विदेशी पाहुनाहरुको उच्चस्तरको स्वागत सम्मानको खातिर सोल्टी होटलमै ३-४ दिन बोरि बिस्तारा सहित डेरा जमाएको शैली बाट अति प्रभावित भै अमेरिकी सरकारको पुरै मन्त्रीमण्डल र पूर्व राष्ट्रपतिहरु बोरि बिस्तारा सहित प्रचण्डको लागी व्यवस्था गरिएको होटलमा डेरा जमाएका छन।
     प्रचण्डको सुरक्षा प्रती अमेरिकि सरकार कति सम्म गम्भिर देखिन्छ भने न्युयोर्कको आकाशमा विश्वकै अत्याधुनिक मानिएको B52 लडाकु विमानहरु सयौंको संख्यामा गस्ती लगाइरेहेको देखिन्छ । उनि बसेको होटल र सिता दाहालको उपचार भैरहेको अस्पताल हातामा हजारौं कमाण्डो दस्ता अत्याधुनिक हतियार सहित तैनाथ देखिन्छन।
     ज्ञात रहोस: केहि समय अघि प्रचण्डले भेनेजुएला सम्बधी दिएको धमाकेदार अभिव्यक्तिले पुरै अमेरिका जरै देखी हल्लिएको थियो जसलाई प्रचण्डका भजनमण्डलीहरुले प्रमुखताको साथ प्रचार-प्रसार गरेका थिए, प्रचण्डले सात समुन्द्र पारिको नेपालमा बसेर दिएको अभिव्यक्तिले जरै देखी हल्लने अमेरिका प्रचण्डले अमेरिकाकै भूमिमा टेकेर दिने अभिव्यक्तीले कस्तो अनिष्ट निम्ताउने हो भन्ने कुराले सम्पूर्ण अमेरिकी नागरिकहरु त्राहिमान छन।
     प्रचण्डको स्वागत - सत्कार र सुरक्षा व्यवस्था प्रती उनि असन्तुष्ट भएर नेपालमा जस्तै अमेरिकामा पनि जनयुद्धको आँधिबेहरी सिर्जना गर्ने हुन कि भन्नेमा अमेरिकी नेतृत्व र आम सर्वसाधारण निकै सचेत र चिन्तित देखिन्छन ; यसैकारणले हुनपर्छ , अमेरिकाको नागरिक समाजले प्रचण्डको स्वागत-सत्कार र उच्चस्तरको सुरक्षाको लागी कुनै कसर बाँकी नराख्न अमेरिकी सरकारलाई निरन्तर दबाब दिएका छन ; अमेरिकी सिनेटले त यस सम्बन्धि एउटा प्रस्ताव नै सर्वसम्मतीले पारित गरेको छ।
     अमेरिकी सरकारको प्रवक्ताका अनुसार कम्रेड प्रचन्डले भोली अमेरिकी सिनेटलाई सम्बोधन गर्नेछन। एक अनुमान अनुसार क.प्रचण्डले अमेरिकालाई १० वर्ष भित्र नेपाल जस्तो शक्ती सम्पन्न र विकसित देश कसरी बनाउन सकिन्छ भन्ने बारेमा अमेरिकी सिनेटका सदस्य तथा सरकारका मन्त्रीहरुलाई प्रशिक्षण दिनेछन।
    सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts