
वल्लभ चैतन्य दास :

श्रीकृष्णको अनन्तकोटी ब्रम्हाण्डहरूमा प्रत्येकमा कोही चारमुखी, कोही हजारमुखी, कोही लाख मुखी ब्रम्हाजीहरू आ-आफ्नो चित(ज्ञानशक्ति) अनुसारका हुन्छन। जसरी समुंद्रबाट पानी उभाउने भाडोको जति आयतन हुंछ त्यति नै मात्र उभाउन सकिंछ, त्यसैगरी अथाहा ज्ञानका सागर श्रीकृष्ण नारायणबाट प्रत्येक ब्रम्हाजीलाई ज्ञान(वेद) दिइयो। मानौ समुंद्ररूपी ज्ञानबाट लाखमुखे ब्रम्हाजीलाई एक ड्रम, हज़ारमुखेलाई एक गाग्री वा हाम्रा ब्रम्हाण्डका चारमुखे ब्रम्हाजीलाई एक गिलास। "तेने ब्रम्ह हृदा य आदिकवये" -भागवत १-१-१। अनि हाम्रो ब्रम्हाजीले अथाहा ज्ञानको सागरबाट पाएको एक गिलास वेदरूपी ज्ञानबाट एक कचौरा प्रजापतिलाई अनि त्यसपछि प्रजापतिबाट देवतालाई हुदै एक चम्चा जति ज्ञान मनुष्यलाई अनि त्यो एक चम्चाबाट पनि कलियुगका मनुष्यको कम बुद्धिका कारण भगवान श्रीकृष्णकै अभेषा अवतार वेदब्यासले एक थोपा ज्ञान कलियुगीका लागि उपलब्ध गराए। यही उपमा(गागरो, गिलास पानी) वेदरूपी ज्ञानको हस्तान्तरण प्रक्रिया बुझ्न उपयुक्त छ।
तर त्यति जाबो एक थोपा ज्ञान बुझ्ने पनि कलियुगि मनुष्यमा क्षमता छैन "वेद अस्य च ईश्वर आत्मवात तद मुह्यंती सूरय:"-भागवत ११-३-४३ अर्थात "वेद त ईश्वरको भाषा हो, सुरवीर मोहीत हुंछन"। वेद बुझ्न ज्ञानी हुनु पर्छ। ज्ञानी भनेको आजकालको बुझाई झै PHD, Doctor, Engineer हैन। भागवात गीता १३-८,१३-९,१३-१०,१३-११,१३-१२ मा ज्ञानीको परिभाषा दिइएको छ अर्थात मान-अपमानमा सम भएको, दम्भ नभएको, अहिंसा पालन गरेको, क्षमा, सरलता, आफुलाई अज्ञानीको बोध गरी गुरुको शरणमा परेका, इन्द्रिय दमन गरेका, पूत्र-श्रीमती-घर आदिदेखि अनाशक्त भएका आदि आदि लाई ज्ञानी भनिंछ। यस्ता ज्ञानीहरूको यस कलियुगमा अवश्य पनि अभाव छ, भएका केहीको पनि स्मरण शक्ति कमजोर भएकोले ती केही ज्ञानीलाई मात्र लक्षित गरी वेदव्यासले ५४५ सूत्र भएको वेदान्त सूत्र बनाईदिए ताकी ती केही ज्ञानी वेदान्त सूत्रका सूत्रहरूको माध्यमले उपलब्ध वेद कंठस्थ गर्न सकुन।
अब बाक़ी रहेका अज्ञानीलाई कसरी बुझाउने त? जसरी हामी साना-साना बालकलाई कथा सुनाएर पाठ पढ़ाउँछौ त्यसैगरी वेदव्यासले बाक़ी रहेका अज्ञानीहरू(याद राखौ भागवात गीता १३-८,१३९,१३-१०,१३-११,१३-१२को लक्षण भएकालाई मात्र ज्ञानी भनिंछ)लाई लक्षित गरी असंख्यलोकहरूमा अनादि कल्पमा भएका घटनाहरूको उदाहरण दिदै वेदको व्याख्या(भाष्य) गरीदिए, जसलाई पुराण भनेर भनिंछ। वेद श्रीकृष्णद्वारा प्रतिपादित नियम हो भने पुराण त्यो नियममा खेलाड़ीहरूले खेलेको चर्तिकला हो। चर्तिकलाको अध्ययन गराइ अज्ञानीहरूलाई पनि वेद बुझाउने नै पुराणको मात्र लक्ष्य हो।
पुराण भनेको नामै अनुसार "पुरानो"। पुराणलाई शास्त्रले पंचम वेद पनि भनेको छ अर्थात पुराणादि कथा ऋग, साम, यजुर अनि अथर्व पछिको पाचौ वेद हो। पुराण भनेको पुरानो/प्राचीन हो अर्थात प्राचीनकालबाट प्रवाहमान भएर पनि नया रहनेवाला हो | पुराण ब्रम्हाजीको नि:श्वास हो | ब्रम्हाजीले जुन पुराणको रचना गरे त्यसमा सय करोड अर्थात एक अरब श्लोक छन् जुन अहिले पनि स्वर्ग लोकमा उपलब्ध छ | बेद्ब्यासजीले पछि त्यहि १ अरब श्लोकको पुराणबाट ४ लाख महत्वपूर्ण श्लोकहरू मात्र लिएर हामी पृथ्बीलोक बासीहरुको लागि उपलब्ध गराए |
पुराणमा किन फरक फरक मत अनि अचिंतनीय कथा?
असंख्य ब्रम्हाण्डहरू छन, असंख्य लोक छन। प्रत्येक ब्रम्हाण्डमा ब्रम्हा, बिष्णु, महेश हुंछन। प्रत्येक लोकमा गणेशजी पनि छन, इन्द्र पनि छन। यी सबै पद हुन। हामी तुच्छ मनुष्यको उमेर सय वर्षको भने कलियुगको समय ४ लाख ३२ हज़ार वर्षको हुंछ। द्वापर युग ८,६४,००० वर्षको, त्रेता १२,९६,००० वर्षको हुंछ भने सत्य युग १७,२८,००० वर्षको हुंछ।
यसरी चतुर्युग(सत्य/त्रेता/द्वापर/कलि)को पूरा समय ४३ लाख २० हज़ार वर्षको हुंछ। यस्ता चतुर्युग ७१ पटक घुमेपछि एक मनवंतर हुंछ जसको समय ३० करोड ६७ लाख २० हज़ार वर्षको हुंछ। जसरी प्रत्येक ५/५ वर्षमा चुनावपछि नेताहरू परिवर्तन हुन्छन त्यसैगरी प्रत्येक मनवंतरमा गणेश/इन्द्र/वायु/अग्नि आदि देवता परिवर्तन हुन्छन। यस्तो मन्वन्तर १४ चोटी घुमेंपछि बल्ल ब्रम्हाजीको एक दिन हुंछ जसको समय ४ अरब २९ करोड ४० लाख ८० हज़ार वर्षको हुंछ, जसलाई कल्प भनिंछ। १ कल्पको समय हाम्रो calculator मा अड़दैन। हाम्रो ब्रम्हाजीको उमेर यो हिसाबले १०० दिव्य वर्ष अर्थात ३११० खरब ४० अरब वर्षको हुंछ। अनि यो ब्रम्हाजीको दिव्य सय वर्ष त कारणोदकसायी विष्णुको मात्र एक स्वाश लिने समय हो। अनि कारणोदकसायी विष्णुको एक एक श्वाशबाट माथि गणना गरिएको समयको झै अनन्त अनन्त ब्रम्हाजीहरूको अध्यक्षतामा अनन्त अनन्त ब्रम्हाण्डहरू प्रकट हुंछन।
अनि हाम्रो ब्रम्हाजी भन्नुहुंछ: "यस्यैकनिश्वसितकालमथावलम्ब्य जीवन्ति लोमविलजा जगदन्डनाथा: विष्णुर्महान स इह यस्य कलाविशेषो गोविन्दमादिपुरुषं तमहं भजामी" -ब्रम्हाजी ब्रम्ह सन्हीता ५-४८ अर्थात:
"महाविष्णु(कारणोदकसायी विष्णु) जसको रोम रोम छिद्र छिद्रबाट अनन्तकोटी ब्रम्हाण्डहरू प्रकट हुन्छन अनि जसको मात्र एक स्वाशको लागि ती ब्रम्हाण्डहरू जीवित रहन्छन, त्यस्ता महाविष्णु(कारणोदकसायी विष्णु) पनि जुन श्रीकृष्ण गोविंदको मात्र एक बिशिष्ट कला मात्र हो, त्यस्ता गोविन्दलाई म भज्दछु।"
[महाविष्णुको रोम रोमबाट असंख्य ब्रम्हाण्डहरू प्रकट हुने, महाविष्णुको एक श्वाशको लागि जीवित रहने अनि महाविष्णु मै विलय हुने प्रक्रिया त श्यामसुन्दर भंगवान श्रीकृष्णको एक विशिष्ट कला मात्र हो रे....
ब्रम्हाण्डहरूका आ- आफ्नै ब्रम्हाजीहरू:
अनि प्रकट भएका प्रत्येक ब्रम्हाण्डहरूका ब्रम्हाजीहरूले आ-आफ्नो ब्रम्हाण्ड सजाउन लाग्छन अर्थात प्रत्येक ब्रम्हाण्डहरूका ब्रम्हाजीहरू आ-आफ्नो ब्रम्हाण्डको इंजीनियरहरू हुन। जस्तै हाम्रो ब्रम्हाण्डका ब्रम्हाजीलाई केही आधारभुत तत्व पृथ्वी, जल, तेज, वायु, आकाश, मन, वुद्धि र अहंकार भगवान श्रीकृष्णबाट प्राप्त भएछ। अन्य ब्रम्हाण्डका ब्रम्हाजीहरूलाई यो भंदा धेरै वा कम तत्व प्राप्त भएको पनि हुनसक्छ। यी आठ तत्वबाट हाम्रा ब्रम्हाजीलाई हामीले चारैतिर माटो, ढुङ्गा, फलाम, सुन आदि जे जे देख्छौ सबैको सृजन गर्नुपर्ने थियो। सृष्टिको लागि पुरुष-स्त्रीवीच हुने कामना, दयाको भाव, क्रोधको भाव, रजोगुणी भाव, तमों गुणी भाव, सतो गुणी भाव जस्ता सुक्ष्म तत्वदेखि लिएर फलाम, ढ़ुङ्गा, माटो, पत्थर, सुन, आदि हाम्रो ब्रम्हाजीले नै बनाउनु भएको हो।
ब्रम्हाजीको आफैले प्रकट गरेको स्त्रीप्रतिको काम आकर्षण:
प्रसंगमा यहाँ एक विशेष प्रसंग पनि आएको छ "ब्रम्हाजीको आफैले प्रकट गरेको स्त्रीप्रतिको काम आकर्षण"। यो प्रसंगलाई लिएर अज्ञानीहरूले लख काट्ने पनि गरेका छन। वास्तवमा के भएक़ो थियो भने सुक्ष्म तत्वको सृजनाको अवस्थामा उनले रजो गुणी तत्व पनि बनाए। प्रभावकारीता जाच्न हाम्रा ब्रम्हाजीले आफ़ैमाथि प्रयोग गरे। उनी त आफैले प्रकट गरेकी स्त्रीप्रति नै आकर्षित हुन पुगे अर्थात उनको परिक्षण सफल भयो। अनि त्यो रजो गुणी शरीर उनले वाफ झै समस्त मृत्युलोकमा त्याग गरिदिए। त्यही नै दिन हो। तसर्थ दिन रजो गुणी हो। व्रम्हाजीबाट त्याग भएको शरीरबाट ब्रम्हाण्डको व्याप्त रजोगुणी भाप सबै एकत्रित गरी यदि तपाईमाथि प्रयोग गरियोस, व्रम्हाजी त आफ़ै आफुबाट प्रकट भएकी स्त्रीप्रति कामाशक्त भएका थिए भने साधारण मनुष्य तपाईलाई कति वशिभुत गर्ला? वशिभुत भै आफ्नै हाडनातामाथि वलात्कार गर्नुहुनेछ तर यसको प्रभा हेर्नुहोस, व्रम्हाजीबाट त्याग भएको यही रजो गुणी शरीररूपी भापको कारण मनुष्य सृजनशिलतामा व्यस्त छन, काम गर्न लालायित छन।त्यस्तै उनले वार वार परीक्षण गर्दै शरीरलाई बाफ झै त्याग गरी विहान, रात, संध्या आदि बनाए। त्यसैले रात तमोंगुणी, बिहान सतो, दिन रजो गुणी अनि संध्या रजो-तमों मिश्रित हुंछ, व्रम्हाजीले बनाएका हुन।
यसरी ब्रम्हाजीले ब्रम्हाण्डमा धेरैलोकहरू, पदार्थहरू, जीवशरीरहरू बनाए। हाम्रो ब्रम्हाण्डको हाम्रो मृत्युलोकमा ब्रम्हाजीले गुरुत्वाकर्षण शक्ति बनाउनु भएछ जसले गर्दा हामी मनुष्य भुइँमा हिड्ने भयौं। हामीलाई टाउको, दुई हात खुट्टाको सास फेर्ने, नौ महिनामा जन्म लिने आदि बनाउनुभएछ। अर्को लोकमा त्याँहाका ब्रम्हाजीले दुई टाउको भएको बनाए होलान, अर्को लोकमा गुरुत्वाकर्षण नै बनाएनन् होला, त्याँहाका मनुष्य उड्छन होला। अर्को लोकमा मनुष्य ५० महिना गर्भमा बस्ने बनाए होलान आदि आदि। प्रत्येक लोकमा वायु, अग्नि, चंद्र, सूर्य आदिका लागि पदहरूको सृजन गर्नुभयो अनि उपयुक्त आत्मालाई उचित पदमा पदाशिन गराउनुभयो।
उदाहरणको लागि शिब-पार्वतीको बिवाह हुदा पनि गणेशजीको प्रसंग पुराणमा छ। विवाह हुदा छोरा गणेशजीको प्रसंग कसरी आयो? वास्तवमा "गणेश" एक पद हो र शिब-पार्वती विवाहको समयमा पनि गणेश पद थियो तर त्यो पदमा अर्कै कोही गणेशजी आशिन थिए। अहिलेको मनवंतरमा शंकर-पार्वती पूत्र गणेश पदमा आशिन छन। त्यस्तै अनंत ब्रम्हाण्डहरू छन, प्रत्येकमा ब्रम्हा/बिष्णु/महेश्वर छन, प्रत्येकमा गणेशजी छन। यसरी वायु, इन्द्र, सूर्य आदि सबै पद हुन जस्तै इन्द्र पदमा अहिले पुरंदर विराजमान छन। अर्को मन्वन्तरमा इन्द्रपद दैत्यराज बलिको हुदैछ। सुतललोकका यी बलिमहाराज नै मुसलमानहरूको अल्लाह हो। त्यस्तै सूर्य पदमा अहिले विवसवान विराजमान छन।
यसरी अनन्त ब्रम्हाण्डहरू छन अनि प्रत्येक ब्रम्हाण्डहरूमा अनन्त लोकहरू छन। पुराणका कथा अनंतलोकमा घटित भएका अनंत कल्पका कथाहरू हुन। कुनै लोकमा कस्तो वातावरण छ अनि कुनैमा कस्तो। व्रम्हाजीहरूको सृजनशीलताको विभेद र विभिन्न ब्रम्हाण्डहरूको वातावरणीय विभेदका कारण पुराणको कथा हाम्रो लागि अचिंतनीय हुन सक्छ कारण कुन ब्रम्हाण्डको, कुन कल्पको कस्तो वातावरण भएको ब्रम्हाण्डको कथा हो। हामी हाम्रो यस मृत्युलोकको वातावरण सापेक्ष पुराण बुझ्ने प्रयास गरे अवश्य बुझ्दैनौ, नीमको रुखको किरोलाई गुलियो रूखको वातावरणको कुरा बताए के गर्ला? तर हामी किरो होइनौ, मनुष्य हौ। पुराणको उद्धेश्य बिभिन्न ब्रम्हाण्ड-लोकमा घटीत कथा बताउदै वेद बुझाउनु हो, हाम्रो कर्तव्य पुराणादि कथाहरू श्रवण गरी (moral of the story) लिदै बिभिन्न लोकादीका देवी देवता दैत्यहरूको पद/आचरणको जानकारी लिनु हो।
वेदब्यास द्दारा पुराणका श्लोकहरू छनौट:
फेरी वेदब्यासले स्वर्गलोकमा भएको १ अरब पुराणका सम्पूर्ण श्लोकहरू मध्ये ४ लाख मात्र यसरी छाने की कलियुगी मनुष्यहरूले कथा पढ़ी पात्रहरूको घटना-फल अध्ययन गरी moral of the story बुझि बेदको वास्तबिक निर्देशन बुझुन। वेदव्यासको मात्र एक लक्ष्य थियो, कम बुद्धि भएका कलियुगी मनुष्यलाई कथा सुनाई वेद बुझाउनु।कथा लिदा कुनै कथा कुन लोकको पर्यो त कुनै कथा अर्कै ब्रम्हाण्डको, कुनै ब्रम्हाण्ड त्याँहाको ब्रम्हाजीले कुनै हिसाबले बनाएका छन त कुनै ब्रम्हाण्ड कुनै अर्कै हिसाबले सोही अनुसार एकै कथा पनि पुराण अनुसार फरक फरक पनि पर्न सक्छ। उदाहरणको लागि हाम्रै १८ पुराणमा गणेशजीको उत्पत्तिको रहस्य फरक फरक बताइएको छ कारण कुनै ब्रम्हाण्डका गणेशजी पार्वतीले बनाए त कुनै ब्रम्हाण्डमा गणेशजी कमलको फूलमा जन्म लिए होलान आदि आदि तसर्थ कू-तर्कीहरूदेखि सावधान रहौं।
एउटा कुवाँमा समुंद्रबाट हिड्दै आएको भ्यागुतो खसेछ। तल कुवाँमै जन्मेको भयागुतोलाई समुंद्र ठूलो छ भनेछ। कुवाँको भ्यागतोले कति ठूलो? उफ़्रेर देखाएछ "यति ठूलो???"। यही हो अहंकारीहरूको हालत। अनन्त ब्रम्हाण्डहरूको अनन्त लोकको पुराणका कथा अहंकारी कुवाँका भ्यागुतारूपीहरूले के बुझुन?
अनन्तकोटी ब्रम्हाण्ड:
अनन्तकोटी ब्रम्हाण्डमा अनन्त समयमा जाबो पृथ्वीलोकमा बढ़ीमा १०० वर्षको लागि ६०-७० किलोको मानव शरीर पाएको झिङ्गो मनुष्य पहिला त काम-क्रोध-लोभमा बशिभुत छ, त्यसमाथि आफ़ै मै हु भनि ईश्वर मोहीत हुने बेद पढ़ने दुस्साहस गर्दै छ अनि त्यसमाथि यस्तै अज्ञानीहरूलाई बेद बुझाउन वेद-व्यासले पस्किएको कथा नै दूत्कार्दै छ। अनि त्यति मात्र नभएर मेरो कुवाँ भित्र मैले जे देखे त्यही मात्र सही हो भन्दै यी कुवाँका भयागुतो झै मनःस्थिति भएकाहरू कुवाँ बाहिरको अश्तित्व अस्वीकार गर्दैछन। अनि हद तब हुंछ जब सत्यको ज्ञान दिदा मान्दैन, आफैलाई ज्ञानी सम्झन्छ। सत्यको खण्डन गर्छ, पुराणको तिरष्कार गर्छ।
त्यो कुवाँको भयागुतोलाई खसेको भयागुतोले समुंद्रको विशालता बुझाउने लाख कोशिश गरेछ, बाहिर यस्तो छ भनेर खुट्टा ढोकेछ तर त्यो कुवाँको भ्यागतोले ज्यान गए मानेन छ।
हरे कृष्ण ....
सनातन नेपाल जागरण ®
No comments:
Post a Comment