
Dilliram Gautam :

चेतन अविनाशी छ । चेतना अध्यात्मको गुण हो । चेतनाको अधिकता रहेपछि म र मेरो भन्ने भाव जागृत हुन्छ । प्राणीहरूमा चेतनाको न्यूनाधिक प्रभाव रहेको छ । यही कारणले मानव, पशु, वनस्पति, भनिएको हो । कम चैतन्य रहेका प्राणीहरूको पनि बुद्धि र स्वरूपमा परिवर्तन हुन्छ ।
अध्यात्मको आत्मा नहुँदा भौतिक भूतमा परिणत हुन्छ । यी जड र चेतन दुई तत्व सृष्टि क्रममा (जन्मदा) अभिन्न रहन्छन् भने मृत्यु(प्रलय)मा भिन्न हुन्छन् । वास्तवमा जड र चेतनको वियोग नै मृत्यु हो । यही कारणले वेदहरूले अचेतनबाट चेतनतर्फ जानु नै कल्याणको मार्ग हो भनेर मार्गदर्शन गरेका छन् र ऋषिहरूले अनुसन्धान गरी त्यसको बोध गरेका छन् ।
उनीहरूले प्राप्त गरेका अनुभवहरू आरण्यक(वेदको दार्शनिक भाग) , उपनिषद(ब्रह्मको नजिक पुर्याउने) , दर्शन(प्रत्यक्ष देख्नु) ,धर्मसूत्र(सिद्धान्त) , गृह्यसूत्र(संस्कारसिद्धान्त) , शूल्वसूत्र(ज्यामिति) स्मृतिशास्त्र र पुराणहरूमा अभिव्यक्त भएका छन् । वेददेखि पुराणसम्मका सबै शिक्षाहरूले मूल रूपमा एउटै कुरालाई महत्व दिएर मानवलाई संझाएका छन्ः
असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्योर्मा अमृतंगमय ।।
वेद असत(भौतिक)बाट सत(अध्यात्म)तिर जाऔँ । अन्धकार(अज्ञान)बाट ज्योति(ज्ञान)तिर जाऔँ । मृत्यु(अनित्य)बाट अमरता(नित्य)तर्फ जाऔँ ।
यस महावाक्यभित्रको आशय पनि यही हो कि हामी अविनाशी आत्मा तत्व हौँ । यही आत्मा सत हो । जगत र शरीर परिवर्तनशील र विनाशशील छन् त्यसैले यी असत हुन् । यी कुरा बुझ्नका लागि अध्यात्म ज्ञानको आवश्यक छ ।
अध्यात्मज्ञान आत्माको प्रकाश हो । शरीर र संसार नै सत्य हुन् भनेर अल्मलिनु अन्धकार(अज्ञान)मा पर्नु हो । यो अज्ञानलाई अध्यात्म ज्ञानको ज्यातिले मात्र हटाउन सक्छ । जब अध्यात्मज्ञान प्राप्त हुन्छ तब म त शरीर होइन अमर र अविनाशी अमृत आत्मा पो रहेछु भन्ने बोध हुन्छ । यही अनुभव सिद्ध गर्नु मानव जीवन सफल बनाउनु हो भन्ने सिद्धान्त नै वेदज्ञान हो ।
विना आत्माको कुनै भौतिक तत्व हुँदैन र चेतनसत्ता घट्तै जाँदा पशु, पक्षिं, लता, वृक्ष, तृण हुँदै पदार्थ र धातु हुन पुगेका हुन् त्यसैले यो ब्रह्माण्ड नै आत्ममय देख्नसक्ने ज्ञान प्राप्त गर्नु मानव जीवनको सार्थकता हो ।
सनातन नेपाल जागरण ®
No comments:
Post a Comment