
प्रवीण अधिकारी:

नेपाली समाजमा ईश्वर शब्दको गहनता :
नेपाली धर्म संस्कृति भित्र ईश्वर, भगवान, परमात्मा, परब्रह्म, परमेश्वर, प्रभु आदि विविध शब्दहरु प्रयोग हुने गरेको छ । यसको कारण हामी नेपालीहरुको संस्कार ,संस्कृति ,परम्परा र सामाजिक चरित्र गंभीर दर्शनहरुको समष्टि स्वरुप हो । प्राचिन ऋषिमुनिहरुको दीव्य दृष्टिको द्दोतक हो । हाम्रा संस्कृति भित्रका तमाम कुराहरु गुह्य छन् ।हाम्रो संस्कृतिको अदृश्य शक्ति र त्यसबाट आर्जन गरिएको अव्यक्त अनुभवलाई शब्दहरुको सीमाले बाध्न सकिन्न । हाम्रा पूर्खाहरुले कुनैपनि अनंतकुरोहरुलाई सामाजिक औ दार्शनिक रुपमा अभिव्यक्त गर्न पुग्दा यी शब्दहरु उत्पत्ति भए ।
यिनलाई त्यै अर्थमा बुझ्न नसके यी शब्दका अर्थहरू एकदमै फिक्का हुन पुग्दछन । यसका साथै शब्दको उचाईपनि फुच्चे हुन पुग्दछ र हाम्रो नेपाली परंपराहरुको अतूल गरिमा होच्चिन पुग्दछ , किनभने हामीले प्रयोग गर्ने हरेक शब्दहरुले ईश्वर स्वरुपको विराटता ,अनंतता ,असीमता र निराकार स्वरुपलाई साकार गर्ने क्षमता बोकेको हुन्छ ।
नेपालको द्वैत परम्परामा कुनैपनि वस्तु, व्यक्ति, स्थिति ,अवस्था आदिको सम्बन्ध दुईकुरा संग जोडिएको हुन्छ - त्यो दुईकुरोहरु राम्रो -नराम्रो वा सही -गलत वा पूर्ण -अपूर्ण भित्र विभक्त हुने गर्दछ । हामीले प्रयोग गर्ने शब्द ईश्वर, भगवान, परब्रह्म, परमेश्वर आदि अनंत व्यापकता भित्र समेटिएको शब्द हो भने त्यहीं शब्द हाम्रा पन्थे छुद्रहरुको दृष्टिमा ज्यादै सीमित शब्द पारिएको शब्द हो । हाम्रो अनुभवको अपूर्णताले शब्दको पूर्णतालाई कहिल्यैपनि अभिव्यक्त गर्न सक्दैन । यी तमाम शब्दहरु हाम्रा प्राचीन ऋषि परंपराको द्दोतक भएर हाम्रा घर आँगनमा स्थान बनाएका शब्दहरु हुन । तिनै शब्दहरु अहिलेक भौतिकवादी विद्वानहरुको दिमाग भित्र छिर्दा तिनले आध्यात्म भित्रको गहनतालाई सुगम बनाउनुको साटो दुर्गम्य बनाएर भूवंरी भित्र छिराए । अहिले हामी द्वन्दको भूँवरीमा छिरेका छौं । त्यो द्वन्द हाम्रो मन मस्तिष्कमा र दिमाग विच उहापोहको स्थितिमा रुमल्लिएको छ । आजको दिनमा जब हामी धर्मले समेटेको कुरो गर्न खोज्छौं ,हामी विच द्वन्द हुने गर्दछ । हामीले ईश्वरको पूजा गर्नु , उ प्रति समर्पित रहनु , आफ्नो रीति-रिवाज़ पालन गर्न तल्लिन हुनु आदिकुराहरु हामी सनातनी नेपालीहरुको DNA भित्रको कुरो हो ,त्यसैले हामीले यसलाई हाम्रो आचारमानि पुरा गरेका हौँ , तर हाम्रो विद्वाद वर्गले यसको वास्तविक न्यायपूर्ण अर्थको खोजि गरेर प्रष्ट्याउन नसकेको कारण हाम्रा नेपाली समाजका भौतिकवादीहरुले हाम्रा सामाजिक कृत्यहरू ईश्वर पूजा, समर्पण भाव र सामाजिक धार्मिक रीति रिवाजलाई अंधविश्वास भनेर हेलाँ गरेका हुन । यो दुष्कर्मले हाम्रो र हाम्रो कनिष्ठ पुस्ताको तार्किक क्षमतामा , हाम्रा मान्यताहरुको प्रमाणिकतामा प्रश्नचिन्ह लाईदिन पुगेको कारण तिनको मनले यी कुराहरु स्वीकार्छ तर तिनको दिमागले भन्छ यी कुराहरु तर्क संगत छैनन् ।
अर्कोतिर आज नेपालमा विभिन्न संप्रदायहरु जन्मिएका छन् र हदै सम्मको वाद विवाद गरेर जुहारी खेल्दै छन । तिनीहरुको जुहारी विच सत्यकुरो चेपिएको छ । यसरी हाम्रो परिवेश र हारो दूर्दिनको समयले हाम्रा तमाम कुराहरुलाई विवादित बनाईदिएको छ ।यी कुराहरुलाई पुनः वास्तविकता तिर फर्काउन निकै ठूलो रोटि बेल्नु पर्ने देखिन्छ , किनभने यी शब्दहरुले जुन गहनता बोकेका छन त्यस प्रति हाम्रो अनन्य प्रेम जगाउनु हामी सबैको कर्तव्य हा पुगेको छ । हाम्रा सामाजिक अभियन्ताहरुको अनुभव र ज्ञानको हीनताले गर्दा यी दिव्य शब्दहरुको चरम स्वरुप ,अर्थ ,अभिव्यक्ति हराउन पुगेको छ , तसर्थ त्यसको दीव्यता प्रष्ट्याउन , त्यो शब्दमाथि गरिएको अन्याय हटाउन त्यसलाई आध्यात्मिकता तर्फ फर्काउने पर्दछ ।
हामी सनातानीहरुको प्रत्येक वाणीमा , वाक्यमा , दुईटा अनमोल शब्दहरु गुन्जिने गर्दछन , ती हुन , ईश्वर र भगवान । अब , यी दुई शब्दहरु के हुन बुझ्ने कोशिश गरौँ। अहिले बजारमा पाईने शब्दकोषमा हेर्यौं भने यी दुई शब्दहरुको अर्थ एउटै देखिन्छ । उता व्याकरण पल्टायौ भने यी दुई शब्दहरु पर्यायवाची भएको देखिन्छ , तर,हाम्रो आध्यात्मलाई बुझ्ने कोशिस गर्यौं भने यसको मूलभूत अर्थलाई बुझ्न सकिन्छ , त्यहाँ यी दुई शब्दको भेद राम्ररी प्रष्ट्याएको छ ।
यी दुई शब्दहरुले हाम्रा धार्मिक मान्यताहरुका आधार स्तम्भहरुलाई नहल्लाईकन हाम्रो संकुचित दृष्टिको विकास अनि विस्तार गरिदिएको देखिन्छ । हाम्रोसनातनी समाजले ईश्वरको स्वरुपलाई चिन्न ,बुझ्न , सँधै गाह्रो मानेको देखिन्छ । हामी संग शास्त्रको विविधता, समाजको विभिन्न युगमा जनिएका विद्वानहरुले प्रकट गरेका विचारहरुले प्रष्ट्याउँदै ल्यायो। हाम्रो सनातनी समाजको विगतमा ग्यान आर्जनको उत्सर्गको अवस्थामा पुगेको कारण पूर्वजहरुले ईश्वर यस लोकमा दिव्य स्वरुपमा रहेका हुँदा उनाई सँधै व्यापक, अनंत, शाश्वत भन्दै आएको हो।
के हो त ईश्वर?
ईश्वर एक अनन्त शक्ति हो । अदृष्य स्वरुप, आद्य शक्ति , शिवाको अनंत एवं व्यापक स्थितिलाई हामीले ईश्वर मानेका हौँ । ईश्वर अजन्मा , अमर , अविनाशी शक्ति मानिएका छन ,भन्नुको अर्थ सृष्टिकाल अघि नि यो शक्ति थियो , अहिले पनि छ र यो कालखण्ड सकिएपछि पनि रहिरहनेछ । ईश्वर असीमित अर्थ बोक्ने शब्द हो ,यस अर्थमा उनी अनंत हुन बन्ने बुझाउँछ । यिनी रूप ,वर्ण, गंध ,स्पर्श नभएका एकदम निराकार स्वरुप हुन। यिनी आद्य शक्ति वा शिव ईश्वरीय शक्तिको परम अभिव्यक्तिको प्रतीक हुन ।
ईश्वर छन भन्नेकुराको पहिलो कारण उनको लीलाहरु शृजन , संचालन, विसर्जन अनुभूति हुनु हो । ईश्वर , यस विश्वको हरेक पदार्थ अर्थात कण कणमा व्यक्त वा अव्यक्त भएर रहेका छन । त्यसकारण ईश्वरीय शक्ति यस ब्रह्मांडको हरेक जन, हरेक कणको पालक हुन पुगेको हो । चाहे मान्छेले बुझुन , या नबुझेको स्वाङ्ग पारुन , जुन शक्तिले यस ब्रह्मांडको विस्तारदेखि अणु परमाणु सम्मको सूक्ष्म स्थितिलाई व्यवस्थित गराउने सामर्थ्य राख्तछ , त्यो इश्वर हो ।
ईश्वर हाम्रा बाबुआमा झैँ हाम्रा पालक भएकाले हामीले हाम्रो उत्तरजीविता, समृद्धि र कल्याणकालागि उनलाई पूज्दै ,सम्झिँदै र श्रद्धा दिंदै आएका हौँ । हरेक बस्तु जसको पवित्र स्वभाव हे गर्दछ , त्यो ईश्वर हो ,यस अर्थमा ईश्वर हाम्रो आस्तिक दर्शनको मुख्य श्रोत हो । ईश्वरको कुनै सम्प्रदाय हुन्न ,ईश्वर अंग्रेजीका GOD हुन ।
के हो त भगवान ?
भगवान त्यस्तो विशेष चरित्र हो जसले ईश्वरलाई बुझ्न सकेको हुन्छ । त्यो ईश्वरको अनंत स्वरुप र त्यसको व्यापकताको जसले अनुभव गर्यो ,खोजि गर्दै घुम्यो ती पवित्र आत्माहरु हाम्रा भगवान् कहलिन पुगेका हुन । जन्म मरण जस्तै त्यस आत्माले आफ्नो लिला स्वरुपमा परिभ्रमण गर्दा , जसले ईश्वरको सार्थकता बुझ्न सक्यो , अजर अमर हुन् सक्यो र त्यो ईश्वरको अविनाशी शक्तिलाई नजिकबाट अनुभव गर्न सक्यो ती भगवान हुन ।भगवान सीमित शरीर बोकेर आफ्नो आयुष्य निर्धारण गर्ने तत्व हुन । त्यसकारण भगवानको हामीले जन्म-जयंती, निर्वाण-जयंती, आदि मनाएको हो
। भगवान रूप ,वर्ण, गंध ,स्पर्श आदि भएका साकार स्वरुप हुन । भगवान राम,कृष्ण, आदिको स्वरुप हो , अर्थात जसले आफ्नो स्वरुपको अष्टकर्म क्षय गरि अनंतमा हराउन जान्यो ती सबै तीर्थंकर, अणिहंकरहरु भगवान भनिन पुगे ।
बौद्ध परम्परामा गौतम बुद्ध भगवान मानिए । ईसाईका जीसस भगवान भए । सिखका गुरुनानक भगवान भनिए । भगवान ले उपस्थिति जनाएर उत्पादन् ,व्यय , ध्रुव स्वभाव देखाउंदै परिभ्रमण गरे । भगवान एक विशेष लिला थिए , जसले ईश्वरलाई अनुभव गर्यो । तसर्थ ती हाम्रा पालक होईनन मार्ग-दर्शक मानिए ,भन्नुको अर्थ तिनले मान्छेलाई ईश्वर हुनुको अनुभूति दिलाए । भगवानको सम्बन्ध हाम्रो जीविका, समृद्धि, स्वास्थ्य, संग भएर होईन ती हाम्रो शाश्वत कल्याणकोलागि पूजनीय हुन पुगे । नवरात्रि, शिवरात्रि आदि भगवानको उपस्थिति थियो भन्ने उत्सव मनाउने चाड हो। जन्माष्टमी, तिहार , दशैँ , जयंती, बुद्ध पूर्णिमा, भगवानले बताएको मार्गको उत्सव मनाउने विशेष चाड हो । भगवानले सम्प्रदायलाई जन्म दिन्छन । भगवान सिद्धांत स्थापना गर्ने शब्द हो । भगवान LORD हुन । हामीले ईश्वर र भगवानको वास्तविक स्वरूप बुझेर आराधना, उपासना वा रीति-रिवाज़ मान्न थालेपछि हाम्रो अंध विश्वास श्रद्धाबन्न पुग्दछ । हाम्रा जड़ क्रियाहरु पवित्र यज्ञ-कर्म हुन पुग्दछ ।अहिलेका सुशिक्षित वर्गले अंध विश्वास, रूढ़िवादी भन्ने कुरो तिनको बुद्धि र तर्क भन्दा बाहिरको कुरो हो । तर यस्ता भेदका कुरा गहिराईमा न बुझी शताब्दिदेखि चलेर आएको कुरो बुझ्न सकिन्न । त्यो बुझ्न नसके हाम्रा जीवनको सही-गलत, शुभ-अशुभ, नित्य-अनित्य कुराहरुको अनुभूति हुन सक्तैन ।
सम्बन्धित आलेख :
सनातन नेपाल जागरण ®
No comments:
Post a Comment