
निर्मलमणि अधिकारी ‘आयोदधौम्य’, पीएच.डी. :

‘हिन्दू’ शब्दको परिभाषा दिनु एकातिर अत्यन्त सजिलो छ भने अर्कातिर अत्यन्त अप्ठ्यारो पनि छ । सामान्य व्यवहारलाई हेर्ने हो भने यसको अर्थ सरल छ, अनि यसका अनेक आयामतर्फ जाने हो भने यसको जटिलता पनि उत्तिकै छ । सामान्य व्यवहारको कुरा गर्दा समसामयिक सन्दर्भमा ‘हिन्दू’ शब्द एउटा धर्म–विशेष एवम् सो धर्मका अनुयायीहरूलाई बुझाउने गरी सहजतापूर्वक प्रयुक्त हुँदैआइरहेको छ, जसअनुसार “वैदिक धर्म नै हिन्दू धर्मको मूल आधार हो”। साथै ‘हिन्दू–संस्कृति’, ‘हिन्दू–दर्शन’ तथा ‘हिन्दू–शास्त्र’ जस्ता शब्दावली पनि प्रयुक्त हुने गरेका छन् र ‘हिन्दू–समाज’ तथा ‘हिन्दू–जाति’ भन्ने शब्दावली समेत चलेको देखिन्छ । ‘हिन्दू’ भनेर एउटै छाता–अवधारणामा समेट्ने गरिएको भएतापनि विविधताको दृष्टिले विचार गर्दा यसभित्र हजार भन्दा बढी धार्मिक सम्प्रदायहरू, अनेक मतहरू, पन्थहरू, शाखा–प्रशाखाहरू, मतमतान्तरहरू, अनेक सांस्कृतिक समूह–उपसमूहहरू एवं अनेक जात–जातिहरू देख्न सकिन्छ ।२ यसमा उत्तरोत्तर बढोत्तरी नै हुने अवस्था छ र केही वर्ष यतापनि यसभित्रैबाट नयाँ नयाँ सम्प्रदायहरू जन्मिरहेका देख्न सकिन्छ ।
यस्तो पृष्ठभूमिमा ‘हिन्दू–जाति’, ‘हिन्दू–संस्कृति’, ‘हिन्दू–समाज’ आदिलाई सरल वाक्यमा परिभाषित गर्नु शायदै सम्भव होला । यद्यपि, यति धेरै विविधता भएतापनि, ‘हिन्दू’ शब्द सामान्य व्यवहारमा सहजै प्रयोग भइरहेको छ र त्यसको अर्थ पनि बोध भइरहेकै छ । किनकि “नाना जातिहरूका भएतापनि व्यवस्थाको भूमिमा उनीहरूको समाज एक छ । समस्त जन–समाजमा अनेक जाति तथा उपजातिहरू छन्, किंतु सब कुनै एक (साझा) भावनाले परस्पर बाँधिएका छन्”। अर्थात्, विविधता जतिधेरै परिमाणमा भएतापनि त्यसको मूर्तिकरण हुँदा समष्टिमा एउटा सिङ्गो स्वरूप प्रष्टिएकै छ । छवि–विहीन पक्कै छैन यो ‘हिन्दू’ शब्द ।
प्रारम्भ मै हामी स्पष्ट हुनु पर्दछ कि “हिन्दू संस्कृति युगौंको देन हो, जसमा सयकडौं पुस्ताद्वारा गरिएका परिवर्तन समवेत छन्” । “विश्व मानवले आदिम–अति आदिम अवस्थादेखि मानि ल्याएको वा प्रागतिप्राक–ऐतिहासिक काल देखि मानव समूह–समाजले पालन गरिल्याएका सनातन धर्म ….लाई नै कालान्तरमा कारणवश ‘हिन्दूधर्म’ भनेर चिनाउने काम हुँदै आएको छ” । वास्तवमा “वैदिक कालदेखिको अविच्छिन्न ज्ञान र अनुभूतिको परिपृष्ठमा हिन्दू संस्कृतिले आफूलाई उभ्याएको छ” र “हिन्दू जीवनका समस्त सामाजिक आधारहरू वेदबाटै निःसृत हुन्छन्” ।
‘हिन्दू’ भन्नासाथ वेदसँगको यसको सोझो सम्बन्ध रहेको तथ्यलाई प्रायः सबै विद्वानहरूले स्वीकार गरेका छन्, जुन तल हामीले गर्ने चर्चाका क्रममा लिइने उद्धरणहरूबाट पनि देखिने नै छ । तथापि यो नामाकरण आफैंमा कति प्राचीन हो भन्नेमा चाहिं विवाद कायमै छ । “ हिन्दू–धर्म को एक विशेषता यो छ कि यसको कुनै निजी नाम छैन । प्राचीन शास्त्रहरूमा ‘हिन्दू–धर्म’ नामको उल्लेख देखिँदैन । ‘हिन्दू’ शब्द ‘सिन्धु’ को विकृत रूप हो । सिन्धु नदीको पारिपट्टि बस्ने मानिसहरूलाई पश्चिमका मानिसले ‘हिन्दू’ भन्ने गर्दथे र उनीहरूको धर्मलाई ‘हिन्दू–धर्म’ भन्दथे । प्राचीन शास्त्रहरूमा हिन्दू–धर्मलाई केवल ‘धर्म’ शब्दले मात्र उल्लेख गरिएको छ । यसबाट थाहा लाग्छ कि प्राचीन युगमा हिन्दू–धर्म बाहेक अर्को कुनै धर्म थिएन । कहीँ कहीँ यसै धर्मलाई ‘सनातन धर्म’ पनि भनिन्थ्यो । …. कहीँ कहीँ हिन्दू–धर्मलाई ‘वर्णाश्रम–धर्म’ नामले जनाइएको छ ।”८
एक मत यस्तो छ कि “यो शब्दको प्रयोग सर्वप्रथम पारसवासीहरू ले सिन्धु नदी वा त्यसका सहायक नदीहरू का तटवर्ती इलाका मा बस्नेहरूका निमित्त प्रयोग गरेका थिए । पारसीमा ‘स’ को उच्चारण ‘ह’ ध्वनिमा गर्ने गरिन्छ, जस्तै ‘सप्त’ लाई ‘हप्त’, ‘असुर’ लाई ‘अहुर’, ‘सरस्वती’ लाई ‘हरह्वती’ र ‘सप्तसिन्धु’ लाई ‘हप्तहिन्दू’, आदि । हिन्दू–आदिग्रन्थ वेद मा सिन्धु नदी र यसका सहायक नदीहरू झेलम, रावी, चेनाव, व्यास, दृषद्वती र सरस्वती नदीहरू को उल्लेख भए बाट प्राचीन हिन्दूहरू यसै क्षेत्रका बासिन्दा भएको प्रमाणित हुन्छ । त्यसैले सिन्धु शब्दबाटै पारसीहरूको कारणले ‘हिन्दू’ शब्द विकसित हुन पुगेको तथा प्राचीन समयमा उपरोक्त सिन्धु र त्यसका सहायक नदीहरूको तटवर्ती इलाकाका सम्पूर्ण बासिन्दाहरूलाई बुझाउन ‘हिन्दू’ शब्द प्रयोग भएको देखिन्छ”। साथै “पन्ध्रौं शताब्दीसम्म पनि ‘हिन्दू’ को अर्थ ‘भारतीय’ सम्झिइन्थ्यो तथा भारतमा स्थायीरूपले बसोबास गर्ने विदेशी पनि आफूलाई ‘हिन्दू’ नै भन्न थाल्दथे र यहीँका जातिमा मिलेर एक हुन्थे ।” भन्ने तथ्य पनि यहाँ उल्लेख्य छ ।
“‘हिन्दू’ शब्द वैदिक उत्पत्तिको शब्द हैन । जुन धर्मको मूल ‘वेद’ हो, परन्तु एउटा अवैदिक शब्द त्यसको सर्वप्रचलित परिचय बनेको छ —यो कम रमाइलो कुरो छैन” भन्ने धारणा एकातिर पाइन्छ भने अर्कोतिर यो शब्द अवैदिक भएतापनि गैर–संस्कृत चाहिँ होइन भन्ने तर्क गर्ने विद्वानहरू पनि छन् । बृहस्पति–आगम नामक ग्रन्थलाई उद्धृत गर्दै हिमालय पर्वतको ‘हि’ र इन्दुसरोवरको ‘न्दु’ मिलेर ‘हि+न्दु = हिन्दु’ भएको भन्ने गरिएको पनि पाइन्छ । भौगोलिक आधारमा हिन्दूत्वलाई अर्थ्याउन खोजिएन जस्तै जन्मना हिन्दू हुने पक्षलाई जोड दिने विद्वानहरू पनि नभएका होइनन् । यस मतानुसार “वेदादि शास्त्रहरू तथा शिष्टानुमोदित परम्परागत आचार–विचारवाला समाजमा उत्पन्न, तादृश वेदादि शास्त्रहरू को प्रामाण्ड मान्नेवाला, तिनमा विश्वास राखेर तदनुकूल व्यवहार गर्नेवाला व्यक्ति नै हिन्दू हो र उसको सोही आचार–विचार नै हिन्दूसंस्कृति हो” भनिएको पाइन्छ ।
“अहिले पुराण कथा श्रवण गर्ने, पूजा यज्ञ अनुष्ठान इत्यादि गर्ने वर्गलाई हिन्दू भन्छन् । …. सिन्धुले भेटेसम्मका भारतभूमि मा बसोबास गर्नेहरू सबै हिन्दू भनिएको भएतापनि यसलाई मान्न मिल्दैन । किनकि ती क्षेत्रहरूमा वेद नमान्ने पनि हुन सक्छन् र वेद नमान्नेलाई कसरी हिन्दू मान्न सकिन्छ ।” हिजो भारतवर्षका निवासी सबैलाई हिन्दू भनिने भएतापनि अहिले त्यसो भन्न मिल्दैन भन्ने तर्कमा सहमत हुन सकिने ठाउँ कहाँनेर छ भने भाषा वैज्ञानिकहरू ले पनि प्रमाणित गरिसकेका छन् कि “शब्दको पनि युग बदलिन्छ” । अनि “कालान्तरमा एउटै शब्दको अर्थ पनि या त विस्तृत हुने, या सङ्कुचित हुने र कहिलेकाहिँ ठ्याक्कै उल्टो अर्थ दिने गरी परिवर्तन समेत हुनसक्छ ।” हिन्दू शब्दको सन्दर्भमा हामी अर्थविस्तृति र अर्थसङ्कुचन दुवै कुरा सँगसँगै भएको देख्छौं । अचेल यस शब्दले भारतवर्ष निवासी सबैलाई समेट्दैन र भारतवर्षमा ठूलो संख्यामा गैर–हिन्दूको पनि बसोबास भएकाले यसरी ‘हिन्दू’ को अर्थसङ्कुचन भएको छ ।
तर भारतवर्षमा बहुमत जनसंख्या ‘हिन्दू’कै छ भने यस भूमि भन्दा बाहिर पनि संसारका प्रायः जसो भूभागमा समेत ‘हिन्दू’ हरू फैलिएका हुनाले अर्थविस्तृति पनि भएको छ । अनि जन्मना अरु ‘धर्म’ का भएतापनि पछि हिन्दू धर्मलाई अङ्गीकार गर्नेहरूको पनि पछिल्ला वर्षहरूमा उल्लेख्य वृद्धि भएको छ ।
यसरी भौगोलिक आधारमा वा जन्मको दृष्टिले मात्र कोही हिन्दू हुने वा नहुने भन्ने कुरा वर्तमान सन्दर्भमा व्यावहारिक ठहर्दैन; बरु धार्मिक एवम् सांस्कृतिक आधारमा हिन्दूत्वको परिभाषा हुनु पर्दछ । तर ऐतिहासिक कालमा आर्य–पहिचान, भारतवर्ष को भौगोलिकता, वेद तथा वैदिक परम्पराका शास्त्र, संस्कृत भाषा, आदिसँग को हिन्दूत्वको अभेदता लाई पनि हामीले बिर्सन मिल्दैन ।
आधुनिक सन्दर्भमा कसलाई हिन्दू मान्ने भन्ने बारेमा महात्मा विनोबा भावेको मत यहाँनेर उल्लेख्य छ—
यो वर्णाश्रम निष्ठावान् गोभक्त श्रुतिमातृकः ।
मूर्तिं च नावजानाति सर्वधर्म समादर ः ।।
उत्प्रेक्षते पुनर्जन्म तस्मात्मोक्षणमीहते ।
भूतानुकूल्यं भजते स वै हिन्दुरिति स्मृतः ।।
हिंसया दूयते चित्तं तेन हिन्दुरितीरितः ।। अर्थात्—
जो वर्णाश्रम व्यवस्थामा आस्था राख्दछ, गाईको पूजा गर्दछ,
आमालाई झैं श्रुति–स्मृतिलाई प्रेम गर्दछ,
विश्वमा प्रचलित विभिन्न धार्मिक भावनाप्रति जो आदर–सम्मान गर्दछ,
देवमूर्तिको जो अवज्ञा गर्दैन,
पुनर्जन्ममा जसको आस्था रहन्छ
र सदासर्वदा जन्म–मृत्युको चक्करबाट मुक्त हुन खोज्दछ (मोक्षको प्रयत्न गर्ने),
जो सदा सम्पूर्ण जीवमात्रको हितकारी भई अनुकूलमा रहन चाहन्छ,
जसको चित्त हिंसा (परपीडा, मारकाट) बाट सदा दुःखी हुन्छ,
त्यसलाई हिन्दू भनेर चिन्नु पर्दछ ।
‘हिन्दू’का अन्य केही परिभाषाहरू हेरौं ।
“रामकोषमा भनिएको छ :-
हिन्दूर्दुष्टनृहा प्रोक्तोऽनार्यनीतिविदूषकः ।
सद्धर्मपालको विद्वान श्रौतधर्म परायणः ।।
अर्थात्— दुष्ट नरलाई दण्ड दिनेवाला,
अनार्य नीतिको विरोधी, सद्धर्मपालक,
विद्वान र श्रुतिद्वारा निर्देशित धर्मको अनुयायी व्यक्ति नै ‘हिन्दू’ हो ।
अद्भुतरूपकोष अनुसार :-
हिन्दूर्हिन्दुश्च पुसिं द्वौ दुष्टानाम् च विघर्षणे । अर्थात्— ‘हिन्दू’ र ‘हिन्दु’ दुबै शब्द दुष्टहरूको विनाश गर्ने वाचक हुन् र यी दुबै पुलिङ्गमा छन् ।
हेमन्तकविकोष अनुसार :-
हिन्दूर्हि नारायणादिदेवताभक्तः ।
अर्थात्— हिन्दू त्यसलाई भन्दछन् जो नारायण आदि देवताहरूको भक्त छ ।
वृद्धस्मृति नामक ग्रन्थ अनुसार :-
हिंसया दूयते यश्च सदाचरण तत्परः ।
वेदगोप्रतिमासेवी स हिन्दुमुख शब्द भाक् ।।
अर्थात्— हिंसाबाट जो दुःखी हुन्छ, जो सदाचार मा तत्पर छ, वेद, गोवंश र मूर्ति पूजा गर्दछ, त्यो ‘हिन्दू’ शब्द को वाच्य हुन्छ ।
प्रसिद्ध जैन आचार्य श्री तुलसी का अनुसार वैदिक, जैन र बौद्ध आदि सत्यशोध का धाराहरू भएको र ‘हिन्दू’ शब्द ती सबैको संग्राहक भएको उल्लेखयोग्य छ ।
त्यस्तै वीर सावरकरका अनुसार पूर्वी समुद्र देखि पश्चिमी समुद्र पर्यन्त भारतवर्ष भूमि का लाई पितृभू र पुण्यभूमि मान्नेवाला व्यक्ति ‘हिन्दू’ हो ।
सावरकरका अनुसार ‘हिन्दू’ नाम त ‘आर्य’ नाम भन्दा पनि प्राचीन हो …. ।
भारतमा सनातनी, आर्यसमाजी, बौद्ध, जैन र सिख पाँचै पक्षका विद्वानहरूद्वारा स्वीकृत परिभाषा निम्नानुसार छ ।
ओंकारमूलमन्त्राढ्यः पुनर्जन्मदृढाशयः ।
गोभक्तो भारत–गुरुर्हिन्दु हिंसन दूषतः ।।
(अर्थात्— ‘ॐ’ मूलमन्त्र मान्ने, पुनर्जन्ममा विश्वासी, गाईलाई पूज्य मान्ने, भारतवर्ष जसको गुरुघर छ र हिंसालाई निन्द्य मान्ने, यस्तो व्यक्ति नै हिन्दू भनिन योग्य छ ।
नेपालमा … वैदिक (सनातनी), बौद्ध, जैन, सिख चारैपक्षका विद्वानहरू, प्रतिनिधिहरूद्वारा सर्वसम्मतिले पारित प्रस्तावना अनुसार ओम्कारप्रति श्रद्धा र आस्था भएका, गोवंशप्रति अबध्यभाव, पुनर्जन्ममा विश्वास तथा अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य एवम् अपरिग्रह, यी धार्मिक, आध्यात्मिक एवम् नैतिक सदाचारमा आस्था भएकालाई ‘हिन्दू’ मानिएको छ ।”१८
जुन धर्म–विशेषलाई हिन्दू भन्ने गरिएको छ, त्यसैलाई बुझाउने वैदिक, सनातन तथा आर्य जस्ता शब्दहरू पनि छँदैछन् । शब्द फरक भएपनि यिनको निहीतार्थमा विभेद छैन । “सम्पूर्ण वैदिक शिक्षालाई नै सनातन धर्म भनिन्छ । … सनातन धर्मलाई हिन्दू धर्म भन्न थालियो ।”१९ कतिपय विद्वानले ‘भारतीय’ वा ‘भारतवर्षीय’ भनेर पनि सोही धर्म÷संस्कृति÷शास्त्रलाई जनाउने गरेका छन् । यस शोध प्रयोजनकालागि हिन्दू, वैदिक, सनातन तथा आर्य शब्दहरूलाई समानार्थी मानिएको छ । किनभने “…… जब ‘धर्म’ मात्रै भनेर नपुग्ने भयो, धर्मका नाममा भाग–विभाग भयो, त्यसबेला अनादिकालदेखि चल्दै आएको मूल–धर्मलाई ‘सनातनधर्म’ भनियो ।
वास्तवमा ‘सनातन’ शब्दले त्यस ‘धर्म’को शाश्वत् अस्तित्वलाई बुझाउन खोजिएको प्रतीत हुन्छ । वेदद्वारा प्रतिष्ठित भएकाले त्यसलाई ‘वैदिकधर्म’ भनियो र यसका दर्शनमा आर्यत्वको आग्रह देखेर ‘आर्यधर्म’ भन्दा पनि यसैलाई बुझियो ।
‘हिन्दु’ वा ‘हिन्दू’ शब्द यति घुलमिल भइसकेको छकि हामीलाई यो शब्द वैदिक उत्पत्तिको हैन जस्तो कत्ति पनि लाग्दैन । शब्दकै अर्थ केलाउने होभने ‘हिन्दू’ शब्दमा भन्दा ‘वैदिक’ अथवा ‘आर्य’ अथवा ‘सनातन’ शब्दमा हामीले अपनत्व पाऔंला, परन्तु हाम्रो परिचय ‘हिन्दू’का रूपमा सुविख्यात छ र यसर्थ ‘हिन्दू’ हाम्रो नाम भएको छ । आज ‘हिन्दू’ शब्दले हाम्रो धर्मको वैदिक उत्पत्ति, आर्य प्रवृत्ति र सनातन उपस्थितिको एकसाथ प्रतिनिधित्व गर्दछ ।”२०
यहाँसम्म गरिएको चर्चा पश्चात् अब यस शोध प्रयोजनको निमित्त ‘हिन्दू’ शब्दलाई कुन अर्थमा लिइएको भन्ने स्पष्ट उल्लेख गर्नु उपयुक्त हुनेछ । यस शोध प्रयोजनको निमित्त निम्नानुसारका तत्वहरूलाई हिन्दूत्वको आधार मानिएको छ—
— मूलमन्त्र ‘ॐ’
— वेद वा/तथा वैदिक परम्पराका मत वा शास्त्रमा आस्था
— निराकार वा÷तथा साकार परम्सत्तामा अखण्ड विश्वास
— मूर्त वा अमूर्तको पूजा वा ध्यान
— कर्म अनुसारको फल मिल्दछ भन्नेमा
विश्वास — ‘आत्मा’ तथा ‘पुनर्जन्म’मा विश्वास
— मानवजीवनको परम्लक्ष्यका रूपमा ‘मोक्ष’
सनातन नेपाल जागरण ®
No comments:
Post a Comment