
प्रवीण अधिकारी:


हेमाद्रिले भविष्योत्तर पुराणको उद्धरण दिएर कथा लेखेका छन - युधिष्ठिरले कृष्णलाई फाल्गुन-पूर्णिमाका दिन प्रत्येक गाँउ र नगरमा मनाईने उत्सव के हो ? भन्दा फागु पूर्णिमाको उल्लेख गरिएको वताएकाछन र वाराहपुराणले " फाल्गुने पौर्णिमास्यां तु पटवासविलासिनी। ज्ञेया सा फाल्गुनी लोके कार्या लोकसमृद्धये॥ भनेको देखिएको छ - हेमाद्रि (काल, पृ. ६४२ ) । मनुस्मृतिले यो दिन मनु जन्मिएका थिए भनेको छ , उनी नै यस पृथ्वीका प्रथम मानव पनि रहेका थिए । यसै दिन 'नर-नारायण' पनि जन्मिएका थिए । उनी भगवान विष्णुको चौथो अवतार थिए । ‘शमीको रुख जुन अग्नि-शक्तिको प्रतिक हो त्यसलाई जलाएर सत्ययुगीन राजा रघुले होली खेलेका थिए " वर्षकृत्यदीपक (पृ0 ३०१ ) निम्न श्लोक हेरौं: - "
प्रभाते बिमले जाते ह्यंगे भस्म च कारयेत्।
सर्वागे च ललाटे च क्रीडितव्यं पिशाचवत्॥
सिन्दरै: कुंकुमैश्चैव धूलिभिर्धूसरो भवेत्।
गीतं वाद्यं च नृत्यं च कृर्याद्रथ्योपसर्पणम् ॥
ब्राह्मणै: क्षत्रियैर्वैश्यै: शूद्रैश्चान्यैश्च जातिभि:।
एकीभूय प्रकर्तव्या क्रीडा या फाल्गुने सदा।
बालकै: वह गन्तव्यं फाल्गुन्यां च युधिष्ठिर ॥"
यसरी हामी देख्दछौं विभिन्न युगमा फागु पूर्णिमा, विभिन्न व्यक्तिले , विभिन्न किसिमले मनाए । आजसम्म पनि मनाउंदै छौं । श्रीमद्भागवत महापुराणमा रसको समूह रास ,अन्य ग्रन्थमा 'रंग' उत्सवको वर्णन, हर्षको प्रियदर्शिका तथा रत्नावली तथा कालिदासको कुमारसंभवम् तथा मालविकाग्निमित्रम् मूख्य यस्ताकुरा प्रसस्त दर्शिएका छन । कालिदासको ऋतुसंहारमा पूरा एक सर्ग 'वसन्तोत्सव' लेखिएको छ । भारवि, माघ र थुप्रै संस्कृत कविले वसन्तको खूब चर्चा गरिदिएको छ । संस्कृत शब्द 'होलक्का' बाट होली शब्द जन्मिएको हो । वैदिक युगमा 'होलक्का' को अर्थ अन्न हुने गर्दथ्यो । 'प्रियदर्शिका', 'रत्नावली', 'कुमार सम्भव' ले आएर रंगको वर्णन गरिदियो । कालिदासको 'ऋतुसंहार'मा त झन् एक सर्ग 'वसन्तोत्सव' नै राखियो । 'भारवि', 'माघ' जस्ता संस्कृत कविहरुले वसन्त र होली पर्वलाई मदन संग जोडिदिए ।
मदनोत्सव :
दशकुमार चरितले फागु पूर्णिमालाई 'मदनोत्सव' भन्न पुग्यो। वसंत कामको सहचर हो भन्यो , तसर्थ वसंत ऋतुमा मदनोत्सव मनाउन थालियो । त्यसपछि कामलाई हामीले दैवी स्वरूपमा राख्यौं र कामदेव देउता हुन पुगे । यदि काम विकृत मानिन्थ्यो भने भगवान शिवले आफ्नो क्रोधाग्निमा 'कामलाई किन भष्म गर्दथे ? अनि 'अनंग' रूपमा किन जीवित गर्थे ? यसको अर्थ के हो भने 'काम' साहचर्य उत्सव मनाउने योग्य हो । जबसम्म काम मर्यादा भित्र बस्छ ,उ भगवानको विभूति मानिन्छ । मर्यादा छोड़दा आत्मघाती हुन पुग्दछ र शिवको तेश्रो नेत्रले भष्म गर्नु पर्थ्यो । यस अर्थमा चाड हाम्रो सांस्कृतिक चेतनाको प्रतीक हो । ती आशा, आकांक्षा, उत्साह एवं उमंग प्रदाता हुन तथा मनोरंजन, उल्लास एवं आनंद दिएर हाम्रो जीवन सरस र सुरुचि पूर्ण वनाउँदछन । चाड पर्व सांस्कृतिक धरोहर, परंपरा, मान्यता एवं सामाजिक मूल्य मान्यताहरुको प्रतिविम्व हो । जसले हाम्रो संस्कृतिलाई अंतरस्पर्शी दर्शन गराउँदछन । यसैको कारण नेपाल मानवभूमि भएपनि देवभूमि कहलिएको हो । कालिदास भन्छन - उत्सवप्रिया खलु मनुष्या:!
संस्कृत साहित्यमा फागु :
संस्कृत साहित्यको कुनैपनि पुस्तक अर्थात काव्य, नाटक, कथा ,आख्यायिका पढ्ने चेष्टा गर्यौं भने त्यहाँ वसन्त ऋतुको कुरोगर्दै कविहरु आईपुग्छन । कालिदासको त कुरै नगरौं ,उनी जताततै वसन्तोत्सवको बहाना बनाउंदै हिंडेका छन । कामसूत्रले मदनोत्सव र सुवसन्तक उत्सव भनेर होलीको वर्णन गरेको छ । कामसूत्र भाष्यकार यशोधर ले ती दुईतै पर्व एउटै हो भनेर व्याख्या गरिदिएका छन् । अर्का कवि भोजदेव भन्छन सुवसन्तक वसन्तावतारको उत्सव हो अर्थात वसन्तपंचमीको उत्सव । मदनोत्सव फागु पूर्णिमाको रुपमा उत्साह पूर्वक मनाइन्छ । उता वात्स्यायनले कामसूत्र ग्रन्थमा यसको उल्लेख गरिदिएका छन । पुराना ग्रन्थहरु भन्ने गर्दछन , फागुनदेखि चैतसम्म वसन्तोत्सव मनाइन्थ्यो । यसका दुईरुप प्रसिद्ध थिए । एक सार्वजनिक अर्को कामदेव पूजन। भनिन्छ त्यतिखेर युवतीहरु मधुमासले मत्त भएर अघि पर्दा पुरुष वर्गको रंग र अविरले कोही जोगिन सक्तैनथे । रंगीन पानीलेले सराबोर हुने गर्दथे । राज-मार्ग , चोक गाउँमा मर्दल ,ढोल र चर्चरी गीत सुन्ने गरिन्थ्यो । सुगंधित पिष्टातक (अबीर) कारण चारैतर्फ वातावरण रंगीन हुन्थ्यो । केशर मिश्रित पिष्टातकका कारण राजपथ ,राज प्रासाद आच्छादित हुने गर्दथे । प्रात:कालीन उषाको छायाको भ्रम हुने गर्दथ्यो । यस्तै थियो होली वा फागु पूर्णिमाको प्राचिन रुप । कवि भवभूति को मालती-माधव प्रकरणमा यहि चाड मदनोत्सव भएर वर्णित हुन पुगेको छ । त्यतिखेर मदनोद्यान , यो पर्व मनाउन बनाउने गरिन्थ्यो । कामदेवको मंदिर हुने गर्दथ्यो । त्यस उद्यानमा स्त्री-पुरुष एकत्र भई भगवान कन्दर्पको पूजा गर्ने गर्दथे र मदन देउताको पूजा गरिसकेपछि मनोवांछित वर माग्ने गर्दथे । मालती-माधव अनुसार अमात्य भूरिवसुकि छोरी मालती पनि त्यो उद्द्यानमा कन्दर्प-पूजा गर्न आउने गर्दत्हीं ।यो पूजामा धार्मिक बुद्धिको प्रधानता हुने गर्दथ्यो ।
पूजा विधान :
मदन देउताको पूजा विधान अन्तरगत एउटा पूजा चैत्रमा गर्ने गरिथ्यो । अशोक वृक्ष मून्तिर माँटोको कलश स्थापित गरि सेतो चामले भरिन्थ्यो , फलफूल र उखु यो पूजामा नैवेद्य हुने गर्दथ्यो । कलशलाई सेतो कपडाले ढाकिन्थ्यो । चन्दन पनि सेतै प्रयोग गरिन्थ्यो । कलश माथी ताम्रपत्र राखेर केराको पात राख्ने गरिन्थ्यो जहान कामदेव र रतिको प्रतिमा राखिन्थ्यो र नाना भांतिका गंध, धूप, नृत्य, गीत आदिले देवी देउतालाई तृप्त गराइन्थ्यो - मत्स्यपुराण । यसको भोलिपल्ट चैत्र शुक्ल त्रयोदशीका दिन पूजा गरि विसर्जन गर्ने गरिन्थ्यो । शिल्परत्न, विष्णुधर्मोत्तर पुराण आदि ग्रंथमा कामदेवको प्रतिमा बनाउने विधि व्ताईएको छ । विष्णुधर्मोत्तर पुराण अनुसार उनको आठ हात रहेको छ । चार पत्नि भएको , तर शिल्परत्न ग्रन्थले ती पत्निहरु अपूर्व सुंदर भएको र बायाँ तर्फ अभिलाषवती रवि र दाहिना तर्फ गृहकर्म-निरता प्रीति, यी दुई पत्नि रहेको बताईएको छ । कालिदासको मालविकाग्निमित्र र श्री हर्षदेवको रत्नावली मा यस उत्सवलाई सर्वाधिक सरस अनुष्ठान भनिएको छ । मालविकाग्निमित्र ग्रन्थ अनुसार मदन देउताको पूजा गरिसकेपछि अशोक वृक्षमा फूल फुल्ने गर्दथ्यो । रत्नावलीले पनि यस्तै कुरो भनेको छ । संसारको लगभग सबै सभ्य जातिले वसन्तकालमा यौवनोन्माद को उत्सव मनाउने गर्दछन। कहीं-कहीं यो उत्सव स्थूल यौनवासनाको रुपमा मनाएको देखिन्छ भने , कहीं संयमित र सुरुचिपूर्ण ।
सनातन नेपाल जागरण ®
No comments:
Post a Comment