००

Saturday, 10 March 2018

मनुस्मृतिमा नारी ,शुद्र र वर्ण व्यवस्था


लेखक:
प्रवीण अधिकारी:
आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्नो काम सकेर साँझ पख घर फर्किन्छ वा जागिर को समय? सिध्याएर घर आई पुग्छ उ फेसबुक,whats app चलाएर बस्ता मख्ख पर्ने गर्दछ , भन्नुको अर्थ आजको नेपालमा फुर्सतको समय विजुली संयन्त्र मै वित्ने गर्दछ ।
     यस्तो अवस्थामा हाम्रा प्राचिन ग्रन्थहरु , पौराणिक पुस्तक ,प्राचिन इतिहास , वैदिक वाङ्गमय इत्यादि पढ़ने , अरुबाट सुनने इच्छा कसैमा जागृत हुँदैन ।
अर्कोकुरा ,
हाम्रो कनिष्ठ पुस्ता संग एकातिर संस्कृत साहित्य बुझ्ने भाषागत समस्या छ भने अर्कोतिर हाम्रो प्राचिन साहित्यको विदेशी व्याख्या एक क्लीकमा हजारौँ व्याख्या सहितका लेख ,भाष्य ,पुस्तक एक किंडलमै उपलब्ध हुने गरेको छ । त्यसले गर्दा नेपालको शिक्षित वर्ग भित्र समेटिने जो सुकै नेपालीलाई सोध्नोस् , तिमीले मनुस्मृतिको बारेमा के बुझेका छौ ? वा आफुलाई दलित सम्झिने कुनै नेपालीलाई सोध्नोस् " ए भाई मनु स्मृतिको कुन अध्याय ,पेज वा श्लोकमा दलितहरुको विषयमा जे पायो त्यै लेख्या छ " बताउ त ? वा दिनभरी शहर वा गाउ चाहारेर आएकि , नेपालको राजनीति बुझ्न सक्ने हाम्री गृहिणीलाई सोध्नोस त - मनुस्मृतिको कुन चाहीं श्लोकले महिलाहरुलाई दोश्रो दर्जामा राख्यो ?
     त्यतिखेर त्यो नेपालीले आफ्नो कानमा इयर फोन ठूसेर गीत सुन्ने प्रयत्न गर्नेछ , त्यो आफुलाई हेपिएको दलित भनिने नेपालीले हाँसेर भन्ने छ - के फाल्तु कुरो गरिरा , आफ्नो काम गर्नोस न । तपाईंकि कांग्रेश ,कमनिष्टको राजनीति राम्ररी अवलोकन गर्दै समय घर्क्याएकि गृहिणीले भन्नेछिन - खुरुक्क भात खाउ , मेरो अलिअलि भएको दिमाग नडढाउ , चिसो हुन्छ , अहिले ग्याँस पाउन पनि गाह्रो छ ? यी र यस्तै जवाफ त्यतिखेर हाम्रा प्रतिनिधि पात्रका हुनेछन कारण ती सम्पूर्ण प्रश्नहरु हावादारी हुन ,अध्ययन र अनुसन्धानबाट निस्किएका होईनन । नेताले भनेको ,सुनेको ,विरोधकालागि विरोध गर्न प्रयोग गरिएका आरोपहरु हुन ।
     यसबाहेक यै संजालका मेरा २५०० साथीमध्ये मनुस्मृतिको विरोध गरि हिड्ने शायदै कसैले मनुस्मृति पढेका होलान ? त्यसको कारण प्रष्ट छ , आजको नेपालीले मनुस्मृति पढ्नु पर्छ भनेर जरुरी ठान्दैन , किनभने यसको प्रासंगिकता अहिले हराई सकेको छ भने , यो ग्रन्थलाई अहिले कसैको सिलेबसमा राखिएको छैन
     । अर्कोतिर , यो ग्रन्थ हाम्रा गाउँघरतिर गीता , रामायण , चण्डी जस्तो पाठ गर्नुपनि पर्दैन । न यो कुनै वैदिक ग्रन्थ हो , न यो ग्रन्थ हाम्रो पूजापाठ पद्धति , सामाजिक रितिरिवाजको अंग हो ,न हाम्रो देश वा समाज यो ग्रन्थ बमोजिम संचालित नै छ , अनि विनापत्तमा किन पढनु पर्यो ? हामी यहि मान्यता ,भोगेर वोकेर हुर्किंदै छौं , समय घर्काउँदै छौं ।
     आजका दिनमा हामीलाई कुनैपनि धार्मिक ग्रन्थ पढ़ने इच्छा गर्यौं भने अग्रजःहरुले हामीलाई गीता पढने सल्लाह दिन्छन , कारण यो ग्रन्थ आजको विश्वमा सबैभन्दा बढि लोकप्रिय, प्रासंगिक र हरेक वर्ग, धर्मको लागि उपयुक्त ठानिन्छ । यस्तो अवस्थामा कसैले मनुस्मृतिको कुरो गर्दछ भने त्यो उसको विशुद्ध बौद्धिक दिवालियापन हो । तर , हाम्रो नेपालका वामपन्थी , ईशाइका दलाल ,अंधभक्त गणतन्त्रे र जाली दलित अधिकार कर्मीहरु मनुस्मृतिको कुरो आफ्नो नैतिक कर्तव्य र नैसर्गिक अधिकार सम्झेर प्रायशः गर्ने गर्दछन ( व्यवहारतः उनीहरुले मनुस्मृतिको अनुहार देखेका हुँदैनन् र देखेपनि तिनले त्यस ग्रन्थको अक्षर फोर्न सक्ने ल्याकत राख्तैनन । ) उनीहरु त्यति सोच्न सक्तैनन् कि अहिलेको नेपालको सनातनी अवस्था र मनुस्मृति लेखिंदाको अवस्था एकदमै फरक छ ।
     आज मनुस्मृतिमा आगो लाएर , त्यसको कुरो काटेर कुनैपनि दलितको पेट भरिनेवाला छैन । तिनले मनुस्मृतिमा समय खर्चिनुको साटो आजको समय अनुसारको पढ़ाई र त्यस अनुरुपको कौशल विकास गर्न सरकारलाई सल्लाह दिन सके , नागरिकहरुलाई पर्याप्त अवसर उपलब्ध गराउन सके , ती कर्मी र विरोध गर्नेहरुको सजिलै पेट भरिन सक्थ्यो ।
    हाम्रो नेपालमा एउटा भनाई वरोवर सुन्ने गरिन्छ - “भक्तले मूर्ख हुनु जरूरी छ " । अब कस्तो भक्त भन्दा जसले समाज सेवी बनेको देखाउन जावो पुरानो लुगा बाँड्दा , अपेक्षितलाई दिई सकेको लुगा उसको हातबाट थुतेर फोटो खिच्न झूठो समाजसेवी भएको ढोंग रच्ने गर्दछ । त्यसवाहेक अर्का समूह त्यस्ता दलित भक्त छन जसले बर्षमा दुईपल्ट खोक्दै मनुस्मृति जलाएर कृतिम कार्यक्रममा वान्तागर्ने गर्दछन ।
    मेरो दुखेसो के हो भने , यी ढोंगीहरुले न हाम्रो ‘मानवता’ बुझ्न सकेका हुन्छन ,न ईशु वा बुद्ध संग “ आफ्नो चेतना विकास गर्ने भिख " माग्न सकेका हुन्छन। जब जब तिनको नेता बन्ने दिन आउँछ अनि ती मनुस्मृतिप्रति सदावहार विष वमन गर्न थाल्दछन। नेपालका राजनैतिक दलहरुको त झन् कुरो गर्नै पर्दैन । यहाँ कामरेडहरु चाइनीज क्यालेंडर अनुसार - चे, माओ, स्टालिन र मार्क्स तिनका देउता भएकाले मौषम अनुसार जन्मदिन मनाई रहेका हुन्छन ।

नेपालमा महर्षि मनुको विरोध गर्नु पर्ने कारण :


     वर्तमान नेपालको स्वार्थी राजनीतिले साह्रै नराम्रो गरी उचालेको शब्द हो " मनुवाद "। मनुस्मृति अनुसार मनुवादको अर्थ हो -‘मान्छे विशेषको गुण-कर्म-योग्यता विचारेर उसलाई अशल , कुशल र श्रेष्ठ बनाउन उसको मानविय मूल्य औ मान्यतालाई महत्त्व दिने विचारधारा । नेपालको राजनीतिले विगत केहि बर्षदेखि नेपालको समाजमा भ्रम शृजना गराउन अंग्रेजका भत्ता खानेदेखि चर्चको लंगौटि सुकाउने नवईशाई सम्म ले मनु र मनुस्मृति को जे जस्तो चित्र कोरेर व्याख्या गरिदिएका छन् , त्यो व्याख्या एकांगी, विकृत, भयावह र पूर्वाग्रहयुक्त छ । मनु स्मृतिको निकै राम्रा राम्रा पक्ष सबै छोडेर , केहि नराम्रा पक्ष वेस्सरी उचाल्दिएको छ । यसको श्रेय भारतको अंग्रेज शासनलाई जान्छ जसले आफ्नो शासन व्यवस्था अविच्छिन्न रुपमा चलाउन ,वर्ग विभेद जन्माउन , प्रक्षिप्त गर्न लाएको थियो । त्यो अंशले आजको दिनमा नेपाली धर्म, संस्कृति-सभ्यता, साहित्य, इतिहास , विशेषतः हिंदू धर्मशास्त्रहरुको विकृत चित्र प्रस्तुत गर्न सघाएको छ ।
     हाम्रो समाजमा जन्म अनुसार निर्धारण गरिन पुगेको जाति व्यवस्थाले हाम्रो सामाजिक व्यवस्थालाई पतनोंमुख गर्दै लगेको छ , हाम्रो गौरवमय अतीत कलंकित , भ्रष्ट देखाई हाम्रो वर्तमानलाई अज्ञानता , अदूरदर्शिता, दूर्भावना र दूर्लक्ष्यपूर्ण देखाउने प्रयाश गरिंदा सनातन हिन्दू धर्मको करोडौं बर्षको संस्कृति ,सभ्यता र अस्तित्वलाई कुठाराघात गरिएको छ । जवकि , यो संसारमा आजसम्म कुनैपनि व्यवस्था शतप्रतिशत अशल र सर्वमान्य कहिल्यै हुन सकेनन र भविष्यमा पनि हुन सक्नेछैनन ।
‘‘यानि अस्माकं सुचरितानि, तानि त्वयो उपास्यानि, नो इतराणि |’’ (तैतिरीय उप.१.११.२)
अर्थात्-हामीमा जुन राम्राराम्रा आचरण छन् त्यसैको अनुसरण गरौँ , अरु होइन ।
नेपालमा ३ किसिमका नेपालीहरु :

     केहि पाश्‍चात्य लेखकहरुको लेख पढेर नेपालमा गणतान्त्रिक गतिबिधि चलाउनेले योजनाबद्ध तरिकाले समाज विरोधि संस्कार लादने र पुरानो आस्था भंग गराउने काम गर्दै आएका छन् । तिनले कहिल्यै बुझ्न चाहेनन् कि त्यो धार्मिक व्यवस्था नेपालको परम्परागत अस्मिता, गरिमा र महिमासंग घनिष्ठ रुपमा सम्वन्धित थियो । फुटाउ र राज्य गरको विष वृक्ष राजनीति अख्तियारी गर्दै भारत र पश्चिमाहरु नेपाली नेताहरुको कान भर्न सक्षम भए । त्यसको लागि तिनले सवभन्दा पहिला समाज व्यवस्थापक, आदि विधिनिर्माता महर्षि मनु र तिनको विधानशास्त्र मनुस्मृतिलाई निंदात्मक आलोचनाको केन्द्र बनाए । आजको गणतन्त्रले अंग्रेजहरुद्वारा लेखिएको व्याख्याको बुई चढेर सनातनी हिंदूहरुको मनोवल गिराउन झूठो कुरो लेखेर मनु एवं मनुस्मृतिको आलोचना गर्दै विरोध गराउनु तिनको एकमात्र सामाजिक लक्ष्य हो , किनभने नेपालका राजनीतिक दलहरुले सत्ता प्राप्तगर्न मनुवादलाई नयाँ बोका बनाएका छन् , तर , मनुको विरोध गर्नेहरुसंग मनु र मनुस्मृतिको विषयमा सामान्य ज्ञान , हिंजो थिएन र आजपनि छैन । मनु एवं मनुस्मृतिको विरोध गर्ने मुख्यतः तीन किसिमका व्यक्तिहरु नेपालमा देखिएका छन । पहिलो ती हुन - जसले पूर्वाग्रहग्रस्त भई पश्चिमाहरुले तयार पारेको अंग्रेजी अलोचना पढेका छन् ,दोश्रो , ती जो नेपालको प्राचीन साहित्यमा कालक्रमले भएका परिवर्तन र प्रक्षेपणसंग परिचित हुन सकेका छैनन् । तेश्रो , ती , जसले मनुस्मृतिको मौलिक र प्रक्षिप्त भाग कुन कुन हो भन्नेकुराको चिन्तनमननबाट निकै टाढा रहेकाछन र झूठ , पूर्वाग्रह , निंहित स्वार्थ राखेर मनुको विरोध गर्नुनै आफ्नो जन्मजात लक्ष्य बनाउन सकेका छन ।
विश्वका धर्मग्रन्थमा मनुको ईज्जत ,मान र प्रतिष्ठा :

     महर्षि मनु त्यस्ता व्यक्तित्व थिए , जसले यो संसारभरि को मानव जातिलाई एक व्यवस्थित, नियमबध्द, नैतिक एवं आदर्श जीवन जिउन अभिप्रेरित गरे । त्यसकारण महर्षि मनु हामी मानवमात्र को आदि पुरुष मानिन पुगे । त्यस वाहेक मनु आदि धर्मशास्त्रकार, आदि विधि प्रणेता, आदि विधिदाता, आदि समाज र राजनीति व्यवस्थापक र आदि राजर्षि पनि मानिएका छन। मनु प्रथम धर्मगुरु पनि हुन , जसले यज्ञ परम्परा को प्रवर्द्धन गरे । मनुस्मृति उनैको मौलिक ग्रन्थ हो । त्यो पहिलो प्राचीन स्मृतिग्रन्थ पनि हो ।वैदिक संहिता एवं ब्राह्मणग्रन्थहरुमा मनुको वचनहरु ‘‘औषधि " सरह मानिएका छन । प्राचिन महर्षि वाल्मीकि ले मनुलाई एक प्रामाणिक धर्मशास्त्रज्ञ भनिदिएका छन । महाभारतमा मनुलाई सर्वोच्च धर्मशास्त्र ज्ञाता र न्यायशास्त्रीको रुपमा उल्लेख गरिएको छ । पुराणहरुमा उनी राजर्षि, शास्त्रकार आदि विशेषणले विभूषित हुन पुगेका छन । स्मृतिकार बृहस्पतिले मनुस्मृतिलाई सबैभन्दा प्रामाणिक स्मृति ग्रन्थ हो भनिदिएका छन । बौध्द कवि अश्‍वघोषले आफ्नो अनुपम कृति ‘वज्रकोपनिषद्’मा मनुको वचनलाई प्रमाणको रुपमा राखिदिएका छन् । याज्ञवल्क्यस्मृति, मनुस्मृतिमै आधारित ग्रन्थ मानिएको छ । बादशाह शाहजहां को लेखक दाराशिकोह ले मनुलाई विश्वको पहिलो मानव भनेको छ जसलाई यहूदि, ईशाई ,मुसलमान आदम भनेर चिन्ने गर्दछन।
विदेशमा मनुको प्रतिष्ठा:

     व्रिटेन ,अमेरिका र जर्मनबाट प्रकाशित ‘इन्साइक्लोपीडिया’ मा मनुको प्रतिष्ठा, गरिमा र महिमा हृदयंगम गर्दै मानवजातिको आदि पुरुष, आदि धर्मशास्त्रकार, आदि विधिप्रणेता, आदि न्यायशास्त्री र आदि समाज व्यवस्थापक भनेर वर्णन गरेको छ । यही विचारलाई समर्थन गर्दै म्याक्समूलर, ए.ए.मैकडानल, ए.बी.कीथ,पी. थामस, लुईसरेनो आदि पाश्‍चात्य लेखकहरुले मनुस्मृतिलाई एक धर्मशास्त्रको साथै कानुनको पुस्तक भनि व्याख्या गरेको छ । तिनले प्रतिपादित गरेको विधानलाई सार्वभौम, सार्वजनिक तथा सबैका लागि कल्याणकारी एवं लाभदायक छ भनेर अर्थ्याई दिएको छ ।
     अमेरिकाबाट प्रकाशित ‘इन्साइक्लोपीडिया अफ दि सोशल साइंन्सेज ’ , ‘ कीथ रचित ‘हिस्ट्री अफ संस्कृत लिटरेचर’ , आदि पुस्तकहरुमा विदेशमा मनुस्मृतिको प्रभाव , प्रसार कति हुन पुगेको छ भनेर वर्णन गरिएको छ ।
    उहिले बालिद्वीप, बर्मा, फिलीपीन, थाइलाण्ड , चम्पा (दक्षिणी भियतनाम), कम्बोडिया, इन्डोनेशिया, मलेशिया, श्रीलंका, भारत आदि देशहरुमा मनुको धर्मशास्त्रमा आधारित कर्म र वर्णव्यवस्था थियो ।
    मनु आदि मानव वंश प्रवर्तक भएका कारण मानव समाजले उनलाई चाहेरपनि , न कहिल्यै त्याग्न सक्यो , न बिर्सिन सक्यो , न विर्सन नै सक्ने छ , किनभने हामी मानव जाति सबै मनु कै सन्तान हौँ भन्नेकुरा सम्पूर्ण मानव जगतले राम्ररी बुझ्न सकेको छ ।
    मान्छे वाचक सबै शब्दहरु ‘मनु’ शब्दबाटै बनेका हुन , जस्तो - मनुष्य, मनुज, मानव, मानुष , म्यान आदि । त्यसैकारण निरुक्तकारहरु ले मनुलाई अर्थ्याउदै भने ‘‘मनोः अपत्यम्, मनुष्यः’’ (३.४) अर्थात्–‘मनुको सन्तान भएकाले हामी मानव भएका हौँ । ब्राह्मणग्रन्थहरु पनि ‘‘मानव्यः प्रजाः’’ भनेर अर्थ्याउछ । युरोप, मध्यपूर्व र आर्यावर्तका सबै एकै परिवारका सदस्य हुन भन्नेकुरा मनु स्मृति हेर्दा झनै पुष्ठि हुन्छ ।
मनु र मनुस्मृतिमा लगाईएको आक्षेप :

     नेपालका धर्म निरपेक्ष्यतावादीले मनुमाथि मुख्यरुपले तिनोटा आरोप लाउने गर्दछन -
(क) मनुले जन्ममा आधारित जातिपाति व्यवस्था निर्माण गरे भन्ने ।
(ख) मनुस्मृतिले दलितकोलागि अमानवीय विधान बनाइयो भन्ने ।
(ग) मनु महिला विरोधी थिए भन्ने ।
(क) मनुको वर्णव्यवस्था के हो , बुझ्ने प्रयाश गरौँ :
१. मनुले तयार गरेको वर्णव्यवस्था गुण,कर्म,योग्यतामा आधारित थियो । यी गुण,कर्म,योग्यता सबै वेद मुलक शब्द हुन | उनले गरिदिएको वर्णको व्यवस्था तिनै वेद (ऋग् १०.९०.११-१२;यजु. ३१.१०-११;अथर्व. १९.६.५-६) मा उल्लेख गरिएको छ । मनु भन्छन , वेदनै धर्मको आधार औ एकमात्र प्रमाण हो ।
२. मनुको वैदिक वर्णव्यवस्था गुण,कर्म, योग्यतामा आधारित थियो भने , वर्ण व्यवस्था र जाति व्यवस्था परस्पर विरोधी चिज हुन । वर्ण व्यवस्थाको अघि जातीय व्यवस्था टिक्तैन । वर्णव्यवस्थामा वर्ण प्रमुख हो र जातिव्यवस्थामा जाति अर्थात् जन्म प्रमुख हो । ‘‘वर्णः वृणोतेः’’ (२.१४) = वरण गरिदा ‘वर्ण’ भनिन्छ जबकि जातिको अर्थहो जन्म । मनुस्मृतिले भन्छ - ‘‘जाति अन्ध बधिरौ’’ (१.२०१) = जन्मले हेर्दा मान्छे अन्धो बहिरो हुन्छ ।
३. मनुको वर्ण ब्यबस्थामा कतैपनि जात / जातिको उल्लेख छैन । उनले चार वर्णहरुको उल्लेख गरेका छन् तर कतैपनि कुनै जाति विशेष अथवा गोत्रहरुको उल्लेख गरेका छैनन् । यो कुरोले दुईटा कुरो प्रष्ट गर्न पुगेको छ । पहिलो कुरा , महर्षि मनुको समयमा कुनै जाति व्यवस्था थिएन , अर्कोकुरा , मनुको वर्णव्यवस्था जन्म अथवा गोत्रआदिको कुनै गुञ्जाइस रहेको थिएन । त्यसको आधारमा कसैले वर्ण पाउन सक्तैनथे ।
४. मनुस्मृति ले हरेक वर्णहरुको लागि छुट्टाछुट्टै कर्महरुको विधान उल्लेख गरिदिएको छ । यदि कुनै व्यक्ति जन्मकै कारणले ब्राह्मण, क्षत्रिय, वैश्य वा शूद्र हुन्छ भन्ने हो भने उसले वर्ण अनुसारको कर्म गरेपनि वा नगरेपनि त्यो संधै त्यै वर्णमा रहन पुग्दछ ।त्यसो भयो भने हाम्रो कर्म बिधान निरर्थक र उद्द्येश्यहिन हुन पुग्दछ । मनुले हरेकको छुट्टै कर्म निर्धारण गरेर कर्म अनुसार वर्णव्यवस्था निर्धारण गरेका थिए , जन्म अनुसार गरेका थिएनन ।
५. चारै वर्णमा पाइने समान गोत्रहरुनै ब्राह्मण, क्षत्रिय , वैश्य र दलित जाति सबैमा समान रुपले पाउने गरिन्छ , हाम्रो वंश परम्पराको भरपर्दो पुष्ट प्रमाण हो ।जसले के प्रमाणित गरेको छ भने ति सबै एउटै मूल परिवारका सन्तान हुन् वा एउटैका वंशज हुन् ।सुरुमा जुन वर्णव्यवस्था अनुसार जसले आफ्नो गुण , कर्म र योग्यतालाई तिखार्न सके उनीहरुले त्यै वर्ण धारण गरे । यस अनुसार तिनको बर्ण चयन नै उनीहरुको वर्ण भनिन थाल्यो । पछि विभिन्न कारणहरु समेटिएर ऊंच, नीच हुन पुग्यो । एउटै बर्ग कहिं ब्राह्मण वर्णमा पर्यो भने काँही क्षत्रियमा र त्यै वर्ण शूद्र हुन पुग्यो । कालक्रमानुसार जन्मको आधारमा तिनको जातिले जरो गाड्यो ।
६. वर्णव्यवस्थामा वर्ण परिवर्तनको व्यवस्था छ । तसर्थ वर्णव्यवस्था र जातिव्यवस्था ठूलो अन्तर रहेको छ । वर्णव्यवस्थामा वर्णपरिवर्तन हुन् सक्छ र कुनै पनि व्यक्ति संग वर्णपरिवर्तन गर्ने स्वतन्त्रता रहन्छ भने जातिव्यवस्थामा जन्मदेखि मृत्युसम्म त्यहि जाति रहने हुन्छ । मनु ले गरेको व्यवस्था वर्णव्यवस्थाको हो । जाति व्यवस्थाको होईन । यस सम्बन्धमा मनुस्मृतिको एउटा श्‍लोक प्रमाण स्वरुपमा हेरौं -
शूद्रो ब्राह्मणताम् एति, ब्राह्मणश्‍चैति शूद्रताम् । क्षत्रियात् जातमेवं तु विद्याद् वैश्यात्तथैव च ।।? (अ.१०, श्‍लोक ६५)
अर्थात् – ‘गुण,कर्म,योग्यताको आधारमा ब्राह्मण,शूद्र बन्न सक्छ र शूद्र ब्राह्मण । यसरीनै क्षत्रिय र वैश्यहरुमा पनि वर्णपरिवर्तन भईरहने हुन्छ ।
७. महाभारतकालसम्म वर्णव्यवस्थाको प्रचलन थियो । त्यति खेरसम्म मनुद्वारा प्रतिपादित वर्णव्यवस्था सबैको लागि गुण कर्मानुसार आफुले चाहेको वर्णमा दीक्षित हुन सक्ने समान अवसर प्राप्त थियो । ऋग्वेद , महाभारत (गीता) सम्म कर्ममा आधारित वर्णव्यवस्था चल्यो ।त्यसकारण गीतामा भगवान कृष्णले भन्न पुगे -
‘‘चातुर्वर्ण्यं मया सृष्टं गुण-कर्म-विभागशः’’ (४।१३)
अर्थात , मान्छेको गुण, कर्म, विभाग अनुसार चारै वर्ण व्यवस्थाको निर्माण गरिएको हो , जन्म अनुसारको होइन ।
(ख) मनुस्मृतिमा शूद्रको वर्णन :

     मनुस्मृतिको सबैभन्दा बढि चर्चा गरेर विवादास्पद तुल्याईएको शूद्र सम्बन्धी विषय कोट्याउदा केहि अत्यन्त महत्त्वपूर्ण एवं आधारभूत कुरा भेटिन्छन भने शुद्रादिको विषयमा मनुको भावनाहरुले के संकेत गर्दछ भने -
१. दलित , पिछडीएको र जनजाति भनिने बर्गलाई मनुस्मृतिमा शुद्र भनिएको छैन । मनुको वर्णव्यवस्था मा सबै व्यक्तिको वर्णको निश्‍चय गुण,कर्म ,योग्यताको आधारमा गरिएको छ , जात जातिको आधारमा छैन । शूद्र वर्णमा यो यो जाति पर्दछन भन्ने कुरा त्याँहा उल्लेख गरिएको छैन र फलानो फलानो जाति शुद्र हो त्यहाँ भनिएको छैन । यसको अर्थ त्यसपछिको समाजले शूद्र संज्ञाले केहि वर्णलाई शूद्रवर्गमा पारेको हो भन्नेकुरा प्रष्ट छ ।
२. मनुले गरेको शूद्रहरुको परिभाषा वर्तमानको शूद्रहरुको परिभाषा संग मेल खाँदैन । मनुले गरेको परिभाषा अनुसार दलित पिछडिएको जाति होइन । उनको परिभाषा अनुसार जसको ब्रह्मजन्म = विद्याजन्म रुपमा अर्को जन्म हुन्छ ती ‘द्विजाति’ ती ब्राह्मण, क्षत्रिय र वैश्य हुन् । जसको ब्रह्मजन्म हुदैन ती ‘एकजाति’ मै रहने शूद्र हुन ,अर्थात् त्यस्ता बालकहरु जो गुरुकुलमा गएर संस्कार पूर्वक वेदाध्ययन र विद्याध्ययन गरि आफ्नो वर्ण अनुसार शिक्षादीक्षा प्राप्त गर्दथे त्यो तिनीहरुको ‘विद्याजन्म’ नाम गरेको दोश्रो जन्म मानिन्थ्यो र त्यसैलाई ‘ब्रह्मजन्म’ भनिन्थ्यो ।जो जानी बुझी वा मन्दबुध्दि भएका कारण अथवा अयोग्य भएर ‘विद्याध्ययन’ वा अन्य उच्च तीन द्विज वर्णहरु मध्ये कुनै वर्णले शिक्षादीक्षा पाउन सक्तैनथे ती अशिक्षित व्यक्तिहरुलाई ‘एकजाति=एक जन्महुने ’ अर्थात शूद्र भनिन्थ्यो । (मनु० २.१२६,१६९,१७०,१७२; १०.४ आदि) यसका प्रमाणहरु छन् -
(अ) ब्राह्मणः क्षत्रियो वैश्यः, त्रयो वर्णाः द्विजातयः । चतुर्थः एकजातिस्तु, शूद्रः नास्ति तु पंचमः ॥ (मनु० १०.४)
अर्थात, ब्राह्मण,क्षत्रिय,वैश्य, यी तीन वर्णहरु द्विजाति हुन किनभने यिनको अर्को विद्याजन्म हुन्छ चौथो वर्ण एकजाति= माता-पिताको कोखबाट मात्र जन्मिने र विद्याजन्म नपाउने शूद्र हुन ।
(आ) शूद्रेण हि सपस्तावद् यावद् वेदे न जायते । (२.१७२)
अर्थात, जबसम्म कुनै व्यक्तिको ब्रह्मजन्म = वेदाध्ययन रुपको जन्म हुन्न त्यतिखेर सम्म ती शूद्र समाननै हुन्छन ।
(इ) न वेत्ति अभिवादस्य यथा शूद्रस्तथैव सः । (२.१२६)
अर्थात, जसले अभिवादन विधि जान्दैन त्यो शूद्रनै हो । (ई) ‘‘प्रत्यवायेन शूद्रताम्’’ (४.२४५)
अर्थात, ब्राह्मणहरुपनि हीन मान्छेहरुको संगतमा पुगे शूद्रनै हुन पुग्दछन ।
(उ) जन्मना जायते शूद्रः, संस्काराद् द्विज उच्यते | (स्कन्दपुराण)
अर्थात, प्रत्येक व्यक्ति जन्मले शूद्रनै हुन्छन कारण ती त्यतिखेर गुण रहित हुन्छन , उपनयन संस्कार गरी दीक्षित गरिएपछिमात्र द्विज बनिन पुग्दछन ।
३. शूद्र अस्पृश्य थिएनन । मनुको मानवीय सद्भावना थियो । मनुले कसैलाई घृणित ,निन्दित मानेका छैनन ।
४. शूद्रहरुलाई धर्मपालन गर्ने स्वतन्त्रता थियो - ‘‘न धर्मात् प्रतिषेधनम्’’ (१०.१२६)
अर्थात्-‘शूद्रहरुलाई धार्मिक कार्य गर्न निषेध थिएन ।(२.२१३) |वेदमा शूद्रहरुले यज्ञ आदि गर्ने र वेदशास्त्र पढने अधिकार दिएको थियो ।
(अ) यथेमां वाचं कल्याणीमावदानि जनेभ्यः । ब्रह्मराजन्याभ्यां शूद्राय चार्याय च स्वाय चारणाय ॥ २६.२)
अर्थात, मैले वेदवाणीको उपदेश सबैलाई अर्थात ब्राह्मण,क्षत्रिय,शूद्र,वैश्य,स्वाश्रित , स्त्री भृत्य आदि सबैकोलागि दिएको हुँ । (आ) यज्ञियासः पश्‍चजनाः मम होत्रं जुषध्वम् । (ऋग्० १०.५३.४) पश्‍चजनाः = चत्वारो वर्णाः, निषादः पश्‍चमः । (निरुक्त ३.८)
अर्थात्-‘यज्ञ गर्न बस्दा पांच प्रकारका मान्छेहरु बसुन र अग्निहोत्र कृया सम्पन्न गरुन । चार वर्ण र पाँचौ निषादले पनि गरुन ।
मनुस्मृति वेदानुकूल रहेको छ । वेद आधारित भएकोले मनुकोपनि त्यहि विचार थियो । शूद्रको व्रतबन्ध नगर्नु कहिंपनि भनिएको छैन ,व्रतबन्ध नगरिंनेमात्र त्यतिखेर शुद्र भनिन पुग्दथे ।
(ग) मनुस्मृतिमा नारीहरुको वर्णन:

     नेपालमा नारीहरुको कुरागर्दा ,महर्षि मनुको छवि नेपालमा नारी विरोधी बनाइएको छ , जुनकुरो निराधार एवं तथ्य विपरित हो ।उनले नारी जातिलाई सम्मान, सुरक्षा, समानता, सद्भाव र न्यायको भावनाले हेर्न सबैलाई प्रेरित गर्दै भनेका छन् -
१. नारीलाई सर्वोच्चता दिने व्यक्ति नै महर्षि मनु हुन ,उनकै उद्घोषका कारण ले नारी जातिको गरिमा, महिमा र सम्मानले ऊंचाई प्राप्त गरेको थियो -
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैताः तु न पूज्यन्ते सर्वाः तत्राफलाः क्रियाः।। (३.५६)
अर्थ - जुन परिवारमा नारी जातिलाई आदर-सम्मान गरिन्छ त्यहाँ देउता अर्थात दिव्य गुण, कर्म, स्वभाव, सन्तान, दिव्य लाभ आदि प्राप्त भई रहन्छन र जहां ,जुन समाज औ घरमा नारीहरुको आदर, सम्मान गरिन्न , त्यस समाज औ घरमा माथिका सबै क्रियाहरु निष्फल हुन पुग्दछन ।
     यो भन्दा उपयुक्त सम्मानजनक र सुन्दर विशेषण नारी जातिले यो संसारमा आजसम्म पाएका छैनन । उनले नारीहरुलाई घरको भाग्योदय गराउने , आदर सम्मान योग्य, घरको ज्योति, गृहशोभा, गृहलक्ष्मी, गृहसंचालिका एवं गृहस्वामिनी, घरको स्वर्ग, संसारयात्राको आधार भनेर अर्थ्याएका छन (९.११,२६,२८;५.१५०) ।
     उनको भनाई रहेको छ , जसले आफ्नो परिवारको कल्याण चाहान्छ ,उसले नारीजातिको आदर ,सम्मान , सत्कार गर्न सिकोस । अनादर गरी जुन घरमा नारीलाई शोकग्रस्त बनाइन्छ त्यो घर र त्यस घरको कुल सदाकोलागि नष्ट भएर जान्छ । उनी भन्छन स्त्री प्रसन्नतानै कुलको प्रसन्नता हो (३.५५-६२) ।मनुको भावना बुझ्न तलको यो श्‍लोक हेरौं -
प्रजनार्थं महाभागाः पूजार्हाः गृहदीप्तयः। स्त्रियः श्रियश्‍च गेहेषु न विशेषोऽस्ति कश्‍चन ।। १.२६)
अर्थात, सन्तान उत्पत्तिगरि घरको भाग्योदय गराउने , आदर-सम्मान योग्य, गृहज्योति हुन नारीहरु । गृह शोभा , लक्ष्मी र नारी शब्दमा क्यै अन्तर छैन । त्यसकारण उनीहरु घरका प्रत्यक्ष शोभा हुन ।
२. मनुलाई गाली गर्नेहरुले थाहा पाई राखुन , उनले बनाएको विधानमा नै मनुले यो संसारमा सबैभन्दा पहिले उद्घोष गर्दै भनेका छन् - छोरा र छोरी बराबर हुन । छोरा छोरीको समानता घोषित गरेर वैधानिक रुप दिदै उनले भनेका छन ‘‘पुत्रेण दुहिता समा’’ (मनु० ९.१३०) अर्थात, छोरी छोरा समान हुन । ती आत्मारुप हुन , त्यसकारण पैतृकसम्पत्तिका वरावार्का हकदार हुन ।
३. पैतृक सम्पत्तिमा छोरा र छोरीलाई समान बनाउने मनु ९.१३०, १९२ को निरुक्त यस प्रकारको छ ।
अविशेषेण पुत्राणां दायो भवति धर्मतः । मिथुनानां विसर्गादौ मनुः स्वायम्भुवोऽब्रवीत् ।। (३.१.४)
अर्थात , सृष्टिको प्रारम्भमै स्वायम्भुव मनुले यो विधान बनाए कि दायभाग अर्थात पैतृक सम्पत्तिमा छोरा छोरीको समान अधिकार , मातृधनमा मात्र छोरीहरुको अधिकार स्थापना गरेर , उनले परिवारमा छोरीको महत्व बढाएका छन् (९.१३१)।
४. नारीहरुलाई अबला सम्झेर कसैले अर्थात बन्धु-बान्धव आदिले स्त्री धन कब्जा गरे त्यस्तालाई चोर जस्तै दण्ड दिनु भन्ने आदेश महर्षि मनुले दिएका छन (९.२१२;३.५२;८.२;८.२९)।
५. नारी हत्या र अपहरण गर्नेलाई मृत्युदण्ड दिने विधान गरेर बलात्कारीहरुलाई यातना पूर्वक दण्ड दिने ,देश निकाला गर्ने व्यवस्था गर्नुपर्ने व्यवस्था वताएर उनले नारीको सुरक्षा सुनिश्‍चित गराएका छन् (८.३२३;९.२३२;८.३५२) । यसका साथै उनले पुरुष जातिलाई निर्देशन दिंदै भनेका छन - माता, पत्नी र पुत्री संग कहिल्यै झगडा नगर (४.१८०) ।
६. महर्षि मनु ले नारीजाति लाई वैवाहिक स्वतन्त्रता एवं अधिकार दिनु पर्ने आफ्नो आदर्श विचार पोखेका छन (९०९०-९१)। विधूवालाई पूनर्विवाहको अधिकार तथा सन्तानप्राप्ति को लागि नियोग प्रथाको छुटपनि उनले नारीहरुलाई दिएका छन (९.१७६,९.५६-६३) ।
७. नेपालमा नारी जातिले पुरुषको कार्यमा जे सहभागिता पाएका छन सो अरु धर्ममा छैन । यहाँ कुनै पनि धार्मिक सामाजिक या पारिवारिक कार्यको आयोजना पत्नी विना सम्भव र सम्पन्न गरिन्न (९.११,२८,९६) । वैदिक कालमा नारीहरुले वेदाध्ययन, यज्ञोपवीत, यज्ञ आदि सबै अधिकार पाएका थिए । ती उच्च शिक्षा प्राप्त गरी मन्त्रद्रष्टी् ऋषिका बन्दथे ।उनीहरु मन्त्रोच्चारण गरी धार्मिक अनुष्ठान गराउथे (२.४;३.२८) ।
८. नारीहरुलाई प्राथमिकतामा राख्दै मनुले सबैलाई निर्देश गर्दै भनेका छन कि नारीहरुलाई बाटो छोड । नवविवाहिता, कुमारी , रोगी , गर्भिणी, वृध्दा आदि नारीहरुलाई पहिले भोजन गराउ , पति-पत्नी संगै बसेर खाउ (२.१३८;३.११४,११६) । मनुको यो विधान सबै महिलाहरु प्रतिको सम्मान र स्नेहको द्द्योतक रहेको थियो ।
९. तर, मनु नारी जातिको अमर्यादित स्वतन्त्रताको पक्षघर थिएनन । उनी गुणका प्रशंसक र अवगुणका निन्दक थिए । गुणिहरुका सम्मानदाता र अवगुणिका दण्डदाता । उनले गुणवती नारीहरुलाई पर्याप्त सम्मान दिएका छनभने अवगुणवती नारीहरुको निन्दा समेत गरेका छन् र सो अनुरुप दण्डको बन्दोबस्त मिलाएका छन । महर्षि मनु नारी जातिको असुरक्षित तथा अमर्यादित स्वतन्त्रताको पक्षधर थिएनन ।
मनुस्मृतिमा मिसावट :

     यो संसारमा बिरोधीहरु द्वारा सबैभन्दा बढि मिसावट गरिएको ग्रन्थ नै मनु स्मृति हो । मिसावट विहिन मनुस्मृति मा उत्तम नीति र विधानले भरिएका श्‍लोकहरु छन् । मनु विरोधीहरु ले लेखेको पनि उनैको नाउँमा छ ,तर त्यो ग्रन्थ निकै आपत्ति दायक छ । महर्षि मनु धर्मवेत्ता, विधिवेत्ता , ऋषि धर्म र विधिशास्त्रमा निपूण व्यक्ति भएका कारण न्यायपूर्ण, श्रेष्ठ र गुण,कर्म,योग्यता मा आधारित ग्रन्थ मनु को सक्कली ग्रन्थ हो भने अन्याय र पक्षपातपूर्ण लेखिएको पुस्तक ईशाई वा विरोधीहरु ले मनु को नाउँमा १८ औं शताब्दीमा छापेको पुस्तक हो ।
     उनले लेखेको मूल पुस्तक गुण,कर्म र योग्यता को सिध्दान्त मा आधारित भएको गम्भीर शैलीको छ भने , उनको नाउँमा छापिएको प्रक्षिप्त पुस्तकहरु को श्‍लोक, त्यसको प्रसंग र विषय वस्तु विरुध्दको तथा छुट्टै शैलीको छ । यसर्थ महर्षि मनुको भावना विरुद्धका सम्पूर्ण श्‍लोकहरु प्रक्षिप्त हुन भन्नु पर्दछ ।

ख्याल गरौँ :-


१. महर्षि मनुले गरेको व्यवस्था ‘वैदिक वर्णव्यवस्था’ हो ।
२. महर्षि मनुको दण्डव्यवस्था, ‘जनरल कानून’ हो ।
३. उनको मौलिक पुस्तकमा शूद्रको परिभाषा, शूद्र प्रति सद्भाव, शूद्रको धर्मपालन, वर्णपरिवर्तन आदिका मौलिक श्‍लोकहरु छन ।
४. उनका ग्रन्थमा नारीहरुप्रति सम्मान, स्वतन्त्रता, समानता, शिक्षा आदिको श्‍लोकहरु मौलिक छन ।
     ‘आर्ष साहित्य प्रचार ट्रस्ट, ४५५-खारी बावली, दिल्ली’ बाट प्रकाशित मनुस्मृति (सम्पूर्ण) रुपमा मौलिक हो । त्यस ग्रन्थमा प्रक्षिप्त श्‍लोक छुट्टै राखेर देखाईएको छ । जसरी १०००० श्लोक भएको महाभारत थपिएर १००००० श्लोकहरुको हुन पुग्यो ( एक हजार वर्ष पुरानो हस्तलिखित रामायण नेपालको राष्ट्रिय अभिलेखालय मा अहिले पनि सुरक्षित छ ) तर अचेलको रामायण मा सैकडौ श्‍लोक बढी पाइन्छन । यही स्थिति मनुस्मृति ग्रन्थको पनि हो ।मेधातिथि (९औं शताब्दी) को तुलनामा कुल्लूकभट्ट (१२ औं शताब्दी) को पुस्तकमा १७० श्लोक बढी छन ।

सनातन नेपाल जागरण  ®

1 comment:

  1. टपेरेले कनिकनि व्याख्या गरेछन् । तर वाइयात हाे मनुस्मृति समाज भाड्ने किताबहाे।

    ReplyDelete

विचार जगत

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts