
प्रवीण अधिकारी:

त्यसकारणले यो विषयवस्तु अझै आलोचनाको मसला बन्दैछ । नेपालमा पाश्चात्य संस्कृतिको बढ़दो प्रभाव र भाषागत समस्याको कारण आफ्नै ग्रन्थको राम्रो जानकारी राख्न नसकेका हामी नेपालीले ती धूर्तहरुको कुत्सित चाल र मिलावट गरिएको श्लोकहरुको कारण हिन्दू धर्मको दुष्प्रचार गरेको हेरेर बस्न बाध्य हुनुपरेको छ भने बुझ्नेले पनि नेपालको वर्तमान राजनीतिको कारण वैदिक संस्कृतिको सबैभन्दा विवादित पुस्तक भनेर दोहोलो काढिरहेको देखिन्छ ।
भाषागत समस्याको कारण आफ्नै ग्रन्थको राम्रो जानकारी राख्न नसकेका हामी नेपालीले ती धूर्तहरुको कुत्सित चाल र मिलावट गरिएको श्लोकहरुको कारण हिन्दू धर्मको दुष्प्रचार गरेको हेरेर बस्न बाध्य हुनुपरेको छ
अहिले नेपालको कथित "दलित आन्दोलन” मनुवाद भनेर विरोधमा उभिएको छ , जबकि आजभन्दा लगभग १४० वर्ष अघिदेखि थुप्रै विद्वानहरुले प्रामाणिकता राखेर मनुस्मृतिको यो यो श्लोक प्रक्षिप्त हो भनेर देखाउंदै आएका छन , किनभने महर्षि मनुले मनुस्मृति ग्रन्थ यस सृष्टिको प्रथम संविधानको रुपमा लेखेका हुन । यो ग्रन्थ त्यसवेला लेखिएको हो जुनबेला जन्म अनुसारको जाति व्यवस्थको प्रचलन थिएन । महर्षि मनुले जातिवादको समर्थन कतै गरेका छैनन् , उनले गुण,कर्म,स्वभावमा आधारित समाज व्यवस्थाको संरचना परिकल्पना गरेका छन ।
‘मनुस्मृति’, ‘मनुसंहिता’, ‘मानवधर्म शास्त्र’, मानवशास्त्र’ आदि थुप्रै नाउँले चिह्निने यो ग्रन्थ सबभन्दा बढी चर्चित धर्मशास्त्र हो । यो ग्रन्थको रचना जहिले भयो , तहिलेदेखि प्रामाणिक, सर्वमान्य र लोकप्रिय भएर रह्यो । आजपनि यसको वर्चस्व रहेको छ । यो विधि-विधानात्मक शास्त्र भएको कारण वर्णाश्रम धर्मको रुपमा व्यक्ति एवं समाजको लागि हितकारी धर्म, नैतिक कर्तव्य, मर्यादा, आचरणको वर्णन गरेर एउटा अशल समाज परिकल्पना गर्न चाहिने क़ानून ,आध्यात्मिक उपदेश , भौतिक एवं आध्यात्मिक शिक्षा, समाजकोलागि धर्मशास्त्र ,आचारशास्त्र , सामाजिक व्यवस्था तन्दुरुस्त राख्ने ‘संविधानको रुपमा रहन पुगेको हो ।
यसको प्राचीनता भित्र वेदानुकुलता उल्लेखनीय रुपमा रहन पुगेको कारण यो ग्रन्थ प्राचीन भएपनि निकै मान्य र श्रद्ध्येय हुनपुगेको हो
। यो ग्रन्थको दृढ मान्यता :
“वेदोंऽखिलो धर्ममूलम”
अर्थात :
वेदनै यो विश्वको धर्मको मूल आधार हो भन्ने रहेको छ । यहीकुरो बुझेर हाम्रा मन्त्र द्रष्टा ऋषिहरुले वेदांग, ब्राह्मण, दर्शन, धर्मशास्त्र आदि ग्रंथहरुको रचना गरेका थिए । उनीहरुको एक मात्र ध्येय सम्पूर्ण मानवजातिले आवश्यक ज्ञान पाई मानव जातिको चरम लक्ष्य मोक्ष प्राप्त गर्न सकुन ।
मनुस्मृतिले वर्णाश्रम धर्मकोलागि , व्यक्ति एवं समाजको लागि आवश्यक पर्ने धर्म ,कर्तव्य, विधानादिको वर्णन वेदलाई आधार मानेर गरिदिएको हुँदा , धर्म जिज्ञासामा वेदलाईनै परम प्रमाण मान्दै भने –
“धर्मं जिज्ञासमानानां प्रमाणं परमं श्रुतिः (मनु. २|१३ )
मनुको वेद प्रति अगाध श्रद्धा भएकै कारण उनले वेदलाई अपौरुषेय भनेका छन ।उनको दृष्टिमा मानिसलाई चाहिने ज्ञानको मूल श्रोत वेद भएकोले ,वेदलाई परम प्रमाण मानिएको हो । यसलाई कुतर्क अघि सारेर विरोध गर्नेलाई उनले नास्तिक’ भनेर चिह्नाएका छन ।
ते सर्वार्थेष्वमीमांस्ये ताभ्यां धर्मो हि निर्बभौ॥
योऽवमन्येत ते मूले हेतुशास्त्राश्रयाद् द्विज:। सं साधुभिर्बहिष्कार्यो नास्तिको वेदनिन्दक:॥
हाम्रा पौराणिक ग्रन्थमा मनुस्मृतिको प्रभाव र महत्त्व :
निश्चित रुपमा भन्नु पर्ने हुन्छ नेपालमा मनुस्मृतिको प्रभाव ,महत्त्व र अस्तित्व वैदिककालदेखि रहँदै आएको छ । यसको पुष्टि गर्नुपर्दा सनातनीको विभिन्न संहिताग्रंथ, ब्राह्मणग्रंथहरुमा एक रुपले पाईने निम्न वाक्यहरु हेर्दा बुझिन्छ –
“मनुवें........... भैषजम”
अर्थात :-
मनुले जे भने त्यो सम्पूर्ण वाक्य मानव जातिको औषधि हो । ब्राह्मणग्रंथहरुले मनुको यो वचन उल्लेख मनुस्मृतिलाई प्रामाणिक ग्रन्थ भनिदिएको छ । निरुक्तशास्त्रमा महर्षि यास्क ले दायभागमा छोरा र छोरीको सामान अधिकारको कुरोगर्दा मनुस्मृतिकै ९|१३०, १९२, २१२ श्लोकहरुलाई प्रमाणको रुपमा उल्लेख गरिदिएका छन । वाल्मीकि रामायणमा , बालि र सुग्रीवको युद्ध हुँदा रामद्वारा बालि घायल भएपछि बालीले रामको यो काम अनुचित एवं धर्मानुकुल भएन भन्दा भगवान रामले मनुस्मृतिकै वचन उद्धृत गरि त्यसलाई धर्मानुकूल भएको बताएका छन । यी सब कुराले मनुस्मृतिले धर्मनिश्चय कार्यमा निकै ठूलो प्रसिद्धि ,प्रमाणिकता , मान्यता र महत्व पाएको कुरो बुझ्न सकिन्छ । महर्षि व्यासले महाभारत ग्रन्थमा मनुको वचन अकाट्य प्रमाणको रुपमा उद्धृत गरेका छन ।
पुराणं मानवो धर्मः साङ्गो वेदश्चिकित्सितम् । ।
आज्ञासिद्धानि चत्वारि, न हन्तव्यानि हेतुभिः ।। || (महाभारत ,अनुशाशन पर्व अ. ९२ )
अर्थात –
निर्णयकर्ताले पुराण ,ब्राह्मण ग्रन्थ र मनुद्वारा प्रतिपादित धर्म विचार गरेर निर्णय लेउ ,यसलाई कुतर्क गरेर खंडन नगर ।
त्यस्तै देवगुरु बृहस्पतिले मनुस्मृतिलाई सर्वोच्च स्मृति ग्रन्थ भनिदिएका छन । प्रसिद्ध बौद्ध महाकवि अश्वघोष , जो राजा कनिष्कका समकालीन थिए ,उनको समय प्रथम शताब्दी हो भन्ने गरिएको छ ,ले आफ्नो ग्रन्थ “वज्रकोपनिषद” मा आफ्नो कुरो समर्थन गराउन मनुकै श्लोकहरुलाई उल्लेख गरेका छन । विश्वरूपले यजुर्वेदभाष्य र याज्ञवल्क्य स्मृति भाष्य तयार गर्दा मनुस्मृतिकै श्लोक उद्धृत गरेका छन । आदि शंकराचार्यले आफ्नो वेदान्तसूत्र भाष्यमा मनुस्मृतिकै उदाहरण दिएका छन । जैमिनी सूत्रका भाष्यकार शबरस्वामीले आफ्नो भाष्यमा मनुस्मृतिका थुप्रै वचन पैंचो लिएका छन । याज्ञवल्क्य स्मृतिको भाष्यकार विज्ञानेश्वरले याज्ञ. स्मृतिको श्लोकको पुष्टि गर्न मनुस्मृति लाई नै आधार बनाएका छन । गौतम, वशिष्ठ, आपस्तम्ब, जैमिनी, औधायन आदि सूत्रग्रंथले मनुस्म्रितिलाई आदर साथ् उल्लेख गरेको छ ।
आचार्य कौटिल्यले आफ्नो अर्थशास्त्रमा मनुस्मृतिलाई नै आधार बनाएका छन । प्राचीनकालदेखि अहिलेसम्म मनुस्मृति अनुकूलको आचरण मानवजातिको प्रतिष्ठाको सूचक हुन पुगेको छ ।
मनु र नेपाल :
महर्षि मनु यस विश्वकै प्रथम राजा ,यस आर्यावर्तका प्रथम राजा , यस सृष्टिको पहिलो राजा ,यस आर्यावर्तका त्यस्ता मनीषी जसले 'मनुस्मृति' रचना गरेर यस संसारमा एउटा आदर्श स्थापित गर्ने पहिलो प्रयास गरे । उनले राजा पनि आफुले गरेका अपराधबाट नजोगिउन भनेर न्याय क्षेत्रलाई न्यायसंगत र धर्मसंगत बनाउने कोशिश गरे । यसवाहेक , कुनैपनि व्यक्तिले सामाजिक, आर्थिक एवं राजनीतिक न्याय प्राप्त गर्न वंचित नहोस भन्ने सुभेक्षा समेत राखे ।
उहिले यस आर्यावर्तको संस्कृति जातिवादी व्यवस्था विरोधी थियो ।
महर्षि मनु त्यस्तो पहिलो व्यक्ति हुन जसले यो संसारलाई एउटा व्यवस्थित, नियमबध्द, नैतिक एवं आदर्श मानवीय जीवन जिउने पध्दति सिकाए ।
यस क्षेत्रले मानव मात्रलाई एउटा जाति मान्दथ्यो । यहाँका मानव जाति 'एक' ढिक्का बनुन भनेर मनुस्मृतिले संस्कारित गर्न बल गरेको थियो । मनुस्मृतिले यसलाई प्राणसूत्र मान्दै 'जन्मना जायते शूद्र: संस्कारात्द्विज उच्यते' भनेर स्थापित गरिदिएको थियो । मनुले यस्तो सार्वभौम सत्य घोषणा गर्दै " जन्मले प्रत्येक व्यक्ति शूद्र हुन्छन , संस्कार, संसर्ग र विद्वानहरुको संपर्क पाउँदा मात्र ती द्विज हुन पुग्दछन " भनेर उद्घोष गरेको थियो ।
आजको विश्वमा जहां-जहां संस्कारित मान्छे र संस्कारित मानव समाज बस्ने गरेको छ , त्यहाँ त्यहाँ मान्छे अनपढ़ वा अशिक्षित भएपनि सभ्य भएर बाँच्न सिकेको देख्न सकिन्छ ।
नेपालमा आजको गणतान्त्रिक शासन व्यवस्था ईशाइकरणमा दीक्षित भएको कारणले गर्दा तिनले हामी नेपालीहरुको मनमा योजनाबद्ध रुपमा विरोधी संस्कार भरिदिने प्रयाश गरेका छन् जसले गर्दा , हाम्रो सनातनी आस्था भंग हुनापुगी परम्परागत नेपाली अस्मिता, गरिमा र महिमा चकनाचूर हुन पुगेको देखिन्छ । फुटाउ र राज्य गर र मेकालेद्वारा प्रवर्तित शिक्षानीति लागु गर्दै लगिएकोले नेपालीहरुको मन मस्तिष्कमा प्राचीन समाजव्यवस्थापक, आदि विधिनिर्माता महर्षि मनु र उनको विधानशास्त्र मनुस्मृति निंदात्मक आलोचनाको केन्द्र बन्न पुगेको छ । आजका नेपालीले अंग्रेजी परम्परामा लेखिएका मनुको आलोचना र पढ्दै नपढेको ज्ञानको आधारमा महर्षि मनु र मनुस्मृतिको विरोध व्यापक गर्दा आजको दिनमा मनुस्मृति राजनीतिक दलहरुको चुनाउ जित्ने मुद्दा बन्न पुगेको छ । ‘मनुवाद’ जस्तो नयाँ शब्दको नेपालमा आविष्कार भएको छ ।
नेपालमा मनुस्मृतिको विरोध गर्ने राष्ट्रपति हुन कि प्रधानमंत्री , तिनले मनुस्मृति पढेका हुँदैनन् , अनुहार पनि देखेका हुँदैनन् , तिनीहरु संग मनु र मनुस्मृतिको सामान्य ज्ञान पनि हुँदैन ,तर , तिनको नजरमा प्रत्येक शूद्र-विरोधी मनुकै कारण भएको ठानिन्छ , तर वास्तविकता हेर्दा महर्षि मनुको व्यक्तित्व र कृतित्व निंदा र विरोधको होईन , उनी यस भूमिका गर्व र गौरव गर्ने व्यक्तित्व हुन ।
महर्षि मनु त्यस्तो पहिलो व्यक्ति हुन जसले यो संसारलाई एउटा व्यवस्थित, नियमबध्द, नैतिक एवं आदर्श मानवीय जीवन जिउने पध्दति सिकाए । यिनी मानव जातिका आदि पुरुष , आदि धर्मशास्त्रकार, आदि विधिप्रणेता, आदि विधिदाता , आदि समाज र राजनीति व्यवस्थापक र आदि राजर्षि रहेका थिए ।
सनातन नेपाल जागरण ®
No comments:
Post a Comment