Thursday, 15 March 2018

यस विश्वका प्रथम संवाददाता औ पत्रकार देवर्षि नारद


लेखक:
प्रवीण अधिकारी:
यस काश्यपी सृष्‍टिको प्रथम संदेशवाहक व्यक्तित्व देवर्षि नारद भन्ने वितिक्कै हाम्रो मनमस्तिष्कमा यताउति घुम्ने , संधै विचरण गरिरहने , यताकोकुरो उतापुर्याउने , कुरौटे , दुई मुखे , चुग्ल्याहा जस्ता शब्दहरु घुम्ने गर्दछ , तर सनातन संसारमा नारद यताउति घुमेर संवाद संकलन गर्ने ,संधै व्यस्त रहने , घुमक्कड़ जस्ता देखिने , यताउताका संवाद ल्याउने - पुर्याउने , विश्वाशीलो संदेश वाहक , द्रूत संवाद संकलक , एकदम सक्रिय - सार्थक संवाददाता , देवर्षि दिव्य पत्रकारको रुपमा चिह्निएका छन।
     हाम्रा शास्त्रहरु अनुसार नारदमुनि ब्रह्माजीका १० मानस पुत्रहरु मध्येका त्यस्ता सन्तान हुन , जो आफ्नै तपस्याका वलले देवर्षि भएका थिए । उनी भगवान विष्णुका अनन्य भक्त भएका कारण उनलाई हाम्रो सनातनी ग्रन्थहरुले भगवानको मन भन्न पुगेको छ । उनी उच्चकोटिको संगीतकारपनि हुन । ४ वेद र ६ ओटै वेदाङ्गका ज्ञाता हुन । वाद्दवादन मध्ये वीणाको आविष्कारक हुन । पीड़ित भक्तको पुकार भगवानसम्म पुर्याउने संदेशवाहकपनि हुन । भक्तिविधाका साक्षात् मूर्ति हुन , ज्योतिषका ठूला आचार्य हुन । भगवानका दूत हुन , देवीदेउताका प्रवक्ता हुन । शक्ति र भक्ति प्रयोगका सूत्रधार हुन ।
     महर्षि वेदव्यास , देवर्षि नारद्कै शिष्य भएकाकारण यस विश्वको प्रथम संपादक हुनपुगेका थिए । महर्षि वेदव्यासले वेद संपादनगर्दा कुन मन्त्र , कुन वेदमा राख्ने भन्ने कुराको छनौट गरेर कार्यरुप मात्र दिएनन वरु उनले ती वेदहरूको सामाजिक प्रयोगकोलागि बाटो समेत देखाएका थिए । वेदको श्रेणीकरण गरेर त्यस भित्र सूचीकरण गर्ने कामपनि वेदव्यासले नै गरेका थिए ।
     यसअर्थमा महर्षि वेदव्यासको वेद सम्पादन कार्य महाभारत लेखन भन्दापनि जटिल रहेको थियो । त्यसरी नै देवर्षि नारद , महर्षि वेदव्यास भन्दा निकै अघिका देवर्षि रहेका थिए । उनी यो संसारको प्रथम पत्रकार ,प्रथम संवाददाता भई यस लोकको कल्याणकोलागि निरन्तर भ्रमणशील हुनपुगेको हुँदा ,उनले तत्कालिन पात्रहरुको संवाद आदान प्रदान गरिदिएर पत्रकारिता जगतको शुरुवात गरेका थिए भन्दा अत्युक्ति हुनेछैन ।
    देवर्षि नारदलाई पत्रकारिता जगतका प्रथम लौह पुरुष भनेर चिह्नाउनु अघि ,उनले यताउति घुमेर तयार पारेको संवादको सेतुकै कारणले तत्कालिन युगको दुई बिंदु आपसमा मिल्न पुगेको थियो भनेर बुझ्न सक्नु पर्दछ । त्यो प्राङ्गैतिहाँसिक इतिहाँस बुझ्न देवर्षि नारदको समाचार संकलन र संवाददाताको कार्य उनलाई बुझ्ने गतिलो भर्याङ्ग हो । सेतु जोड़नु , कहिल्यै नतोड्ने काममा लाग्ने नारदले आफ्ना बाबु ब्रह्माबाट श्राप पाएका थिए र त्यो श्राप कहिल्यै स्थिर भएर नबस्नु भन्ने थियो । नारदले बरोवर घुमी रहनु पर्ने भएकोले मान्छेले उनलाई नकारात्मक दृष्टि ले हेरे र उनलाई झगडा लाउने ,कलह गराउने रुपमा परिभाषित गरे , तर ,नारद घुमेरै सबैसंग संवाद गर्दछन र सिधै आफै संवाद पठाउँछन् । कारण नारद संधै सक्रिय रहेका छन् , उनी 'टेबल-रिपोर्टिंग' होईन 'स्पट-रिपोर्टिंग' गर्न माहिर देखिन्छन । त्यसैले उनले गरेको हरेक काममा जीवन्तता रहेको छ ।
नारदको अर्थ :

     नार+द =नारद , यहाँ नार भनेको पानी हो र "द " को अर्थ दिनु वा नाश गर्नु हो । तसर्थ शब्द कोषले " नारादाद्दा: सुरर्षय: " भन्दै शब्द कोषकार भन्दछन " नाराम ददाति " अर्थात इनले नित्य तर्पण गरेर पितृहरुलाई जल अर्पण गर्थे , त्यसकारण नारद कहलिए -
" नारं ज्ञानं ददातीति नारदः, ना-नारायणो रदॆषु दन्तेषु मुखे जिह्वायां हृदि चात्मनि यस्य नारदः, नं नारायणम् अम् अमृतपदं रं रतिं भतिं ददातीति नारद:, 'नारं पानीयमित्युक्तं तत् पितृभ्यः सदा भवान् । ददाति येन ते नाम नारदेति भविष्यती?"
अथवा:
" नारं - जनसमूहम द्दति " अर्थात स्वार्थी जनसमूहलाई जसले कलह गराएर नास गर्न सक्तछ त्यो नारद हो । त्यस्तै " नुरिदं नारमज्ञानम् द्दति " अर्थात नरहरुको अज्ञानलाई नार भनिन्छ ,त्यस्तो अज्ञानलाई जसले ज्ञानो पदेश दिएर नास गर्दछ त्यो नारद हो ।
    उनी देवर्षि अर्थात देउताहरुका ऋषि ,दीव्यऋषि ,श्रेष्ठ ऋषि , सन्त मानिएका छन जसले देवत्व पाउन सकेका थिए । त्यसैले नारद भन्दा - " नराणां सम्बन्धि नारं ज्ञानं तद् द्दति खण्डयतीति नारदः " भन्ने बुझिन्थ्यो । ब्रह्मवैवर्त पुराण अनुसार - वालकहरुलाई जलदान , ज्ञानदान सिकाएका कारण ती ज्ञानी व्यक्ति नारद कहलिए भनेको छ ।
" ददाति नारं ज्ञानं च बालकेभ्यश्च नित्यशः ।जातिस्मरो महाज्ञानी तेनायं नारदः स्मृतः।।
    नारदको अर्थ बताउंदै शौनक ऋषि भन्दछन - यो पृथ्वीमा अनावृष्टि भएको बेला एउटा बालक उत्पन्न भएर यो जगतलाई नार/पानी दियो तसर्थ त्यो व्यक्ति नारद कहलियो । " अना वृष्टय वषेशे च कालो बालो बभूव ह । नारं ददौ जन्मकाले तेनायं नारदाभिध: ।।
     उनी ब्रह्माको श्रापको कारणलेपनि नारद नाउँले विख्यात हुन पुगेका थिए । नारद शब्दको उत्पत्ति बताउंदै , शौनक ऋषि भन्दछन कल्पान्तरमा ब्रह्माको कण्ठ अर्थात घांटीबाट थुप्रै नर जन्मिए अर्थात ब्रह्माको कण्ठले नर दान गर्न पुग्यो , त्यसैले त्यो कण्ठलाई नरद भनियो । ती नरद नाउँको कण्ठबाट एउटा बालक उत्पत्ति हुन पुगेकोले त्यो विशेष बालक नारद भनेर चिह्निंन पुग्यो ।
" कल्पान्तरे ब्रह्मकण्ठाद्बभूवुर्बहवो नरा:।
नरान्ददौ तत्कंठ्म च तेन तन्नरदम स्मृतम् ।।
ततो बभूव बालश्च नरदात्कन्ठ देशत: ।
अतो ब्रह्मा नाम चक्रे नारद्श्चेती मङ्गलम् ।।"
" नारं परमात्मविषयकं ज्ञानं ददाति "

    अथवा " नारं नर समूहं द्दति खण्डयति कलहेन " अथवा " नरस्य धर्मो नारं ,तत् ददाति " अथवा " नारं जलं पितृभ्यो ददाति "
    ।यस बाहेक देवर्षि नारद वीणा यन्त्रका आविष्कारक मानिएका छन । उनी मुनिपनि भनिन्छन । महाभारतले मुनि शब्दको अर्थ बताउंदै भनेको छ -
मौनान्न स मुनिर्भवति नारण्यावासनान्मुनिः ।
स्वलक्षणं तु यो वेद स मुनिः श्रेष्ठमुच्याते ।।

     मौन बस्दैमा कोही मुनि भनिन सक्दैन ,न वनमै वास गरेर मुनि भनिन सक्दछ , जसले अन्तरात्माले यस जगतको जन्म प्रक्रियाको कारण ,सच्चिनानंद स्वरुप परमात्माको विषयमा जानकारी दिन सक्तछ त्यो मुनि हो ।

नारदको व्यक्तित्व :


     नारद श्रुति ,स्मृति, इतिहाँस , पुराण, व्याकरण, वेदांग, संगीत, खगोल ,भूगोल, ज्योतिष, योग आदि अनेकौं शास्त्रका ज्ञाता थिए । इनी आत्मज्ञानी, नैष्ठिक ब्रह्मचारी, त्रिकाल ज्ञानी, वीणाद्वारा निरंतर प्रभु भक्ति गर्ने प्रचारक, दक्ष, मेधावी, निर्भय, विनयशील, जितेन्द्रिय, सत्यवादी, स्थितप्रज्ञ, तपस्वी, चारै पुरुषार्थका ज्ञाता, परमयोगी, सूर्य समान, त्रिलोकी पर्यटक, वायु समान सबै युग, समाज र लोकमा विचरण गर्ने , आफ्नो मनलाई वशमा राख्न सक्ने नीतिज्ञ , अप्रमादी, आनंदरत, कवि, देव, मनुष्य, राक्षस सबैद्वारा सम्मान पाउने देउता रुपी ऋषित्व प्राप्त देवर्षि हुन ।
     ऋग्वेदको ८ -९ मण्डलको धेरै सूक्तहरुको दृष्टा नारद हुन भनेर उल्लेख गरिएको छ । अथर्ववेद, ऐतरेय ब्राह्मण, मैत्रायणी संहिता आदिमा नारदको प्रसस्त उल्लेख गरिएको छ । देवर्षि नारद व्यास, बाल्मीकि तथा महाज्ञानी शुकदेव आदिका प्रथम गुरु मानिएका छन् । श्रीमद्भागवत, जो भक्ति, ज्ञान एवं वैराग्यको ग्रंथ हो तथा रामायण, जो मर्यादा-पुरुषोत्तम भगवान श्रीरामको पवित्र , आदर्श चरित्रले परिपूर्ण छ , देवर्षि नारदकै कृपाले हामीले देख्न पाएका हौँ । इनले प्रह्लाद, ध्रुव, राजा अम्बरीष आदि महान् भक्तहरुलाई भक्ति मार्गको बाटो देखाएका हुन । यी भागवत धर्मको परम-गूढ़ रहस्य जान्ने - ब्रह्मा, शंकर, सनत्कुमार, महर्षि कपिल, स्वयंभुव मनु आदि १२ आचार्य मध्ये मुख्य मानिन्छन ।
    देवर्षि नारदद्वारा रचित भक्तिसूत्र निकै महत्त्वपूर्ण मानिएको छ । नारदजीलाई आफ्नो विभूति बताउंदै योगेश्वर श्रीकृष्ण श्रीमद् भागवत गीताको दशम अध्यायमा भन्छन - "
अश्वत्थ: सर्ववूक्षाणां देवर्षीणां च नारद: " ।
नारदको उत्पत्ति किन भएको थियो ?

     नारदको चरित्र सनातनी लोकको आदर्श हो । यस संसारको चराचर जगतमा रहेको सर्वव्यापी ईश्वरको सत्तालाई स्वीकार्दै तयार पारिएका पुराण,उपपुराण ,रामायण , इतिहास महाभारत,उपनिषद ,ब्राह्मण ग्रन्थ र लौकिक साहित्य आदि ग्रन्थहरुमा नारदजीको उपदेश ,सिद्धान्त र चरित्र आदि उल्लेख गरिएको छ ।
    भागवत धर्मको सिद्धान्त ग्रन्थहरु नारद पंचरात्र,नारद गीता ,भक्ति सूत्र आदि ग्रन्थमा उनी सर्वव्यापी रुपमा रहेका छन् । उनको नारद संहिता ग्रन्थ ज्योतिष शास्त्रको अग्रणी ग्रन्थ मानिएको छ । यदि प्राचिन ग्रथहरुबाट देवर्षि नारदको ज्ञानोपदेश ,सिद्धान्त तथा कथा झिकिदिने हो भने , ती शास्त्रहरू सारहीन हुन पुग्नेछन ।यसअर्थमा देवर्षि नारद हाम्रो संस्कृत साहित्यका प्राण हुन भन्दा फरक पर्दैन । अर्कोकुरा यी संधै अविद्दा ,अहंकार,ममत्व,आसक्ति रहित देखिएका छन । यी संधै यन्त्रवत कार्य गरेर हिंडेका देखिन्छन ।यिनको कार्य भगवानको पहिचान लिलामय बनाउन भूमिका तयार गरिदिनु र लिलापयोगी उपकरण तयार पार्न सघाउनु रहेको थियो । यी मूक्त पात्र हुन तर इनी आफु कहिल्यै मूक्त हुन सकेनन् ।तसर्थ , इनको भूमिका यो जगतको कल्याणकोलागि संधै लोकविचरण गर्नुमै सीमित हुन पुगेको थियो ।
     अविद्दा ,अहंकार,ममत्व ,आसक्ति रहित यी पात्र जुनसुकै वेला जुन सुकै ठाउँमा यन्त्रवत रहेका देखिन्छन । यिनले गरेको काम लोक कल्याणार्थ भगवानको महिमा वताउंदै वितेको छ । तसर्थ यिनी सबै लोकमा ,सवै युगमा,सबै शास्त्रमा ,सबै समाजमा प्रवेश हुन् पुगेका छन् । गोलोक,वैकुण्ठलोक ,ब्रह्मलोक ,तलवितल,पाताल सर्वत्र उनको गति छ , छरिएको कीर्ति छ । आफ्नो योगवल र मानसिक शक्तिले उनी तुरुन्त चाहेको ठाउँमा पुग्ने गर्दछन ।
     त्यसैकारण विष्णु ,शिव, राक्षस सबैले इनलाई सम्मान ,विश्वाश आदर गरेका छन् । हिरण्य कशिपू ,इन्द्र,कयाधु (हि..कि पत्नी ) सवैले नारादलाई व्यास ,वाल्मीकि ,शुकदेव जस्तै महापुरुषको रुपमा , उपदेश कर्ताको रुपमा हेरेको देखिन्छ ।
    कहिलेकाहीं इनको भूमिका कलह गराउन उत्प्रेरित भएको पाइन्छ , त्यसको एकमात्र उद्देश्य जुनकुराले कसैको कल्याण गर्दैन , त्यो कुराको कलह गराएर विनास गराउनु उनको ध्येय रहेको छ ।
     पत्रकारिता, पाखंडीको पिठ्युमा बर्साईने कोर्रा हो , देवर्षि नारदले ठाउँ ठाउँ घुमेर पाखंड गर्नेलाई खंडखंड तुल्याउने काम गरेका छन् ।लोकमंगल चाहेर उ संग संवाद गरेका छन । रामावतारदेखि कृष्णावतारसम्म देवर्षि नारदले गरेको पत्रकारिता लोकमंगल पत्रकारिता हो र उनको संकल लोकहितको संवाद-संकलन हो ।
    उनले यताउति पुगेर संवाद गरेकै कारण राम र रावण वा कृष्ण र कंशको झगडा हुनपुग्दा लोकको मंगल हुन पुगेको हो । यस अर्थमा देवर्षि नारद दिव्य पत्रकारको रुपमा लोकमंडलका संवाददाता हुन ।
    वैदिक , पौराणिक कथा अनुसार उनी सार्वभौमिक दिव्यदूत हुन । यस पृथ्वीको पहिलो पत्रकार हुन । उनले घुमफिर गर्न सकेकै कारण प्रथम पत्रकारको हैशियत पाएका हुन । ऐतिहासिक ग्रंथहेर्दा उनी तोड़ने होईन जोड़नलाई माहिर थिए । उनले यस सृष्टिको विकासमा बहुआयामिक प्रयाश गरे , र , संवाद गराएर पत्रकारिताको जगहाले । मानवदेखि दैत्य र देउतासम्म उनलाई सबैले विश्वाश गर्दथे । उनले गरेको प्रत्येक कार्य समाजको हितमा थियो । उनको काम रामायण र महाभारत कालमा सकारात्मक रहेको थियो । उनी सर्वव्यापी, सर्वस्वीकृत पत्रकार रहेका थिए । शंका हुँदा भगवान विष्णुसंग परामर्श गर्नु उनको बानी रहेको थियो । उनले आफ्नो निर्णय कसैमाथि थोपेनन ।
     हाम्रो देशमा धर्म औ आध्यात्मको जगमा टेकिएको हाम्रो परम्पराहरु विलक्षण रहेका छन । त्यसकारण पत्रकारितापनि यस देशको प्राचीनतम परम्परामा गनिन पुगेको हो । देवर्षि नारद यस सृष्टिको प्रथम पत्रकार भएकै कारणले मौखिक पत्रकारिताको माध्यमले तत्कालीन परिस्थितिको आकलन र व्याख्या गरेर आफ्नो बाह्य रूपाकृति र आंतरिक. रूपाकृति , तेजस्वी, हंसमुख व्यक्तित्व , हातको वीणा , अर्को हातको खड़ताल ,नारायण नारायणको उच्चारण गरेर नारदले आफ्नो आंतरिक रूपाकृति , परमज्ञाता , दार्शनिक र समस्या समाधानकर्ताको रुपमा उभ्याउन सकेका थिए । उनको बहुआयामिक व्यक्तित्व वेद, पुराण, उपनिषद,महाभारत र श्रीमद भागवदमा देखिन्छ ।
    उनी त्रिकालदर्शी थिए । ज्ञानका असीम भण्डार , निडर र निर्भीक व्यक्तित्व , महर्षि वेदव्यास , वृहस्पति आदिलाई ज्ञान दिन सक्ने हैशियत , अन्धकार हटाई ज्ञान बाडने थिए ।
नारद विश्वसनीयताको आधार :

     कुनैपनि पत्रकार आफ्नो विश्वशनियताले जानिन्छ ।नारदजीले दिएको सूचना विश्वसनीय मानिन्थ्यो ।असुर देउता ,सबैले स्वीकार्थे । रचनात्मक साहित्य सृजन गर्ने देवर्षि नारद- नारद महापुराण,नारद भक्तिसूत्र,नारद संहिता,नारद व्राजकोपनिषद र नारद पंचरात्र आदिका सर्जक मानिएका छन । पत्रकारिताको तीन प्रमुख भूमिकाहरु - सूचना दिने , शिक्षित गर्ने र मनोरंजन गर्ने सबैमा नारद पर्फेक्ट छन् । त्यस अर्थमा देवर्षि नारद आदर्श पत्रकारिता संवाहक हुन ।
     नेपालको बुद्धिजीवी जगतले देवर्षि नारदलाई प्रथम पत्रकार, संवाददाता वा संचारक नमाने पनि पथभ्रष्ट नेपाली पत्रकारिताको लागि नारद आदर्श पुरुष हुन सक्तछन । अहिले नेपाली पत्रकारिता को स्थिति कस्तो छ ? विचार गरौँ । आजपनि नेपालमा केहि त्यस्ता पत्रकारहरु छन, जसका कलम बिकेन ,कहिल्यै झुकेको छैन ,तिनको लेखानी आम नेपालीकोलागि छ तर 'नारद पत्रकार' चाहीं नेपालमा छैनन । एकदम कम छन । तमाम विपरीत परिस्थितिमा प्रभावकारी तरिकाले लोक कल्याणको कुरो गर्नु पत्रकारिताको धर्म हो । निष्पक्षता तिनको गहना हो । नारद देवर्षि त थिए , तर , उनी देउताहरुको पक्षमा संधै रहेनन् । प्राणी मात्रको चिन्तक थिए । देउताहरुले गल्तिगर्दा राक्षसहरुई सतर्क गराउँथे । देवर्षि नारद एक ठाउँमा टिकेर बस्न नसक्ने हुनाले निरंतर भ्रमणमा रहन्थे । सकारात्मक र सृजनात्मक पत्रकारिताको पुरोधा थिए देवर्षि नारद । देवर्षि नारद त्यस्ता पुराण पुरूष हुन जसको पूरा जीवन परानुग्रहकांक्षया भएर वित्यो ।उनी मानव ,दानव र देवका समान रूपले मित्र, मार्गदर्शक व परामर्शदाता रहेका थिए ।
महर्षी नारद - पत्रकारिता र भागवत प्राप्तीको उत्प्रेरणा

     मेरो मतमा , पत्रकारिता, पाखंड ,छलकपट गर्नेकोलागि ज्यादै ठूलो चुनौती हो । देवर्षि नारदले यताउताघुमि तत्कालिन पाखंडहरुलाई निरुतासाहित गरी लोकमंगलको उद्द्येश्य अंगालेर संवाद गरि हिडेको भन्ने बुझ्न सक्नु पर्दछ । शिवलीला देखि विष्णुलीलासम्म र रामावतारदेखि कृष्णावतारसम्म नारदको पत्रकारिता जगत लोकमंगलको उदाहरण हो , लोकहित गर्दै हिड्नु उनको एकमात्र उद्देश्य हो ।
    संवाद संकलन गरी हिड्नु र तत्कालिन लोकलाई घच घच्याउनु , उनको मुख्य काम भएकोले राम -रावण , कृष्ण -कंस युगको अवस्थालाई सजग र भागवत प्राप्तिकोलागि उत्प्रेरणा जगाउने काम उनले गर्न सकेका थिए , भन्न पर्दा नारद दिव्य संवाददाता थिए भनेर आजको दिनमा चिन्न सक्नु पर्दछ ।
नारदको स्वरुप र पुनर्जन्म :

     महाभारत र श्रीमद भागवत पुराणले देवर्षि नारदको बाह्य स्वरुप वीणाधारी ,स्फटिक मायाँधारी ,त्रिपुंड लाउने , शिखा बाँधिएका खडाउ लाउने धौत वस्त्र एवं रुद्राक्ष माला धारण गरी नारायण नाउँ जप्दै द्रिष्टिगोचर हुने गर्दथे । पुराण ग्रन्थले नारदको ४ जन्म भएको बताएको छ । देवर्षि नारदको उत्पत्तिको विवरण दिने ग्रन्थहरुको रुपमा मनुस्मृति ,मत्स्य पुराण ,ब्रह्म वैवर्त पुराण ,भागवत पुराण ,वाराह पुराण ,शिव पुराण आदि रहेका छन् । यी ग्रन्थहरु अनुसार नारदको जन्म सृष्टि कर्ता ब्रह्माको प्राणेन्द्रियबाट उनको मानस पुत्रको रुपमा भएको देखिन्छ ।
     ब्रह्माजीले इनलाई पनि अरु सन्तान सरह सृष्टि विस्तारकै जिम्मा दिएका थिए । तर , नारदले ब्रह्माको त्यो गृहस्थाश्रममा रहने वचन अस्विकार गरिदिएकाले , ब्रह्माजीले तिमी यो जन्मकोलागि तुरुन्त गन्धर्व योनिमा पुगि कामी वृत्तिका गन्धर्वराज चित्ररथको ५० औं छोरीहरुको लोग्ने होउ भनेर श्राप दिए | यसको अर्थ के पनि हो भने उनी गंदर्भ पनि हुन पुगेका थिए |
     ब्रह्मवैवर्त तथाभागवतपुराण अनुसार देवर्षि नारदको उपबर्हण नाउँको गन्धर्वको रुपमा दोश्रो जन्म गन्धमाधन पर्वतमा हुन पुएको थियो , तथा उनी नृत्यकलामा निपूंण हुन पुगेकाकारण संधै कामिनी र अप्सराहरुको घेराउमा बस्न थाले । ग्ग एकचोटी रम्भा नाउँ गरेकी अप्सरा त्यै नारद रुपी उपबर्हण गन्धर्व संग मोहित हुन पुगेकोदेखि ब्रह्माले पुनः शुद्र योनिमा जन्म होस भनेर श्राप दिन पुगे । त्यसपछि ब्रह्मश्रापको कारण नारद कान्यकुब्जीय ब्राह्मण द्रूमिलकी पत्नी कलावती तथा काश्यप नारद नाउँ गरेका ऋषिको सन्तान भई जन्मिन पुगे , त्यतिबेला उनले ५ बर्षकै उमेरमा सन्तको संगत गरी भक्ति मार्गमा हिंडेको कारण भगवान विष्णु प्रसन्न भई उनलाई आफ्नो पार्षद हुने बर दिए । त्यो शरीर वितेपछि नारद पुनः ब्रह्मा पुत्रको रुपमा जन्मीइ पार्षदको शरीर प्राप्त गरि देवर्षि उपाधि प्राप्त गर्न पुगेका थिए ।
शिक्षा र श्राप :

     छान्दोग्यपनिषद ,भागवत पुराण ,व्रह्मवैवर्त पुराण तथा सनकादी ऋषिहरूले नारदलाई शिक्षा दिएको कुरो लेखेको छ ।
     यसवाहेक लिङ्ग पुराण अनुसार गानबन्धु उलुकले नारदलाई गायन विद्दा दिएको कथा छ । व्रह्मवैवर्त पुराण अनुसार शिवजीले देवर्षि नारदलाई शास्त्रको ज्ञान दिएको वर्णन गरेको छ भने लिङ्गपुराण अनुसार भगवान कृष्णले नारदलाई संगीत शास्त्रको शिक्षा दिएका थिए र नारदजीलाई गन्धर्वत्वको पदवी दिने पनि उनै थिए ।
    भागवत पुराण ,ब्रह्म पुराण ,मत्स्य पुराण तथा लिङ्ग पुराण ,वराह पुराण ,शिव पुराणले वर्णन गरे अनुसार दक्ष प्रजापतिका हर्यश्व तथा शब्लाश्व नाउँका दुई छोराहरुलाई गृह्स्थाश्रमबाट च्युत गर्दिएका कारण उनीहरुले नारदलाई श्राप दिनपुगे ।त्यो श्राप पाएपछि देवर्षि नारद सधैं भ्रमण नै गरिरहने हुन पुगे । तर , उनले त्रिलोक भ्रमण गरेर सधैं परोपकार गर्न तल्लिन भएर ईश्वरको प्रचार प्रसार गरे ।
    यसबाहेक देवर्षि नारदलाई कालकन्यालेपनि श्राप दिएकी थिईन ।तत्कालिन समाजमा संवादको सेतु जोड़दै हिड्ने नारदले , आफ्नै बाबु ब्रह्माको श्राप पाएका थिए । इनले जन्मिने वितिक्कै आफ्ना बाबु ब्रह्माजीको काममा बाधा उत्पन्न गरिदिएकाले ब्रह्माजी रुष्ट भएर एक ठाउमा कहिल्यै नबस्नु , संधै घुमीमात्र रहनु भन्ने श्रापदिन पुगेका थिए ।
     यो लोकबाट , त्यो लोकमा पुगेर संधै घुम्नेकाम मात्र गर्नुपरेको कारण र त्यसरी संवाद पुर्याउने कार्यमा तलमाथि पर्दा , उनी नकारात्मक टिप्पणीको मारमा परे ।त्यसकारण हाम्रो समाजले , उनको भूमिका पवित्र भावनाले प्रेरित भएपनि , एक अर्कालाई जुधाउने ,भिडाउने कार्यको द्दोतक बनाउने " फ्रेममा फिट " गरिदिए । उनले कुनै चोरलाई तँ चोरी गर्न जा भनेर कसैलाई सल्लाह दिएको कुनैपनि ग्रन्थमा लेखिएको देखिन्न ।
     उनी भगवान विष्णुका परम भक्त थिए , त्यसकारण जसलाईपनि उनी भगवान विष्णुको नाउँ जप्ने सल्लाह दिन्थे । उनी सहश्र ठाउँमा आफै पुग्थे , जो संगपनि आफै कुरो गर्थे । आफै उपस्थित भएर कुरो पुर्याउनु उनको विशेषता भएको कारण , तत्कालिन समाजलाई सजग गराउने काममा उनी यति जीवन्त हुन पुगेका देखिन्छनकि उनलाई 'टेबल-रिपोर्टिंग' होइन , 'स्पट-रिपोर्टिंग' मै विशेष जोड दिने वजनदार सम्वाददाता भनेर चिह्नाउनुपर्ने हुन्छ ।
नारदजीको बिहे :

     ब्रह्मवैवर्त पुराणको श्री कृष्ण जन्म खण्ड अनुसार नारदजीले उनका मित्र पर्वत मुनिको श्रापको कारण शिविराज सृन्जयकी छोरीसंग बिहे गरेका थिए ।
नारदले पाएका उपाधिहरु :

     देवर्षि ,मुनि , लोकत्तम ,त्रिदिवंगम ,ब्राह्मण ,ब्रह्म पुत्र ,महामुनी ,वाचन शिरोमणि ,महात्मा महातेजस्वी ,लोक्पूजित ,ब्र्ह्मर्षि ,दिव्यदर्शी ,महातपस्वी ,विप्रवर ,कल्मषरहित ,ज्ञानत्रिप्त परमज्ञानी , सर्वगुणसम्पन्न ,वेदवाचविचक्षण , महाभाग ,शिघ्रगामी , द्विजसत्तम ,पुरुष श्रेष्ठ ,द्विजोत्तम ,नारद आदि ।
विभिन्न ग्रन्थ र ऋषि महर्षिले नारद्कालागि खर्चिएका प्रशंसा वचन :

     महाभारतको शान्ति पर्वले गालव मुनिले देवर्षि नारदको ज्ञान देखेर प्रशंसा गर्दै भनेका छन ,यो लोकमा जुन गुणको कारण मान्छे सर्वगुण सम्पन्न हुन्छ त्यो सबै गुण नारदजीमा रहेको थियो , त्यसकारण उनी परम ज्ञानी हुन ।त्यही ग्रन्थमा उनको आन्तरिक गुणको प्रशंसा गर्दै भनिएको छ , उनी वेदका तत्वज्ञ ,देउताहरुद्वारा पूजित , इतिहास र पुराणका विशेषज्ञ ,अतित कल्पका ज्ञाता ,धर्मतत्वज्ञ , शिक्षा र व्याकरणका असाधारण पण्डित ,संगीत विशारद , विरोधी वाक्यका मीमांसा गर्नसक्ने , वाक्य पृथकीकरण गर्न सिपालु , प्रभाशाली व्याख्याता ,स्मृतिवान ,संगीत विशारद ,नीतिशील ,चारै पुरुषार्थका तत्वज्ञ ,भूमंडल प्रत्यक्षदर्शी , मोक्षाधिकारका ज्ञाता , सन्धि र विग्रह गर्ने सिद्धान्तका ज्ञाता , भक्ति मार्गका महान आचार्य मानिएका छन् ।
     रामायणका सनकादि ऋषि गण देवर्षि नारदको प्रशंसा गर्दै भन्दछन - नारद तिमी सबै मुनिहरुमा श्रेष्ठ हौ - " सर्वज्ञोSसि महाप्राज्ञ मुनिशानां च नारद । हरिभक्तिपरो यस्मात्वतो नास्त्यपरोSधिकः ।।" त्यसरी नै महर्षि वाल्मीकि रामायणमा भन्छन - देवर्षि नारद तपस्या र स्वाध्यायमा लागेका श्रेष्ठ विद्वान हुन भन्दै " ॐ तप: स्वाध्याञिरतं तपस्वी वाग्विदांवरम् नारद्ं परिप्रपच्छ वाल्मीकिर्मुनि पुङ्गवम ।। ब्रह्म पुराणले महर्षि नारदको वर्णन गर्दै भनेको छ - पुरुषोत्तम तीर्थको महिमाको बखान र त्यस तीर्थको तुलना देवर्षि नारदसंग गर्दै ब्रह्मदेव भन्छन जसरी देवर्षिमा नारद श्रेष्ठ हुन त्यसरीनै समस्त तीर्थमा पुरुषोत्तम तीर्थ श्रेष्ठ हो - ' देवर्षिणां यथा श्रेष्ठो नारदो मुनिसत्तमा:।तथा समस्त तीर्थानां वरिष्ठम् पुरुषोत्तमम् ।। "
     ब्रह्मवैवर्त पुराणले -यस पुराणको कृष्ण जन्म खण्डमा देवर्षि नारदको ज्ञान प्रतिको जिज्ञाशा देखेर नारायण ऋषि उनको हरिभाक्ति तथा हरिकथा प्रतिको रुचिको प्रशंसा गर्दै भन्छन , हे नारद ! मैले तिमीलाई राम्ररी चिह्नेको छु , तिमी धन्य छौ , मूर्तिमति छौ ,लोकको कल्याण गर्न सर्वत्र घुम्छ्यौ । तिमी जीवन मूक्त र पवित्र छौ । भगवान श्री हरिका भक्त हौ ।आफ्नो चरण धूलोले सबैको कल्याण गर्दै हिडछौ । तिम्रो दर्शन मात्रले यो लोक पवित्र हुन्छ - " मया ज्ञातोSसि धन्यस्त्वं पुण्यराशि सुमूर्तिमान्।।करोषि भ्रमणं लोकांणवितुं कूलपावन्।।जीवंमुक्तोSसि पुतर त्वं शुद्धभक्तो गदाभृत्:।।पुनासि पादरजसा सर्वधारां वसुंधरां|पुनासि लोकांसर्वश्च स्वीयविग्रह दर्शनात् ।। सुमङ्गलां हरिकथां तेन त्वं श्रोतुमिच्छसि।।" त्यै ब्रह्मवैवर्त पुराणमा भगवान श्री कृष्ण आफ्ना बाबु नन्दलाई आफ्नो स्वरुपमा भएको दिव्य विभूति अर्थ्याउँदै भन्दछन ब्र्ह्मर्षिमा मा भृगु हुँ , देवर्षिमा म नारद हुँ ।
     भागवतपुराणमा देवर्षि नारद भक्तहरुको दुख देखेर विरक्तिने नारदको स्वभावको वर्णन गर्दै सनकादि ऋषिहरू भन्दछन - नारद धन्य छन् ,उनी विरक्ताका शिरोमणि हुन , कृष्णका दासहरुका शाश्वत पाठ -प्रदर्शक एव भक्तियोगका भाष्कर हुन - " अहो नारद धन्योसि विरक्ताना शिरोमणि: । सदा श्रीकृष्ण दासानाम ग्रणिर्योगभाष्कर: ।। " वराह्पुराणमा - धर्मराजले नारदको प्रशंसा गर्दै , नारदको दर्शनमा आफ्नो भाग्य सम्झिन्दै भन्छन , नारद त सर्वज्ञ ,सर्वदर्शी ,सबैकुरा जान्ने , गन्धर्व विद्दा एवं इतिहाँसका विद्वान हुन - " सर्वज्ञ: सर्वदर्शी च सर्वधर्म विदाम वर् :।गान्धर्व स्येतिहासस्य विग्याता त्वं महामुने ||" स्कन्द्पुराणमा - देवर्षि नारद सारा विश्वको देउता ,मान्छे ,राक्षस आदि सबैका आदरणिय एवं पूज्यनिय कसरी भए भन्नेकुराको व्याख्या गर्दै भनिएको छ -राजा उग्रसेंनले भगवान कृष्णलाई सोधे - हे वासुदेव !
    नारदको गुणगान गाउँदा मान्छेले दिव्यलोक पाउँदछ , यसबाट यति त प्रष्ट छ कि देवर्षि नारद सद्गुण सम्पन्न छन् , तर मलाई वताउनोस त्यस्ता गुण केके छन् ? त्यतिखेर भगवान कृष्ण भन्दछन - हेर उग्रसेंन , नारदले आफ्नो गुणको कहिल्यै अभिमान गरेनन , उनले सन्तापपनि गरेनन , उनले आर्जन गरेको ज्ञान कहिल्यै कम भएर गएन , उनमा प्रेमहीनता ,क्रोध,चपलता र भय जस्ता दोष कहिल्यै देखिन सकेन , उनी कर्तव्यमा तत्पर र शूरवीर छन् , त्यसकारण उनी सर्वत्र पूजित हुन पुगेका हुन ।
    उनको वाणीमा काम वा क्रोधको कारण कहिल्यै विपरित भाव देखिन्न , त्यसकारण उनी सेवा योग्य रहन सकेका हुन । नारद अध्यात्म शास्त्रको तत्व जान्ने ,क्षमा शील ,शक्तिमान ,जितेंद्रिय ,सरल हृदय र सत्यवादी छन् । तेज,यश ,वुद्धि र ज्ञानमा उनी श्रेष्ठ छन् ।
    उनी सुशील ,सात्विक आदर पाउने र वाहिर भित्रबाट पवित्र रहेका छन ,उनको समदृष्टि रहेको छ , उनी विद्वान र शहनशील छन् , उनी कसैको अपमान गर्दैनन् , उनमा लोभ र लालच कत्तिपनि छैन । उनमा कतै दोष देखिन्न , उनको अन्तः ष्करण निर्विकार छ , उनी वेद ज्ञाता , दयालु ,मोह रहित , प्रशंसा विहिन छन । उनले शास्त्रको निन्दा कहिल्यै गरेनन । तसर्थ सर्वत्र पूजित भएकोले मेरो प्रेम औ श्रद्धा वटुल्न सकेका हुन ।
     वराह पुराणमा राजा निमि देवर्षि नारदको प्रशंसा गर्दै भन्दछन - नारद धर्मग्य, समय चिन्न सक्ने ,कर्तव्यपालनमा निपूण , अग्रगण्य महर्षि ,मुनिहरुमा श्रेष्ठ हुन । नारदजीलाई कुनैपनि प्रश्न , कसैद्वारा सोधिंदा उनले पक्षपात नगरी उत्तर दिएका छन ।त्यस्ता प्रश्न सोध्ने दानव,मानव,राक्षस जो सुकै भएपनि उनले दिने उत्तर पक्षपात रहित हुन्थ्यो । उनले दिने सल्लाह हितकारी हुन्थ्यो । उनको चरित्र दिव्यगुण सम्पन्न थियो ।उनले आफ्नो र पराई छुट्याएनं ।देव,दानव,मान्छे र राक्षस सबैप्रति उनको समभाव रहन्थ्यो ।उनको कारण त्रिलोक नै पवित्र हुन पुगेको थियो ।
नारदले यस लोकलाई छोडेर गएका ग्रन्थहरु :

    

संस्कृत साहित्यमा देवर्षि नारदले उपदिष्ट गरेका ग्रन्थहरु यस प्रकार रहेका छन् -


संगीत शास्त्रका ग्रन्थहरु
- नारदीय शिक्षा ,संगीत मकरंद , पंचमसार संहिता ।
धर्म शास्त्र ग्रन्थहरु -
वृहन्नारदीय ,लाघुनारदीय ,नारद स्मृति ,नारद गीता ।
भक्ति शास्त्रीय ग्रन्थहरु -
नारद भक्ति सूत्र ,नारद पंचरात्र ।
ज्योतिष शास्त्रीय ग्रन्थ -
नारद संहिता ,नारदीय होरा जातक ,नारदीय ज्योतिष ।
पौराणिक ग्रन्थ -
नारद पुराण इत्यादि ग्रन्थ देवर्षि नारद द्वारानै उपदिष्ट ग्रन्थ हो ।
अस्तु !!!
   सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts