Sunday, 11 February 2018
नग्नता ,मूर्तिपूजाको अवधारणा र नेपाली समाजमा नग्नताको स्वीकार्यता ------
प्रवीण अधिकारी :-
नग्नता:
मानव वा पशु , कसैको नग्नतालाई औंल्याएर , त्यसप्रति डर र हैकम चलाउने कार्य नेपालको सनातनी हिन्दू समाजले कहिल्यैपनि , कसैलाईपनि गरेन | नेपाली संस्कृतिले त्यसप्रति संधैभरी उदारता देखाएको छ | नेपाली समाजमा नग्नतालाई देखेर त्यस्ता व्यक्तिले अप्ठ्यारो मानेर खोइरो खन्ने गर्दछन - जो वामपन्थी चरित्रको छ , जो संग नग्नता र कामुकतालाई छुट्याउन सक्ने ज्ञान छैन , जो संग ती कुरा फरक हुन भन्ने चेतना छैन , जो पश्चिमा संस्कारबाट निकै प्रभावित र आकर्षित छ , जसले सनातन धर्म ग्रन्थको अध्ययनबाट आफुलाई कोसौं टाढा राखेको छ , र , जसले नेपाली संस्कृतिको धरातलीय मर्म अलिकतिपनि बुझ्न सकेको छैन | हामी नेपाली सनातानीहरु देवीलाई जगन्नमाता भन्दछौं , त्यही अनुरुपको सम्मान दिन्छौं | उनको निवास स्थानलाई शक्तिस्थल हो भनेर स्विकार्छौ | त्यसैले भगवती जगदम्विके र हामी विच आमा छोराको नातो गाँसिन पुगेको हो | आमा छोरा भन्नासाथ हामी भित्र आमाले छोरालाई र छोराले आमालाई नाङ्गो स्वरुपमा नदेखि हाम्रो जन्म नै हुँदैन भन्ने मान्यता सनातनी संस्कृतिको गुढ र सर्वस्वीकृत यथार्थता हो | यतिपनि बुझ्न नसक्ने गिदी भएका कुलंघारहरु नेपालमा व्यासाचार्य भएर सनातन धर्मको व्याख्या गरि हिंड्छन |
शिव पूजा
-----------
नेपालमा शिवलिङ्गको उपासना पद्धति छ ,त्यसैको प्रभाव स्वरुप नेपालका प्राचिन देवालयहरुका ठड्याइएका टुंडालहरुमा कुँदिएका नाङ्गा पुङ्गा आकृति र भित्र गर्भगृहमा स्थापना गरिएका नग्न मूर्तिहरुको प्रचलन प्राचिन ग्रीक कालभन्दा प्राचिन हो , किनभने , वैदिक व्यवस्था अनुसार शुक्ल यजुर्वेदको माध्यन्दिनिय शाखाका अनुयायीहरु बस्ने मुलुक हो , नेपाल र त्यसग्रन्थको मुख्य प्रतिपाद्द विषयवस्तु याज्ञिक कार्य र रुद्र उपासना पद्धति हो | यहीकारणले नेपालमा योनि र शिव लिङ्गको माध्यमबाट शक्ति र शिवको पूजागर्ने लोकप्रिय प्राचिन आधार तय गरिएको हो | नेपालमा शिवलिङ्ग र त्यसलाई टिकाउने आधार प्रकृति र पुरुषको दैवीय प्रतिक हो , जुनकुरो नेपाली सनातनी संस्कृतिको अविभाज्य अंगको रुपमा हाम्रो देवार्चन परम्परामा नंग र मासु भई स्थापित हुन पुगेको छ |
मूर्तिपूजाको अवधारणा
-------------------------
हाम्रा पूर्खाहरुले ईश्वरीय अवतारहरुलाई मानवीय रुपमा ढाल्न पुग्दा मूर्ति पूजाको परम्परा विकसित भएको थियो | ईश्वरको शारीरिक रचनालाई पुराण र वैदिक साहित्यले दिग्दर्षित गरिदिएपछि कलाकारको दृष्टिमा देवी देउताहरुको स्वरुप भित्र नैतिक वा अनैतिक कुराले महत्व पाउन सकेन , किनभने , तत्कालिन लौकिक विचारमा नैतिकता संधै निरपेक्ष रहन्छ भन्ने सोच विकसित गराएर लागिंदा हाम्रो पूजा विधिमा सबै देवी देउताहरुलाई नाङ्गै राखेर दूध ,दही,घ्यू ,मह चिनी मिसाई पञ्चामृत तयार पारेर वा बेग्ला बेग्लै स्वरुपमा तिनै चिजविजले स्नान गराई पूजा गर्नुपर्ने विधान स्थापित भएर गएको हो | हाम्रो विधानमा देवी देउताहरुलाई नुहाई सकेपछिमात्र वस्त्र चढाउनु पर्ने पद्धति रहेको छ |
योनिंविना महेश्नानि सर्वंपूजा वृथंभवेत
सर्वंपूजा परितज्य योनिंपूजा समाचरेत
भन्ने विधान पौराणिक साहित्यले निर्दिष्ट गरेका हुँदा शिवलिङ्ग र योनि संगै पूजा गर्ने पद्धति हाम्रो संस्कृतिको प्रमुख अंग हुन पुगेको हो | शिवजीकै अंशबाट उत्पत्तिभएको मानिने तंत्र शास्त्रले सृष्टिक्रम संयोग (शिव र शक्तिको मिलन, अनि त्रिगुणात्मक आदि पिंड र नीलो रंगको महाप्रकाश, धूम्र रंगको महावायु,,रक्तवर्णको महातेज, श्वेत वर्णको महासलिल, पीतवर्णको महापृथ्वी, पांच महातत्वबाट उत्पत्ति भएका महासाकार पिंड, भैरव, श्रीकंठ , सदाशिव, ईश्वर, रुद्र, विष्णु, ब्रह्मा, नरनारी, प्राकृतिक पिंड अर्थात नर नारीकै संयोगबाट पुरुष र नारीको जन्म भएको जनाएको छ |
नेपाली समाजमा नग्नताको स्वीकार्यता
-----------------------------------------
सनातन धर्म भित्र नग्नता त्याज्य विषय वस्तु कहिल्यै , कुनै कालखण्डमा थिएन | हाम्रो परिप्रेक्ष्यमा ईश्वर र धर्मको स्वरुप प्राकृतिक भएकोले तमाम प्राकृतिक कुराहरुलाई हामीले शाश्वत र नैतिक आधारमा स्वीकार गरेका छौं | त्यसैले हाम्रो परिप्रेक्षमा लुगा र नैतिकता विच सम्बन्ध गाँसिन नसकेको हो | उष्ण प्रदेशमा बस्ने अर्थात गर्मी ठाउँमा बस्ने मान्छेले पातलो लुगा लाउनु र जाडो ठाउँमा बस्नेले ऊनी र धेरै लुगा लाउनु प्राकृतिक यथार्थता हो | तर , धेरै लुगा लाउने मान्छे ज्यादा नैतिकवान इतिहाँसको कुनैपनि कालखण्डमा मानिन सकेन , त्यो मानव समाजको अकाट्य सत्य हुनपनि सकेन , हिंजो पनि थिएन , आजपनि छैन | यही नै यथार्थ हो | आफ्नो शरीरमा लुगा थोपर्नु नैतिकताको निर्देशक सिद्धान्त मानिएन भने थुप्रै लुगा लाउने मान्छेमात्र यस संसारमा नैतिकवान कहलिनपनि सकेनन , भन्नेकुरापनि आजसम्म कुनै स्वघोषित नैतिकवानले प्रमाणित गरेर देखाउनपनि सकेन | हामीलाई जे कुरामा डर लाग्दछ त्यस चिजलाई हामी छोप्छौँ | तर त्यो कुरो धर्म वा भयको आधारमा छोपिएक होइन | भयको आधारमा धर्म टिक्न सक्दैन | धर्म साश्वत हुन्छ | नेपालमैपनि जैन र हिंदू धर्ममा दिगम्बर पंथ र नांगा पन्थका तमाम साधकहरु रहेका छन् | ती सबै नाङ्गै भएर बस्छन भनेर कुनै सनातनीले अश्लील भई थुतुनो चलाउन सकेन | अनेक स्तूप, मंदिरहरुमा स्थापना गरिएका देवी देउताको नग्न रूपका विग्रहहरु , भित्तोमा कोरिएका चित्रहरु , टुंडालमा खोपिएको दृष्यहरु अश्लीलताको परिचायक होइन ,हाम्रा पुर्खाहरुको बस्तुपरक सोच र तत्कालिन परिद्रिष्यको सचित्र व्याख्या हो | पूर्वजहरुको जीवन पद्धति हो | त्यसलाई अश्लील देख्ने हामी र हाम्रो आँखो दोषी हो | ती र त्यसकुराको अर्थ त्यो होइन , जो हाम्रो समाजमा रहेको साधारण मान्छेको जमात र पश्चिमा शिक्षाले अभिप्रेरित भएकाले लाउने गर्दछ |
नैतिकता र ज्ञान
------------------
नैतिकता भन्ने शब्दको सम्वन्ध यो प्रकृति संग , सृजना संग र ज्ञान संग रहेको हुँदैन | ज्ञान प्रकृतिमा आधारित हुन्छ | नैतिकता प्राकृतिक कानून हो | प्राचीन महर्षिहरुले ज्ञानलाई दैवी अंशको रुपमा देखेका कारण त्यसमा सृजनशीलता भेट्टाए | उनीहरुले नैतिकताको नियम र कानून एकै खालको चिज हो भनेर व्याख्या गरे | सनातनी हिन्दू मान्यतामा देव र देवी जगतपिता र जगतमाता हुन | बच्चा र माताको सम्बन्ध , बच्चा र बाबुको सम्बन्ध नग्नता र कामुकता संग रहेको हुन्न | त्यसैकारणले गर्दा महाभारतमा आमा र छोरा विचको सम्बन्धमा लुगा अहंकार र अज्ञानको प्रतिक मानिन पुगेको थियो | अन्धा लोग्नेकालागि गांधारीले आँखोमा पट्टी बाँधेर बस्न पुगेकी थिइन र तिनै गांधारीले दुर्योधनलाई जीवित राख्न निर्वस्त्र आउन आदेश दिइन , तर , भगवान कृष्णको सल्लाहमा दुर्योधनले केराको पात बेरेर पुगेको कारण दुर्योधन जोगिन सकेनन , भीमद्वारा मारिए | दुर्योधनको अज्ञान ,अहंकार , केराको पातले बेरिएको तिघ्रो र गुप्तांग आफ्नी आमाको आँखोको प्रकाश उर्जाबाट वंचित रहन पुग्दा कमजोर हुन पुगेको ठानियो भने व्यास पुत्र शुकदेव आफ्ना बाबुसंग रिसाएर युवावस्थामै तपस्या गर्न वनतिर हिंड्दा , छोरो फर्काउन भनि पछिपछि आएका व्यासलाई देखेर तलाउमा नुहाउँदै गरेका नारीहरुले शुकदेव जी त्यै बाटो हिडदा पूर्ववतः नुहाई रहेपनि , शुकदेवका वृद्ध बाबु व्यासलाई देख्ता आफ्नो जिउ छोपेर नमस्कार गर्न पुगेका थिए | यस्तो देखेर व्यासले अडिएर सोधे - भन देवी हो ! तिमीहरु अघि शुकदेव यै बाटो हिडदा नाङ्गै नुहाई रहेका थियौ , तर , मलाई देखेर आफ्ना जिउ छोप्यौ किन ? भनेर प्रश्न गर्दा ती नारीहरुले भने महात्मन ! शुकदेव जी ज्ञानको त्यस अवस्थामा पुगि सकेका छन जहाँ स्त्री र पुरुष , नाङ्गो र लुगा लाएको विच कुनै फरक देख्तैनन , तर वृद्ध भएपनि , तिम्रो दृष्टि र ज्ञानको स्तर फरक छ | ज्ञान अग्नि समान हुन्छ | त्यसले अज्ञानलाई डढाउछ | अनि त्यै अज्ञान समाप्त भएपछि ज्ञानको उदय हुन पुग्दछ भने दिगम्बरावस्था ज्ञानको ज्यादै उच्च अवस्थापनि हो | परमात्मालाई बुझ्न चाहने साधक संधै पूर्णतः आवरण रहित हुनैपर्दछ | अर्कोतर्फ , नग्नता यस स्रिष्टि निर्माणको अंतिम खुडकिलोपनि हो र मैथुन सृजन कार्यको अंतिम अवस्थापनि | त्यसैकारण हाम्रा शास्त्र र देवालय भित्र र वाहिरको कला कहिल्यैपनि नैतिक, वा अनैतिकताको द्दोतक हुन् सकेन वरु संधै निरपेक्ष भएर रहन सक्यो |
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: हजारौं वर्षअघि रचना भएको वैदिक शास्त्रहरुमा पृथ्वी , सुर्य र व्रन्हान्ड सम्बन्धी सम्पुर्ण रहस्यहरु उदघ...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
Author: Shantiman Shrestha: शायद भारतिय उप-महाद्दिपमा सबैभन्दा चर्चित र विवादास्पद ग्रन्थ होला "मनु स्मृती" ।...
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
लेखक: प्रवीण अधिकारी: हिन्दू धर्मको वृहद अवधारणा भित्र कुनैपनि व्यक्तिको निजि जीवनमा ४ वटी आमाहरुको अस्तित्व स्वीकारिएको हुन्छ - १...
-
लेखक: निर्मलमणि अधिकारी ‘आयोदधौम्य’, पीएच.डी. : ‘हिन्दू’ शब्दको परिभाषा दिनु एकातिर अत्यन्त सजिलो छ भने अर्कातिर अत्यन्त अप्ठ्या...
-
यमराज ले नर्क मा पुगेका हरु लाई सजाय सुनाउदै जाने क्रम मा अन्त्य मा एकजना किसान र एकजना नेता वाँकी थियो । यमराज ले भनेछ : तिमीहरुले गरेक...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
No comments:
Post a Comment