पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ?

प्रवीण अधिकारी:

। यो स्मृतिग्रन्थ कहिले लेखियो ? भन्नसक्ने अवस्थामा कोही छैनन तर सनातन हिंदू जगतले वेदपछि मनुस्मृतिलाई निकै ठूलो मान्यता दिएको छ । यो ग्रन्थले चारैवर्ण, चारै आश्रम , सोह्र संस्कार तथा सृष्टि , स्थिति र प्रलय बाहेक राज्य व्यवस्था, राजाको कर्तव्य, विवादको किसिम , सेना व्यवस्थापन आदि जस्ता तमाम विषयवस्तुहरुमा ब्याख्या गरिदिएको छ । महर्षि मनुको व्याख्या वेदमा आधारित व्याख्या भएकोले यसलाई पूर्णतः वेदमा आधारित व्यवस्था भन्नु परेको हो ।
मनुस्मृति ग्रन्थ आजसम्म कतिपटक मुद्रण भयो भन्नसक्ने अवस्थामा कोही देखिन्नन । त्यस्तै यो ग्रन्थ कहिले लेखियो ? सनातनी कालचक्र अनुसार कसैले उल्लेख गर्न सकेका छैनन ।
( पश्चिमा समाज मनु स्मृति ईशा पुर्व ६००/७०० बर्ष भन्दछ ,जुन एकदम झूठो हो )

हाम्रो समाजले भन्दछ , आमाबाबुले जन्मिनु भन्दा अघि , छोराछोरीको विषयमा केही जान्दैनन , तर , छोराछोरीले आमाबाउको विषयमा सबैकुरा जान्न सक्तछन । यो दृष्टिकोण अघि सारेर हेर्दा मनुस्मृति महाभारत तथा रामायण कालभन्दा निकै पुरानो हो भन्ने कुरो बुझ्न सकिन्छ । मनुस्मृतिको निर्णयसागरको संस्करण ,कुल्लूकभट्टको भाष्य र डा. बुहलरको अंग्रेजी संस्करण आजको विश्वमा अरु भन्दा लोकप्रिय मानिएता पनि सनातन हिन्दू धर्मको प्राचीन धर्मशास्त्रको रुपमा (स्मृति) , मानवधर्म शास्त्रको रुपमा , मनुसंहिता आदि नाउँले चिह्निने यो ग्रन्थ महर्षि मनुले आफ्ना सन्तान र शिष्य ऋषिहरुलाई दिएको उपदेश लिपिबद्ध हुँदा तयार हुन पुगेको हो ।
यो ग्रन्थलाई सन्दर्भ सामाग्रीको रुपमा धर्मशास्त्रीय ग्रंथकारहरु बाहेक शंकराचार्य, शबरस्वामी जस्ता चर्चित दार्शनिकहरुलेपनि उल्लेख गरेको देखिन्छ । उहिले इनै स्वायंभुव मनुलाई पछ्याउंदै महर्षि भृगुले एउटा स्मृति ग्रन्थ लेखेका थिए जसलाई 'भार्गवीय मनुस्मृति' भन्ने गरिएको छ । धर्मशास्त्रको रुपमा मनुस्मृति यो विश्वको अमूल्य निधि हो । यस ग्रन्थले विश्वमा पहिलोपल्ट वर्ण, आश्रम, सोह्र संस्कार ,सृष्टि उत्पत्ति , राज्य व्यवस्था, राजाको कर्तव्य, विवाद, सेनाको वन्दोबस्तको कुरो गर्यो । यो वेदमा पूर्णतः वेदमा आधारित ग्रन्थ भएकोले ,यसको महत्व अरु कुनै पनि ग्रंन्थ भन्दा निकै धेरै छ । तर , मनु कहिले जन्मिए ? भन्नेकुरामा हाम्रो इतिहाँस र पुराण ग्रन्थ मौन देखिन्छ तर उनलाई आदिपुरुष मान्दै उनको शास्त्रलाई आदिःशास्त्र सबैले भन्न पुगेका छन ।
त्यसैले वेद पछि यो ग्रन्थको महत्व रहन पुगेको हो । केही पूर्वाचार्यहरुको भनाईमा "मानव" चरण वैदिक शाखामा आधारित रहेको हुँदा यो ग्रन्थलाई मनुस्मृति भनिएको हो भनेको पनि पाईन्छ । जे भएपनि मनु परंपरा सनातन जगतको प्राचीन परम्परा हो ,त्यसैले यो ग्रन्थलाई प्राचीन ग्रन्थ मानिएको हो तर, नेपाल र विश्वका नालायकहरुद्वारा परिवन्धमा परि समय समयमा मिलाबट गरिदिंदा वर्तमान हिन्दू संसारमा यो ग्रन्थ आलोचनाको केन्द्र हुन पुगेको छ ।
आजको अवस्था :
नेपालका तर्कशील युवाहरुले समेत सनातन शब्दको अर्थ भाषागत समस्याको कारण हुवहु बुझ्न नसकेको अवस्थामा यसका तमाम ग्रंथहरुको पूर्ण अनुशीलन हुन सकेको छैन । अर्कोकुरो , पश्चिमा जगतले महाभारत र रामायणका एतिहासिक पात्रहरुलाई " मीथ" अर्थात प्रमाणित गर्न नसकिने भनिदिएको कारण ,यी ग्रन्थहरु प्रतिको मान्छेको चासो निकै कम हुन पुगेको छ । तर महाभारत र रामायण को युद्धको समय, हजारौं बर्षको अन्तरालमा बाँडिएको जो कोहिले बुझ्न सक्तछ । तर , लेनिन, मार्क्स ,माओ पढ्ने व्यक्तिहरुले ईश्वर र सनातन धर्म प्रति उदासिनता देखाएपछि अहिलेको ज्ञानार्जन परम्पराले उनीहरुलाई सन्तुष्ट बनाउन सकेको छैन । त्यसैले रामायण र महाभारत जस्ता ग्रन्थहरु इतिहासको रुपमा दरिन नसकि पौराणिक र देव कथाको रुपमा सीमित हुन पुगेको छ ।
अब हेरौं महर्षि मनुले यो लोकलाई सिकाएको कालमापन पद्धति :
महर्षि मनुले गरेको ब्रह्मको दिन रातको वर्णन -
ब्राह्मस्य तु क्षपाहस्य यत्प्रमाणं समासतः । एकैकशो युगानां तु क्रमशस्तन्निबोधत || ६८||(३७)
अर्थात - मनु भन्छन- परमात्माको दिन , रात जान्नकोलागि एक एक युग भनेर जुन जुन समय निर्धारण गरिएको छ त्यो कुरो संक्षेपमा बताउंदै छु ।
सत्ययुगको परिमाण: –
चत्वार्याहुः सहस्राणि वर्साणां तत्कृतं युगम् । तस्य तावच्छती संध्या संध्यांशश्च तथाविधः || ६९||(३८)
अर्थात - ती देउताहरूको ६७ दिन – रातको वर्णनमा चार हजार दिव्य वर्षको एक सत्ययुग मानिएको छ । यस सत्य युगको यावत् सन्ध्या वरावर त्यतिनै सय वर्षको अर्थात् ४०० वर्षको संध्याकाल हुन्छ र त्यतिनै बर्षको अर्थात् संध्यांशः र संध्याशंको समय हुने गर्दछ ।
चार युग कस्तो हुन्छ ?
कुनैपनि युग आउनु अघिको समय वा पूर्व संधिकाललाई ‘संध्या’ र उत्तर संधिकाललाई ‘सध्यांश’ भनिन्छ । श्लोक अनुसार सत्ययुगको काल परिमाण – ४०००+४०० (संध्यावर्ष) + ४०० (संध्यांश वर्ष) = ४८०० दिव्य वर्ष हुन जान्छ । यसलाई मान्छेको बर्षमा ढाल्दा वा मान्छेको वर्षमा लैजान ३६० ले गुणा गर्दा ४८०० X३६०= १७२८००० मनुष्य बर्ष वरावर एक सत्ययुगको अंक देखापर्दछ ।
त्रेता, द्वापर तथा कलियुगको गणना :-
इतरेषु ससंध्येषु ससंध्यांशेषु च त्रिषु । एकापायेन वर्तन्ते सहस्राणि शतानि च || ७०||(३९)
अर्थात, अन्य तीन त्रेता, द्वापर, कलियुगमा संध्या’कालमा तथा ‘संध्यांश’ नाउँको कालमा क्रमशः एक हजार र एक ,एक सय घटाउँदा तिनको आफ्नो कालपरिमाण निस्किन्छ अर्थात् ४८०० दिव्यवर्षको एक सत्ययुग हुन्छ , त्यस संख्यामा एक हजार र संध्या वा संध्यांशमा एक ,एक सय घटाउँदा ३००० दिव्यवर्ष + ३०० संध्यावर्ष + ३०० संध्यांशवर्ष = ३६०० दिव्यवर्षको त्रेतायुग हुन पुग्दछ । यसरीनै २०००+२००+२००= २४०० दिव्यवर्षको द्वापर र १०००+१००+१०० = १२०० दिव्यवर्षको कलियुग हुने गर्दछ । यी सबैलाई ३६० ले गुणा गर्नु पर्दछ ।
देवयुगको परिमाण :-
यदेतत्परिसंख्यातं आदावेव चतुर्युगम् । एतद्द्वादशसाहस्रं देवानां युगं उच्यते || ७१||(४०)
अर्थात - यो ६९/७० औं श्लोकमा जुन जुन युगलाई कालपरिमाण भनेर देखाईएको छ , यो बाह्र हजार दिव्य वर्षको समय मान्छेको एक चतुर्युगीको समय हो, जो देउताहरुको एकयुग भनिन पुगेको हुन्छ ।
अर्थात , १२००० दिव्य वर्षको एक चतुर्युगी हुन्छ । त्यसलाई मानव बर्षमा बदलिनु पर्दा ३६० ले गुणा गर्दा १२००० × ३६० = ४३,२०,००० मानव वर्षको एक चतुर्युगी हुन पुग्दछ ।
ब्रह्मको दिन – रातको परिमाण :
दैविकानां युगानां तु सहस्रं परिसंख्यया । ब्राह्मं एकं अहर्ज्ञेयं तावतीं रात्रिं एव च || ७२||(४१)
अर्थात - देवयुगलाई हजारले गुणा गर्दा जुन कालपरिमाण निस्किन आउँछ , जस्तो चार मानव युगको एक दिव्यवर्ष १२००० बर्षको हुन्छ , त्यसलाई हजारले गुणा गर्दा १,२०,००,००० दिव्यवर्षको (ब्राह्म ) परमात्माको एक दिन र त्यतिनै रात्रि दिव्यवर्षको हुन पुग्दछ । १२०००*१०००=१२०००००० दिव्य वर्षको ब्रह्मको एकदिन वा एकरात्रि हुनपुग्छ ।
यो १२००००००*३६०=४३२००००००० मानुष वर्षको काल परिमाण भयो । चार अरब बत्तीस करोड़ मानव बर्षको सृष्टि उत्पत्ति काल हो , जो परमात्माको जागृत अवस्थाको समय हो त्यतिनै समय सुषुप्ति अवस्था (सृष्टि कार्य सकेर प्रलायावस्था रात्रिकाल हो ।
तद्वै युगसहस्रान्तं ब्राह्मं पुण्यं अहर्विदुः । रात्रिं च तावतीं एव तेऽहोरात्रविदो जनाः || ७३||(४२)
अर्थात , जो मान्छेले त्यो एक हजार दिव्य युग परमात्माको पवित्र दिन र त्यतिनै युगको परमात्माको रात्रि हुन्छ भन्ने बुझिन्छ , ती नै दिन – रात – सृष्टि – प्रलयकाल बुझ्ने मान्छे हुन्छन ।
वेदोत्पत्ति समयको गणना :
आजको सृष्टिकाल सातौँ वैवस्वत मनुकाल हो । यसअघि , स्वायंभुव १, स्वारोचिष २, औत्तमि ३, तामस ४, चाक्षुष ६, विति सके र सावर्णि आदि अरु ७ मन्वतर अझै भोग्नु पर्दछ । ती जोडिदा १४ मन्वन्तर हुनेछन र एकहत्तर चतुर्युगियहरुलाई एक मन्वन्तर भन्ने गरिएको छ । त्यसको गणना १७२८००० को सत्ययुग ,१२९६०००को त्रेता ,(८६४०००को द्वापर र ४३२०००को कलियुग राखिएको छ ।
७१ चतुर्युगिहरु अर्थात् (३०६७२०००० वर्षको मन्वन्तर हो ,यस्ता छः मन्वन्तर मिल्दा अर्थात् १८४०३२०००० वर्ष हुन्छ र सातौँ मन्वन्तरको भोग २८ औं चतुर्युगी हो ।
यी चतुर्युगी मध्ये कलियुगको ५११९ बर्ष आजको दिनमा विति सकेको अवस्थामा रहेको छ , बाँकी ४२६८८१ वर्षको भोग हुन बाँकी छ । आज सम्ममा १२०५३२९७६ वर्ष वैवस्वत मनुको भोग सकिएको छ भने त्यसै अनुसार १८६१८६८८१ बर्ष भोग्न अझै बाँकी छ ।
मन्वंतरको समयावधि :
यद्प्राग्द्वादशसाहस्रं उदितं दैविकं युगम् । तदेकसप्ततिगुणं मन्वन्तरं इहोच्यते|| ७९||(४८)
अर्थात , अघिल्लो श्लोकमा (१।७१) जुन बाह्र हजार दिव्य वर्षको एक ‘देवयुग’ भनिएको छ , त्यसको ७१ गुणा समय अर्थात् १२००० × ७१ – ८, ५२, ००० दिव्यवर्षको अथवा ८,५२,००० दिव्यवर्ष × ३६० = ३०,६७,२०,००० मानव वर्षको एक मन्वन्तरं भनेर चिह्निएको छ ।
मन्वन्तराण्यसंख्यानि सर्गः संहार एव च । क्रीडन्निवैतत्कुरुते परमेष्ठी पुनः पुनः || ८०||(४९)
अर्थात - परमेष्ठी सबैभन्दा महान हुन्छन ,परमात्मा असंख्य ‘मन्वन्तरहरु सृष्टि उत्पत्ति र संहारः पटक पटक गर्दै रहेका हुन्छन ।
महर्षि मनुको समयको शास्त्रीय विश्लेषण
माथिका तमाम चर्चा पछि हाम्रा निधिको रुपमा रहेका प्राचीन ग्रंथहरु सत्य हुन कि होईनन ? भन्नु भन्दा पहिले महाभारत ग्रन्थमा प्रयोग गरिएको संस्कृत श्लोक अध्ययन गरेरपनि यस सम्बन्धमा केहि कुरो बुझ्ने प्रयाश गरि हेरौं ।
उहिले , यस क्षेत्रमा अनगिन्ती वैदिक गुरुहरु थिए ,यो क्षेत्र उनीहरुको कर्म भूमि थियो । यहाँ करोडौं देविदेउताहरुको पूजाहुने गर्दथ्यो ।सनातन धर्मको निकै ठूलो प्रभाव थियो । यसकारण यो भूमि आध्यात्मिक र रहस्यमयी भूमि मानिएको थियो । यहाँ आफुले गरेको कर्मको आधारमा मान्छेहरु मोक्ष प्राप्तिको आश गर्दथे ।
सनातन धर्म अनुसार मान्छेको अंतिम उद्देश्य मोक्ष प्राप्ति आज पनि छ ,हिंजो पनि थियो । हाम्रा ग्रंथ, पुराण र प्राचीन साहित्यले यहीकुरो पुष्टि गर्दछ ।
पछिल्ला ३००० बर्ष देखि मान्छेले महाभारत र रामायणको बयान गर्दा गर्दै पनि हामीले त्यसको मर्म बुझ्न सकेका छैनौ ।
यो हेर्दा सानो घाउ हो तर निकै गंभीर प्रकृतिको । जुन जुन संस्कृत श्लोकहरुले महाभारत र रामायण कालको दिग्दर्शन गरिदिएको छ ,त्यसलाई हाम्रो समाजले आज सम्म चासो दिन सकेकै छैन ।
प्रशिद्ध खगोल शास्त्री आर्यभट्ट अनुसार महाभारतको समय बिक्रम पूर्व लगभग ३०५७ बर्ष पहिले भएको थियो अर्थात ,आजभन्दा लगभग ५१३१ वर्ष पहिले । महाभारतमा महर्षि वेदव्यासले मनुस्मृतिका श्लोकहरु र महर्षि मनुको गुणहरु अनेकौ ठाउमा उल्लेख गरेका छन् , तर , मनुस्मृतिमा महाभारत वा व्यासजीको नाउँ काँहीपनि उल्लेख गरिएको छैन ,यस अर्थमा महाभारत भन्दा मनुस्मृति जेठो हो ।
जस्तो : -
मनुनाSभिहितम् शास्त्रं यच्चापि कुरुनन्दन ! महाभारत अनुशासन पर्व , अ० ४७ - श ० ३५
तैरेवमुक्तोंभगवान् मनु: स्वयम्भूवोSब्रवीत् । महाभारत शांतिपर्व , अ० ३६ - श ० ५
एष दयविधि : पार्थ ! पूर्वमुक्त : स्वयम्भूवा । महाभारत अनुशासन पर्व , अ० ४७ - श ० ५८
सर्वकर्मस्वहिंसा हि धर्मात्मा मनुरब्रवीत् । महाभारत शांतिपर्व , मोक्षधर्म आदि ।
यो हेर्दा भन्न सकिन्छ कि मनुस्मृतिको प्रशार महाभारतकालमा निकै रहेछ , त्यतिखेर मनु चाहीं वांचेका रहेनछन । त्यसकारण महर्षि मनुको मनुस्मृतिको श्लोकहरु प्रमाण स्वरुप महाभारतमा उल्लेख गरिएको थियो । अब यी श्लोकहरु हेरौं : -
अद्भ्योSग्निब्रार्हत: क्षत्रमश्मनो लोहमुथितं । तेषाम सर्वत्रगं तेजः स्वासु योनिशु शाम्यति ।। - मनु अ० ९ - ३२१
ठीक यही मनु श्मृतिको श्लोक महाभारत शांतिपर्व अ० ५६ - श २४ मा उल्लेखित रहेको छ , अनि महाभारत को यो श्लोकभन्दा पहिले २३ औं श्लोकमा भनिएको छ : -
"मनुना चैव राजेंद्र ! गीतो श्लोकों महात्मना"
(अर्थात हे राजेंद्र ! मनु नाम गरेका महात्माले यी श्लोकहरु भनेका हुन्) ।
यसै प्रकार , मनु श्मृतिका श्लोकहरु महाभारतमा जस्ताको त्यस्तै राखिएका छन् ति श्लोकका नम्बरहरु राखिएको छ इक्ष्छुकहरुले हेर्दा हुन्छ ।
मनु ० १ १ /७ - महा० शांति अ ० १६५ - श ० ५
मनु ० १ १ /१२ - महा० शांति अ ० १६५ - श ० ९
मनु ० १ १ /१८ ० - महा० शांति अ ० १६५ - श ० ३७
मनु ० ६ /४५ - महा० शांति अ ० २४५ - श ० १५
मनु ० २ /१२० - महा०अनु ० अ ०१०४ - श ० ६४
अब ती श्लोकहरु हेरम जुन श्लोक मनु द्वारा लेखिएका हुन ,तर केहि परिवर्तनगरी , महर्षि व्यासले महाभारतमा उल्लेख गर्न पुगेका छन ।
जस्तो :-
यथा काष्ठमयो हस्ती यथा चर्ममयो मृग: । यश्च विप्रोSनधियान स्त्रयते नाम बिभ्रति । । - मनु २ /१५७
यथा दारुमयो हस्ती यथा चर्ममयो मृग: । ब्राह्मणश्चानधियानस्त्रयते नाम बिभ्रति । । -महा शांति ३६/४७
अब केही श्लोक र त्यसका नम्बरहरु हेरौं जो केहि थपघटका साथ् महाभारतमा उल्लेख गरिएको छ :-
मनु ० १ १ /४ - महा० शांति अ ० १६५ - श ० ४
मनु ० १ १ /१२ - महा० शांति अ ० १६५ - श ० ७
मनु ० १ १ /३७ - महा० शांति अ ० १६५ - श ० २ २
मनु ० ८ /३७२ - महा० शांति अ ० १६५ - श ० ६३
मनु ० २ /२३१ - महा० शांति अ ० १०८ - श ० ७
मनु ० ९ /३ - महा० अनु अ ० ४६ - श ० १४
मनु ० ३ /५५ - महा० अनु अ ० ४६ - श ० ३
लगभग मनु स्मृतिका ५० /६० बटा श्लोकहरु जो जस्ताको त्यस्तै वा केहि परिवर्तन गरी महाभारतमा समावेश गरिएको छ ।यसकारण महाभारतकाल सम्म आईपुग्दा मनुस्मृति निकै बुढो भईसकेको थियो ।
अब रामायणकाल तिर जाउँ :-
रामायण काल - रामायण कालको समय कहिले थियो ? भन्न सकिने अवस्था छैन । वाल्मीकि रामायणमा प्रयोग भएका मनुस्मृतिका श्मृतिका श्लोकहरु प्रसस्त छन् तर मनु श्मृतिमा महर्षि वाल्मीकि र भगवान रामको कुरो कतै उल्लेख गरिएको छैन , भन्नुको अर्थ :
वाल्मीकि रामायण भन्दा मनुस्मृति निकै जेठो थियो ,तसर्थ त्यस ग्रन्थमा मनु श्मृतिका श्लोकहरु राखिन पुग्यो ।
प्रसंग हेरौं :-
किष्किन्धा काण्डमा भगवान रामले बालीलाइ घाइते तुल्याएपछि वालीले लगाएको आरोपको जवाफ दिंदै भनेका छन् , तिमीले भाई सुग्रीव कि श्रीमती हरण गरेर स्वास्नी बनायौ त्यसकारण तिमी अनुजभार्याभिमर्शको दोषी हौ , धर्मशास्त्र अनुसार सजायको भागि छौ । यस पृथ्वीका महाराज अहिले मेरा अनुज भरत हुन् , यसकारण तिमीपनि उनैका प्रजा हौ । म उनैको आज्ञापालन गर्दै विचरण गर्दैछु भने मैले तिमीलाई सजाय किन न दिने ?
जस्तो -
श्रूयते मनुना गीतौ श्लोकौ चारित्र वत्सलौ || गृहीतौ धर्म कुशलैः तथा तत् चरितम् मयाअ || वाल्मीकि ४-१८-३०
राजभिः धृत दण्डाः च कृत्वा पापानि मानवाः |
निर्मलाः स्वर्गम् आयान्ति सन्तः सुकृतिनो यथा || वाल्मीकि ४-१८-३१
शसनात् वा अपि मोक्षात् वा स्तेनः पापात् प्रमुच्यते |
राजा तु अशासन् पापस्य तद् आप्नोति किल्बिषम् || वाल्मीकि ४-१८-३२
उपरोक्त श्लोक ३० मा मनुको नाम आएको छ र श्लोक ३१ , ३२ पनि मनु श्म्रितिकै हो ।
उपरोक्त श्लोकहरुमा केहि फरक छ तर अर्थमा फरक छैन । यी श्लोकहरु मनुस्मृति अध्याय ८ को हो जसको संख्या कुल्लूकभट्टको टिकामा ३१८ तथा ३१९ भएर बसेको छ । -
राजभिः धृत दण्डाः च कृत्वा पापानि मानवाः |
निर्मलाः स्वर्गम् आयान्ति सन्तः सुकृतिनो यथा || वाल्मीकि ४-१८-३१
राजभिः धूर्त दण्डाः च कृत्वा पापानि मानवाः |
निर्मलाः स्वर्गम् आयान्ति सन्तः सुकृतिनो यथा || मनु ८ / ३१८
शसनात् वा अपि मोक्षात् वा स्तेनः पापात् प्रमुच्यते |
राजा तु अशासन् पापस्य तद् आप्नोति किल्बिषम् || वाल्मीकि ४-१८-३२
शसनाद्वा अपि मोक्षाद्वा स्तेनः स्तेयाद विमुच्यते |
अशासित्वा तू तं राजा स्तेनस्याप्नोति किल्बिषम् ॥ मनु ८/३१६
अब हामी भन्न सक्छौ मनु स्मृतिको अस्तित्व रामायणभन्दा निकै पहिले देखि थियो । त्यसकारण त्यसका श्लोकहरु रामायणमा समाबेस गरिए । महर्षि वाल्मीकि रचित रामायणमा महर्षि मनुको मनु स्मृतिको श्लोकको उद्धरण अनेकौ ठाउँमा गरियो । उता मनुले भगवान राम र वाल्मीकिको नाउको उच्चारण आफ्नो ग्रन्थमा कतै गरेनन ।
बाल्मीकीले आफ्नो रामायणमा प्रष्टसंग भनेका छन् " मनुना गीतौ श्लोकौ " जसरी महाभारतमा महर्षि व्यासले भनेका थिए " "मनुना चैव राजेंद्र । गीतो श्लोकों महात्मना" - महाभारत शांतिपर्व अ० ५६ - श २३
यसरी महर्षि मनु रामायण भन्दा निकै पुरानो पात्र हुन भन्नेकुरा सजिलै बुझ्न सकिन्छ । यहाँ एउटा प्रसंग जोडेर हेरौं -
माथि उल्लेख गरिएको समय अनुसार भगवान रामको जन्मको चिरफार :
ऋषि वाल्मीकिले आफ्नो महाकाब्य ग्रन्थ रामायणमा भनेका छन - " ततो यज्ञे समाप्ते तु ऋतुनां षठ समत्ययुः नक्षत्रोऽदितिदैवत्ये स्वोच्चसंस्थेषु पंच्चसु। ततश्च द्वादशे मासे चैत्रं नावमिके तिथौ।। ग्रहेषु कर्कट लग्ने वाक्पताविन्दुना सह।। प्रोद्यमाने जगन्नाथं सर्व लोक नमस्कृतम । कौशल्याजनमद् रामं दिव्य लक्षणं संयुतम्।।" (वा.रा.१८ .८ .९ .१ ) । अर्थात ,
राजा दशरथले पुत्रोष्टि यज्ञ गरिसकेपछि छ ऋतु अर्थात् एक बर्ष बितेर १२ औं महिनाको चैत्र शुक्ल पक्षको नवमी तिथिमा पर्न गएको पुनर्वसु नक्षत्र र कर्कट लग्न पारेर दशरथकि कौसल्याले दिव्य लक्षण यूक्त भगवान रामलाई जन्म दिईन । त्यतिखेर पाँच ग्रहहरु (सूर्य, मंगल, शनि, गुरु र शुक्र) आ आफ्ना उच्च स्थानमा रहन पुगेका थिए तथा जन्म लग्नमा (जन्मेको समयमा ) चन्द्रमा संग बृहस्पति रहन पुगेका थिए अर्थात गजकेशरी योगको उत्पत्ति हुन पुगेको थियो । (वा. रा. बा. १८.८-९);( अ. रा. १.३);( पद्म. उ. २४२ ) ।
भगवान विष्णुको सातौँ अवतार , वाल्मीकि रामायण अनुसार श्रीविष्णु जस्तै पराक्रमी (वा. रा. बा. १.३८), रामतापनीय उपनिषद , अध्यात्मरामायण सम्मको प्रत्येक ग्रन्थले रामलाई केवल विष्णुकोमात्र होइन बरु साक्षात् परब्रह्मको अवतारनै मानेको छ (अ. रा. बा. १) ।
उनले जन्मिएपछि आफ्नी आमा कौसल्यालाई श्रीविष्णुको रुपमा दर्शन दिएका थिए (अ. रा. बा. १.३.१३-१५); (पद्म. पु . २६९. ८०);( आ. रा. १.२.४) ।
महाभारत अनुसार, मार्कंडेयको अंशबाट , हरिवंश अनुसार विश्वामित्रको अंशबाट रामको जन्म भएको बताइएको छ । देवी भागवत अनुसार राम र लक्ष्मण नरनारायण अवतार मानिन्थे ।
अब , त्रेता युगमा जन्मेका भगवान रामको यस्तो जन्म समयको विवरण पढेर वि .स . २०७४ सालमा गणना गर्न सक्ने जवानले वैदिक ज्योतिषको पूर्ण जानकारी राख्न सक्ने हुनु पर्छ । यो कुरो त्यति सजिलो छैन जति सजिलै भनिन्छ , किनभने माथिको विवरणको गणना गर्न सक्ने क्षमता वैदिक वा लगध ज्योतिषको पूर्णज्ञान भएका विद्वानहरुले मात्र सक्दछन ।
त्यस्तै , महाभारतले त्रेता र द्वापर युगको संधिकालमा राम अवतार भएको थियो भनेर उल्लेख गरेको छ :-
" संध्येश समनुप्राप्ते त्रेतायां द्वापरस्य च। अहं दशरथी रामो भविष्यामि जगत्पतिः।।" (महाभारत शान्तिपव-३३९ /८५ )
वायु ,हरिवंश र ब्रह्म पुराणले ७ औं वैवस्वत मन्वन्तरको २४ त्रेतायुगमा राम अवतार भएको थियो भनेर उल्लेख गरेको छ : -
" चतुर्विशे युगे रामो वसिष्ठेन पुराधसा। सप्तमो रावणस्मार्थे जज्ञे दशरथात्मजः।। " (वायु पुराण ९८ /७२ )
" चतुर्विशयुगं चापि विश्वामित्रपुरः सरः। रामो दशरथस्याथ पुत्रःपदमायतेक्षणः।। " (हरिवंश पुराण ४ /४१ ब्रह्मांड महापुराण १०४ /११ )
तुलसीदासले रामचरित मानसमा भगवान रामको जन्मकालको उल्लेख गर्दै एउटा दोहा र चैपाई लेखेकाछन , हेरौं -
दोहा :-
जोग लगन ग्रह वार तिथि सकल भए अनुकूल।
चर अरु अचर हर्षिजुत रामजन्म सुखमूल।।
चौपाई :-
नौमी तिथि मधुमास पुनीता। सुकलपच्छ अभिजीत हरिप्रीता।। मध्य दिवस अतिशीत न घामा, पावन काल लोक विश्रामा।। (बाल कांड . १९१ )
माथि गरिएको ५ ओटा उद्धरणले पनि भगवान राम चैत्रशुक्ल नवमी तिथिको अभिजित मुहूर्तमा अर्थात ११.३६ देखि १२.२४ मध्ये दिनमा भएको कुरो प्रष्ट छ । माथिको श्लोकमा कुनै संवत्सरहरु उल्लेख गरिएको छैन , तर , उनको जन्म वैवश्वत मन्वन्तरको २४ औं महायुग , त्रेतायुग समाप्त हुनलाग्दा सन्धिकालमा ( लगभग १०४१ वर्ष बाँकी हुँदा ) भएको भनिएको छ | (सन्धिकाल भनेको त्यसैपनि हाम्रो परम्परामा पर्व नै हो ,त्यसैले हाम्रो मान्यतामा औंशी,पूर्णिमा ,कृष्ण चतुर्दशी ,अष्टमी पर्व तिथि मानिएका हुन )
। ..... अथ श्री द्वितीयपरार्धे श्री श्वेतबराहकल्पे वैवस्तमन्वन्तरे अष्टाविशंति तमे कलौयुगे कलौ युगस्य प्रथम चरणे ......भन्ने सनातनी संकल्प पद्धति अनुसार अहिले वैवश्वत मनुको अट्ठाइसौ कलियुगमा ५११८ वर्ष बित्दै गरेको देखिन्छ ।
ब्रह्माको एक दिनलाई कल्प अथवा सृष्टि समय भन्ने गरिएको छ । यो कल्प १४ मन्वन्तरहरुमा (स्वायम्भुव , स्वारोचिष ,उत्तम ,तामस ,रैवत ,चाक्षुष ,वैवस्वत , सावर्णिक , दक्षसावर्णि ,ब्रह्मसावर्णि , धर्मसावर्णि ,रुद्रसावर्णि , देवसावर्णि , इन्द्रसावर्णि ,) बाँडिएको हुन्छ , जुन एक सहस्त्र चतुर्युगी बराबर हो ।
आजसम्म , छ मन्वन्तर बिति सकेको छ । एक मन्वन्तरमा ७१ चतुर्युग हुनछ । वैवस्त मनुको २७ औं चतुर्युगी सकिएर अट्ठाइसौ युगको सत्य , त्रेता र द्वापर वितेर चौथो कलिको ५११८ वर्ष बिति सकेको अवस्था छ ।
एक चतुर्युगमा भएका सत्य , त्रेता, द्वापर , कलिमा सत्य युगको मापन १७२८००० वर्ष थियो । त्रेता १२९६००० वर्षको , द्वापर ८६४००० वर्षको र कलियुग ४३२००० वर्षको निर्धारण गरिएको छ ।
यी चारै युगको कुल योग ४३२०००० बर्ष हो । त्यसोहुँदा ७१ चतुर्युगी भनेको ३०६७२०००० वर्ष हुन पुग्दछ । छ मन्वन्तरको समय बित्यो भनेको १८४०३२०००० वर्ष बितेको हो अब सातौँ मन्वन्तरको २८ औं चतुर्युगी जोडदा आजको कल्पाब्द संवत १९७२९४९११८ , सृष्टि संवत् १९५५८८५११८ हुन पुग्दछ । यै समय मानव उत्पत्तिकोपनि हो ।
गिनीज बुक अफ वर्ल्ड रिकर्ड्सले कल्पको समयलाई सर्वाधिक लामो मापन प्रक्रिया घोषित गरेकै छ ।
यो त भयो शृष्टि र कल्पाब्दको गणना ।अब राम जन्मको गणना गरिहेरौं:
- २४ औं मन्वन्तरको संधिकालको बाँकी समय १०४१ + ८६४००० द्वापर +४३२००० कलि =१०४१+१२९६००० +२५ चतुर्युग +२६ चतुर्युग + २७ चतुर्युग +२८ चतुर्युगको सत्य ,त्रेता,द्वापर र कलियुगको आजसम्मको समय ५११८ बर्ष जोडदा अर्थात १२९७०४१ +४३२०००० +४३२००००+४३२००००+३८९३११८ = १८१५० १५९ हुन आउँछ , जुन भगवान रामचन्द्र जन्मेको बर्ष हो भन्नु पर्दछ अर्थात भगवान राम आज भन्दा लगभग १,८१ ५० ,१५९ , बर्ष अघि जन्मिएका थिए , भन्नुनै हाम्रो शास्त्रोक्त प्रमाण हो ।
त्यसरी नै पृथ्वीको उत्पत्ति भएको लगभग १ ,९३ ,७७ ,३४ ,९६९ (कल्पाब्द )वर्षपछि श्रीराम जन्मेका थिए । पृथ्वीको उत्पत्ति आजभन्दा १ ,९५ ,५८ ,८५ ,११८ वर्ष पहिले भएको थियो ।
ज्योतिषका घाघरान विद्वानहरुको भनाईमा मोटामोटी रुपमा सप्तऋषि नक्षत्रहरू एक राशिमा २१, ००० वर्ष सम्म बस्दछन । वैदिक वा लगध ज्योतिषले सूर्य एक राशिमा एक महिना , शनि एक राशिमा तीस महिना , बुध र शुक्र एक महिना र गुरु तथा राहु एक राशिमा एक वर्ष बस्ने गर्दछन भन्ने प्रमाण दिएको छ , त्यसैलाई आधारमानी आजसम्मका पाञ्चाङ्गहरु तयार हुँदै आएको हो । यो मोटामोटी गणना हो ।
हामीले कलियुगको बीतेको प्रथम चरण ५११८ वर्षको गणना हेरेर उल्टोबाट पछिल्तिर उक्लिँदै गएपनि यै अंकमा पुगेर अडिने छौं ।
चीनको पर्खालले प्रमाणित गरेको मूल मनुस्मृतिको शुद्ध श्लोक संख्या जम्मा ६३०
विदेशी प्रमाण मनुस्मृतिको समय तथा श्लोकको संख्याको जानकारी गराउने महत्वपूर्ण पुरातात्विक प्रमाण चीनबाट भेटिएको थियो ।सन १९३२ मा जापानले बम विस्फोट गर्दा चीनको एतिहासिक पर्खाल क्षतिग्रस्त भएको थियो । त्यो पर्खाल क्षतिग्रस्त भएको ठाउँमा एउटा फलामको बाक्सा भेटियो ।जसमा चीनीयाँ भाषामा लेखिएको प्राचीन पांडुलिपिहरु रहेका थिए । त्यो हस्तलिपि Sir Augustus Fritz George को हात पर्यो र उनले त्यसलाई लगि ब्रिटिश म्युजियममा राखे । ती पान्दुलिपिहरुलाई Prof. Anthony Graeme ले चीनीयाँ भाषा विद्वानिहरुलाई पढ्न लाउँदा यस्तो जानकारी रहेको पाईयो ।
तत्कालिन वहुलट्ठि चीनका राजा Chin-Ize-Wang ले आफ्नो शासनकालमा सबै प्राचीन पुस्तकहरु जलाउने उर्दी जारी गरेर चीनीयाँ सभ्यताको सबै प्रमाण नष्ट होओस । त्यतिखेर केही विद्याप्रेमी हरुले ती पुस्तकहरु फलामको बाकसमा राखी चीनको पर्खाल बनाइदा त्यै पर्खाल भित्र राखिदिए । संयोग बस त्यो ट्रंक विस्फोट हुँदा निस्क्यो । चीनीयाँ भाषामा लेखिएको ती पाण्डुलिपिहरु मध्ये एउटामा भेटियो -
" The wording is such as to pay high tribute to the genius and influence of the Emperor, but it also proves that many hundreds of years ago this Emperor and his people were possessed of knowledge and ideals, laws, and principles which we are apt to think are quite modern. For instance, The manuscript shows that the Chinese emperor and his people had adopted the Laws of Manu which were written in the Vedic language ten thousand and thousand years ago "
यो विवरण मोटवानीको पुस्तक ‘मनु धर्मशास्त्र : ए सोशियोलॉजिकल एंड हिस्टोरिकल स्टडीज’ पेज २३२ मा राखिएको छ ।
चीनको पर्खाल बनेको समय अनुमानतः २२० –२०६ BC भन्ने गरिएको छ अर्थात त्यो जसले लेख्यो उसले कम्तिमा २२० BC पहिला नै लेखेको हुनु पर्छ ।
मनुको धर्मशास्त्र यस क्षेत्रको सबैभन्दा लोकमान्य ग्रन्थ हो । यसमा प्रयोग भएका शब्दहरु वैदिक संस्कृतका छन । चीनको पर्खाल ध्वस्त गरिंदा भेटिएको पाण्डुलिपिले मनुस्मृतिका श्लोकहरुको संख्या जम्मा ६३० मात्र भएको बताएको छ ,तर अहिले विधर्मिहरुको कारण यस ग्रन्थमा झन्डै २४०० - ३६०० को हाराहारी श्लोक संख्या रहेको देखिन्छ ।
माथिका सबै प्रसंगहरुले प्रष्ट्याउछ कि मनु स्मृति महाभारत काल तथा रामायण काल भन्दा धेरै पुरानो हो अर्थात कम से कम २ करोड बर्ष अघि भन्नेकुरो भगवान रामको जन्म र चीनको लेखोटले देखायो ।
सनातन नेपाल जागरण ®
No comments:
Post a Comment